fbpx

बुढीगंगाका ऋषिदेवहरूले कल गाडेर पानी खान थाले

विराटनगर,
प्रहरीले कारवाही गर्ने चेतावनी दिएपछि मोरङ बुढीगंगा गाउँपालिका–२ सख्मा टोलका ऋषिदेवहरुले कलको पानी खान थालेका छन् ।

केटाकेटी भागेको निहुँमा केटी पक्षले ऋषिदेव समुदायलाई पानी खान बाधा हालेको समाचार सार्वजनिक भएपछि मोरङ प्रहरीले चासो दिएर कारवाही गर्ने चेतावनी दिएपछि ऋषिदेव परिवारले आफैँले कल गाडेर पानी खान थालेका हुन् ।

प्रेम सम्बन्धमा रहेका मुसहर केटा र थापामगर थरकी केटी भागेको विषयमा केटीका आफन्तहरुले ऋषिदेवहरुले पानी खाँदै गरेको सार्वजनिक कल भत्काई दिएका थिए । त्यसपछि पानी खान ऋषिदेवहरुले आफैँ गाडेको चापाकल पनि भाँचिदिएका थिए ।

बुढींगगाका ऋषिदेवहरूमाथि अत्याचार प्रकरण : पानी खान दिन र कल भत्काउनेलाई कारवाही गर्न एसपीको चासो

कल भाँचेपछि संख्मा टोलमा रहेका पाँच घर परिवारका २० जना मानिशले २० दिनदेखि पानी खान समस्या भोगिरहेका थिए । समाचार सार्वजनिक भएपछि मोरङका एसपी मनोज केसीले ३१ वैशाखमा केटाकेटी भागेको र पानी खान नदिएको विषय अलग अलग हो भन्दै कल भाँच्ने पत्ता लगाएर कारवाही गर्न र कल गाडेर पानी खान कुनै अवरोध नगर्न र गरेमा कानूनी कारवाही गर्ने केटी पक्षलाई चेतावनी दिएका थिए ।

प्रहरीको निर्देशनपछि ऋषिदेवहरुले बिहीबार कल गाडेर पानी खान थालेको स्थानीय अगुवा पूर्वसांसद बाबुलाल पासवानले बताए । मोरङ बुढीगंगा गाउँपालिका २ सख्मा टोलका २२ वर्षे शनि ऋषिदेवले सोही ठाउँकी थापामगर थरकी अन्दाजी १८ वर्षीया युवतीलाई १८ चैतमा भगाएर लगेको केटी पक्षको दाबी छ ।

उनीहरुले आफ्नो चेलीलाई भगाएर भारतमा लगेर बिक्री गरेको हुनसक्ने आरोप लगाएका छन् । सोही निहुँमा केटीका आफन्तहरुले केटाका आफन्तलाई गालीगलौज र आक्रमण गर्दै कल भत्काएर पानी खानसमेत अवरोध पुर्याएका थिए । केटी पक्षको त्रासले घर छाडेर हिँडेका केटाका बाबु–आमा चाँही अझै घर फर्केका छैनन् ।

 

Loading...