fbpx

‘विश्वकै उत्कृष्ट खेलाडी रोनाल्डोसँग काम गर्ने अवसर सबैले पाउँदैनन्’

एजेन्सी,
इटालियन क्लब युभेन्टसका प्रशिक्षक मासिमिलियानो अलेग्रीले आफ्ना स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोसँग काम गर्ने अवसर सबैले नपाउने बताएका छन् । उनले हालसालैको एक अन्तरवार्तामा रोनाल्डोबाट धेरै कुरा सिक्न सकिने बताउँदै यस्तो बताएका हुन् ।

उनले रोनाल्डो जितको भोको रहेको उल्लेख गर्दै भनेका छन्, ‘एउटा त्यस्तो खेलाडी, जसले सबै जितिसकेको छ । ३४ वर्षको त्यस्तो खेलाडीमा अझै जितको भोक हुनु कठिन हुन्छ । तर, उनी जितको भोको छन् ।’

स्पेनिस क्लब रियल मड्रिडबाट यसै सिजन युभेन्टस आएका उनले इटाली आएयता नै क्लबलाई दुई उपाधि दिलाइसकेका छन् । पाँच पटकको बालोन डी’ओरका विजेतासमेत रहेका उनले युभेन्टसलाई सिरी ‘ए’ को र सुपरकोपा इटालियनाको उपाधि जिताइसकेका छन् ।

३४ वर्षीय रोनाल्डोले इटाली आइकन सिरी ‘ए’ मा २१ गोल गरेका छन् । उनै रोनाल्डोको प्रशंसा गर्दै युभेन्टसका हेड कोच अलेग्रीले भनेका छन्, ‘रोनाल्डोको समर्पण अकल्पनीय छ । हामीले रोनाल्डोबाट धैरै कुरा सिक्नुपर्दछ । उनी जस्तो विश्वकै उत्कृष्ट खेलाडीसँग सबैले काम गर्ने अवसर पाउँदैनन् ।’

यसैगरी अलेग्रीले ज्लाटान इब्राहिमोभिच र रोनाल्डोबीच समानता भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘उनीहरू दुवैले जितमा मात्र खेल्न रमाइलो मान्छन् । यो समानता उनीहरूमा छ । उनीहरू धेरै खेल्न भन्दा पनि जित्दा बढी खेलमा आनन्द लिन्छन् ।’

‘अरूलाई यो स्थानसम्म आइपुग्न धेरै गाह्रो हुन्छ, ’ अलेग्रीले थपे, ‘यो सत्य हो कि, जिन्दगी फुटबलमा मात्र सीमित छैन । तर, रोनाल्डो एकदमै राम्रा छन् ।

Loading...