fbpx

बुढींगगाका ऋषिदेवहरूमाथि अत्याचार प्रकरण : पानी खान दिन र कल भत्काउनेलाई कारवाही गर्न एसपीको चासो

विराटनगर,
केटा–केटी भागेको निहुँमा ऋषिदेव समुदायलाई पानी खान नदिनेहरुलाई कानूनी करावाही गर्न मोरङ प्रहरीले चासो दिएको छ । मोरङ बुढीगंगा गाउँपालिका २ सख्मा टोलका २२ वर्षीय शनि ऋषिदेवले सोही ठाउँकी थापामगर थरकी अन्दाजी १८ वर्षीया युवतीलाई भगाएर लगेको आशंकामा केटाका आफन्तहरुलाई कल भत्काएर पानी खान नदिनेहरुलाई कानूनी कारवाही गर्न मोरङ प्रहरीले चासो दिएको हो ।

प्रेमविवाह गरेर भागेपछि केटीका आफन्तले केटाका बाबु आमा र आफन्तलाई धाकधम्की दिँदै पानी खाने कल भत्काइदिएर अमानवीय कार्य गरेको समाचार प्रकाशित भएपछि मोरङका एसपी मनोज केसीले मंगलबार केटा–केटीका आफन्त र मातहतको प्रहरीलाई बोलाएर घटनाबारे जानकारी लिएका छन् ।

उनले मुसहर परिवारलाई पानी खान कुनै अवरोध नगर्न र गरेमा नियन्त्रणमा लिएर कारवाही गर्ने केटीपक्षलाई चेतावनी दिँदै तुरुन्त कल गाडेर पानी खान सुरु गर्न ऋषिदेव परिवारलाई आग्रह गरेका छन् । साथै कल भत्काउनेलाई पहिचान गरेर पक्राउ गरी कानूनी कारवाही चलाउन पनि उनले इलाका प्रहरी कार्यालय निमुवालाई आदेश गरेका छन् । एसपी केसीले भने, ‘केटाकेटी भागेको र कल भत्काएर पानी खान नदिएको घटना अलग–अलग हो यसैले केटी भगाएको निहुँमा ऋषिदेवहरुलाई पानी खान बाधा हाल्न मिल्दैन ।’

दलित समुदायका युवा शनिले एसइई परीक्षा सकिनासाथ १८ चैत २०७५ मा प्रेमगर्दै आएकी सिर्जना थापामगरलाई भगाएर भारत लगेर बिक्री गरेको केटीका आफन्तहरूको दाबी छ । यसैले उनीहरूले भगाएर लगेकी केटीलाई खोजेर तुरुन्त ल्याउन भन्दै ऋषिदेव परिवारलाई दबाब दिँदै आक्रमण पनि गर्दे आएको ऋषिदेवहरुले बताउँदै आएका छन् ।

केटी पक्षको धाकधम्कीले गर्दा केटाका बाबु ठाकुर र आमा सुदावती ऋषिदेब हराएको छोरा खोज्न भन्दै विस्थापित भएका थिए । गाउँमा भएका पाँच घरका २० जना मानिस त्रासमा छन् । केटी पक्षले कल भत्काइदिएकोले २० दिनदेखि उनीहरुले पानी खानसमेत समस्या भोगिरहेका थिए ।

केटा–केटी भागेको विषयमा आफूहरुमाथि पटक–पटक गालीगलौज र आक्रमण भएको र पानी खानसमेत बाधा गरेको भन्दै पीडितहरुले प्रहरी र जनप्रतिनिधिसँग गुहार मागेका थिए । ३० वैशाखमा इप्रका निमुवामा भएका मुसहरहरुलाई पानी खान अवरोध नगर्ने र केटाकेटीलाई १५ दिनभित्र खोजेर ल्याउने छलफल भएको थियो ।

तर, केटापक्षले प्रेमविवाह गरेर भागेका केटा–केटीको पत्तो नभएकोले खोजेर ल्याउन नसक्ने भन्दै कल भत्काएर पानी खान अवरोध गर्नेहरुलाई कानूनी कारवाही हुनुपर्ने माग गरेका थिए ।

सम्बन्धित समाचार

केटी भगाएको निहुँमा दलित परिवारमाथि अत्याचार

Koshi Online

FREE
VIEW