fbpx

‘मेस्सीलाई पछार्दै बालोन डी‘ओर रोनाल्डो जित्छन्’

एजेन्सी,
इटालियन क्लब युभेन्टसका पूर्वखेलाडी मेधी बेनाटियाले पोर्चुगिज स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो सन् २०१९ को बालोन डी‘ओर अवार्डको हकदार भएको बताएका छन् । उनले इटालियन खेलकूद पोर्टल ‘क्याल्किमेर्काटो’सँगको कुराकानीमा रोनाल्डोले बार्सिलोनाका कप्तान लियोन मेस्सीलाई पछार्दै उक्त अवार्ड हात पार्ने बताएका छन् ।

रोनाल्डोका पूर्वसहकर्मीसमेत रहेका बेनाटियाले भने, ‘रोनाल्डो ? मेरो विचारमा उनी बालोन डी‘ओर अवार्डका लागि योग्य छन् । यद्यपि, त्यसका लागि हामीले च्याम्पियन्स लिगको उपाधि भिडन्तसम्म पर्खिनुपर्छ ।’

फुटबल जगतकै सर्वाधिक प्रतिष्ठित मानिने अवार्ड ब्यालोन डी‘ओर मेस्सी र रोनाल्डोले समान ५–५ पटक हात पारेका छन् । यसपाली पनि यी दुवै स्टारलाई यस अवार्डको दाबेदार मानिएको छ । खास गरी यी दुई हस्तीबीच गोल संख्या, विभिन्न रेकर्डदेखि उपाधिमा समेत प्रतिस्पर्धी हुन् ।

मेस्सी यो सिजन युरोपका टप–५ लिगका सर्वाधिक गोलकर्ता खेलाडी हुन् । उनले यस सिजन सबैखाले प्रतियोगिता गरेर ४८ गोल गरेका छन् । उनले बार्सिलोनालाई ला लिगाको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निभाएका छन् भने बार्सिलोनालाई कोपा डेल रे फुटबलको फाइनलमा पुर्याएका छन् ।

यता, उनका खास प्रतिद्वन्द्वी रोनाल्डोले भने उनको टोली युभेन्टसलाई दुई वटा उपाधि दिलाइसकेका छन् । यसै सिजन स्पेनको क्लब रियल मड्रिडबाट युभेन्टस आएका ३४ वर्षीय रोनाल्डोले युभेन्टसलाई सुपरकोपा इटालिया र सिरी ‘ए’को उपाधि दिलाइसकेका छन् । उनले जारी सिजन २८ गोल गरेका छन् ।

यद्यपि, दुवैको टोली एक प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगबाट बाहिरिएको छ । मेस्सीको टोली बार्सिलोना लिभरपुलसँग पराजित हुँदै सेमिफाइनलबाटै आउट हुँदा रोनाल्डोको टोली युभेन्टस क्वार्टरफाइनलबाटै घर फर्कियो । युभेन्टसको च्याम्पियन्स लिगको यात्रा डच क्लब आयाक्सले समाप्त गरिदिएको थियो ।

तरपनि रोनाल्डो र मेस्सीलाई यस सिजनको बालोन डी‘ओरको दाबेदार मानिन्छ । यस्तैमा गत जनवरीमा क्लब छाडेर कतारी क्लबमा अनुबन्ध भएका बेनाटियाले यस पटकको उक्त अवार्ड रोनाल्डोले जित्ने दाबी गरेका छन् । उनले भनेका छन्, ‘रोनाल्डोले यस सिजन बालोन डी‘ओर जित्न निकै मेहनत गरेका छन् । र, उनमा बालोन डी‘ओरको हक छ । तर, उनले पर्खेर हेर्नुपर्छ कि, च्याम्पियन्स लिग कसले जित्छ ।’

उनले मेस्सी पनि बालोन डी‘ओरको बलिया दाबेदार रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यस सिजन मेस्सीको पनि शानदार रह्यो । उनी पनि यस उपाधिको दाबेदार हुन् । तर, च्याम्पियन्स लिगबाट बाहिरिएसँगै उनको सम्भावना न्यून भएको छ ।’

यसैगरी उनले मेस्सी र रोनाल्डो दुवैले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने र त्यसै प्रतियोगिताले धेरै कुरा टुंगो लाग्ने बताएका छन् । अब मेस्सीले कोपा अमेरिका खेल्दैछन् भने रोनाल्डोले नेशन्स लिगमा खेल्दैछन् ।

प्रतिक्रिया

Loading...