fbpx

मेस्सीले कोपा अमेरिका खेल्ने निश्चित, अग्युरो र डिबाला पनि अर्जेन्टिनी टोलीमा

एजेन्सी,
अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले दक्षिण अमेरिकाको सबैभन्दा ठूलो मानिने प्रतियोगिता कोपा अमेरिका खेल्ने निश्चित भएको छ । आउँदो जुन महिनाबाट ब्राजिलमा सुरु हुने उक्त प्रतियोगितामा मेस्सीले अर्जेन्टिनाको कप्तानी गर्ने निश्चित भएको हो ।

अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीलाई समावेश गर्दै प्रारम्भिक टोली घोषणा गरेसँगै उनले कोपा अमेरिका खेल्ने पक्का भएको हो । अर्जेन्टिनाले मेस्सीका साथमा अर्जियो अग्युरो, पाउलो डिबाला जस्ता खेलाडीलाई समेट्दै खेल्ने ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । अर्जेन्टिनाले कोपा अमेरिकाका लागि मे ३० मा राष्ट्रिय टोलीको घोषणा गर्नेछ ।

ब्राजिलको विभिन्न पाँच शहरमा आयोजना हुने सो प्रतियोगितामा जापान र कतार गरी दुई आमन्त्रित टिमसहित १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसअनुसार, अर्जेन्टिना कठिन मानिने समूह परेको छ । समूह ‘बी’मा रहेको अर्जेन्टिनाका प्रतिद्वन्द्वी राष्ट्रहरूमा कोलम्बिया, पराग्वे र आमन्त्रित टिम कतार रहेका छन् ।

कोपा अमेरिका जुन १४ देखि जुलाई ७ सम्म हुनेछ । हरेक समूहको शीर्ष दुई र तेस्रो हुने उत्कृष्ट एक टोलीले क्वाटरफाइनलको यात्रा तय गर्नेछन् ।

प्रतिक्रिया

Loading...