fbpx

‘कोपा डेल रे’को फाइनलअघि बार्सिलोनालाई संकट

एजेन्सी,
स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रेको उपाधि भिडन्त आउन अब १० दिन मात्र बाँकी छ । तर, उपाधिको दाबेदार मानिएको टोली बार्सिलोना भने आफ्ना खेलाडीको चोटका कारण तनावमा छ ।

बार्सिलोनाका फरवार्ड लुइस स्वारेजले कोपा डेल रेको फाइनल खेल गुमाउने पक्का भइसकेको अवस्थामा उसका अर्का खेलाडी फिलिप्पे काउटिन्हो पनि चोटले थलिएका छन् । उनले पनि कोपा डेल रेको फाइनल खेल गुमाउन सक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

काउटिन्होले ला लिगाको पछिल्लो खेलमा बाँया तिघ्रामा चोट बोकेका थिए । गेटाफेविरुद्धको खेलमा उनले चोट बोकेका थिए । खेलको ६८औं मिनेटमा घाइते बन्न पुगेका उनी खेलको ६९औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । उनको सट्टामा अबेल रुइज मैदान प्रवेश गरेका थिए ।

त्यसलगत्तै क्लबले काउटिन्होको चोटको विषयमा निश्चित गरेको थियो । तिघ्रामा चोट बोकेका उनी कम्तिमा १० दिन मैदानबाहिर रहने बताइएको थियो । क्लबले ट्वीट गर्दै काउटिन्हो कम्तिमा १० दिन मैदानबाहिर रहने बताएको छ ।

बार्सिलोनाले आउँदो मे २५ मा कोपा डेल रेको फाइनल खेल खेल्दैछ । उसले उपाधिका लागि भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्दैछ । तर, ऊ खेलाडीको चोटको कारण चिन्तित छ । यसअघि नै बार्सिलोनाले फाइनल खेल स्वारेजबिना नै खेल्ने निश्चित भइसकेको छ ।

बार्सिलोनाको दोस्रो मुख्य खेलाडी स्वारेज दाहिने खुट्टाको घुँडामा चोट लागेको कारण ४ देखि ६ हप्तासम्म मैदान बाहिर रहने पक्का भएको छ । स्वारेज हाल अस्पतालमा उपचाररत छन् । उनको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको पनि बार्सिलोनाले जनाएको छ ।

दाँया घुँडाको मेडियल मिनिस्कसमा चोट बोकेपछि उनको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको हो । स्वारेज कप्तान लियोनल मेस्सीपछिका सर्वाधिक गोलकर्ता हुन् । उनले यस सिजन २९ खेलमा २५ गोल गरेका छन् ।

Loading...