एथ्लेटिको छोड्दै ग्रिजम्यान, कहाँ जालान् ?

एजेन्सी,
स्पेनिस क्लब एथ्लेटिको मड्रिका स्टार खेलाडी एन्टोइन ग्रिजम्यानले क्लब छोड्ने भएका छन् । विश्वकप विजेता टोली फ्रान्सका खेलाडी ग्रिजम्यानले सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेका हुन् ।

सन् २०१४ मा रियल सोसिडाडबाट एथ्लेटिको आएका उनले आउँदो शनिबार हुन लागेको लेभान्टेविरुद्धको खेल नै अन्तिम खेल बनाउँदै क्लब छोड्ने भएका हुन् । एथ्लेटिकोसँग ५ वर्षको सम्झौता थपेका भएपनि उनले क्लबबाट बिदाइको हात हल्लाउने भएका हुन् ।

उनले भिडियो सन्देशमा भनेका छन्, ‘म सबैलाई धन्यवाद दिन्छु । पछिल्ला ५ वर्ष निकै उत्साहजनक रह्यो । विशेषगरी म प्रशंसकलाई धन्यवाद भन्न चाहन्छु, जसले मलाई यति धेरै माया दिए ।’

क्लबलाई युरोपा लिग, स्पेनिस सुपर कप र युइएफए सुपर कप जिताएका उनले २ सय ५६ खेलमा १ सय ३३ गोल गरेका थिए । यस्तै उनले ला लिगामा पनि बार्सिलोना सँगसँगै आफ्नो क्लबलाई डोहोर्याएका थिए ।

खबरका अनुसार ग्रिजम्यानलाई ला लिगाको प्रतिद्वन्द्वी क्लब बार्सिलोनाले भित्र्याउन चाहेको चर्चा बढेको छ । बार्सिलोनाले ग्रिजम्यानलाई १ सय २० मिलियन युरोको तिर्न तयार भएको बताइएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार बार्सिलोनाले यसै सिजन एन्टोइन ग्रिजम्यानलाई क्लबमा अनुबन्ध गर्ने तयारी गरिराखेको छ ।

Loading...