fbpx

स्वास्थ्यको चिन्ताका कारण भइन्छ मानसिक समस्याको शिकार

डा.ललितकुमार मिश्र, होमियोप्याथी कन्सलटेन्ट

के हो अति स्वास्थ्य चिन्ता ?

यस्तो रोगबाट ग्रसित व्यक्तिको मन तथा ध्यान अनेक प्रकारका आधारहिन तथा काल्पनिक मनोविकारबाट घेरिएको हुन्छ । यस्ता व्यक्ति निरन्तर एकै प्रकारले स्वास्थ्यको सम्बन्धमा अत्यन्त सचेत रहने, आशंका गर्ने, चिन्ता अभिव्यक्त गर्नेजस्ता गतिविधी देखाउँछन् । त्यस्ता मानिसको चिन्ता शारीरिक प्रतिक्रियाभन्दा पनि केवल आफ्नो शारीरिक स्वास्थ्य र रोगका लक्षण जान्ने, सम्झने र यथासम्भव उपचार गराउनेमै सीमित रहन्छ । उनीहरुले आफ्नो शारीरिक स्वास्थ्य र अंगका विषयमा अत्यधिक चिन्ता लिने गर्दछन् ।

त्यस्तो समस्यालाई अति स्वास्थ्य चिन्ता ‘मनस्तापी’ अर्थात् रोग भ्रम भनिन्छ । यस्तो समस्या भएका व्यक्तिले कुनै प्रकारको रोग नभए तापनि बिरामी भएको अनुभूति गर्छन् । कतिसम्म भने यस्ता मानिसले आफुमा निको नहुने भयानक रोग भएको कल्पना गर्दै चाँडै मृत्यु हुनेसम्मको आकलन गर्छन् । जसले गर्दा स्वास्थ्यसमेत दिनप्रतिदिन खराब हुँदै जान्छ । यस्तो नकरात्मक सोचका कारण आफैँभित्र दुखित हुने गर्छन् । यस्तो नकारात्मक सोच या कल्पनालाई नै हाइपोकान्ड्रिया अर्थात् अति स्वास्थ्य चिन्ता भनिन्छ ।

लक्षण

यस रोगबाट पीडित मानिसले स्वास्थ्यको विषयलाई लिएर अनेक प्रकारका शारीरिक कष्टको वर्णन गर्छन् । जस्तै कि पेट फुल्नु, कब्जियत, ग्यास्ट्रिकको समस्या, पातलो दिसा, असामन्य रुपमा भोक, कम्मरको दुखाइ, छाती, संमवेदनशील अंगको संवेदना व्यक्त गर्छन् ।

कारण

  • यो रोगमा शारीरिक लक्षण बढी देखिए पनि यसको कारण भने शारीरिक नभई मनोजन्य हुन्छ ।
  • आमा–बाबुमा मनस्ताप, आमा–बाबुले सन्तानको स्वास्थ्यबारे बढी चिन्ता लिँदा, बाल्यकालमै कुनै गम्भीर रोगबाट पीडित हुँदा, गहिरो घात पर्दा पनि यस्तो समस्या आउने गर्छ ।
  • त्यस्तै अप्रिय या दुःखद घटना, आलस्य, विलासिता, कलेजोसम्बन्धी समस्या, चिकित्सासम्बन्धी किताब या सामग्रीको बढी अध्ययनले पनि यस्तो समस्या हुन सक्छ ।
  • कुनै पुरानो रोग या गम्भीर रोग लागिसकेकाहरु पनि बारम्बार रोगबारे अति चिन्ता गर्छन् । जसका कारण मुटुको धड्कन अनियमित बन्न जान्छ र बिस्तारै एउटा अंगबाट अर्को अंगमा रोग सर्ने गर्छ ।
  • यस्तो समस्या भएका व्यक्ति आफूलाई गम्भीर रोग लागेको कसैले भने पूर्ण विश्वास गर्छन् । र, अनेक प्रकारका उपचार गराउन थाल्छन् । आफ्नो रोगको विषयमा चिकित्सकसँग पनि बहस गर्न रुचाउँछन् । र, रोगका लक्षणलाई बढाइचढाइ गर्छन् । तर पनि यस्ता मानिसको प्याथोलोजिकल परीक्षणमा कुनै गम्भीर खराबी देखिँदैन ।

होमियोप्याथिक उपचार

कुनै पनि रोगको उपचार गर्दा रोगीको मानसिक एवं शारीरिक लक्षणबारे मध्यनजर गरी उपचार गर्ने प्रवधान रहेको छ । यस रोगका लक्षणअनुसार प्रयोग हुने औषधि भनेका नक्स वामिया, इग्नेसिया, आरम म्युर, नेट्रम म्युर, प्लाटिना, कोनियम, आर्सेनिक एलब, हायोसायमस, बेलेरियाना, थुजा, बेरेट्रम एलब, मस्कस, लेकेकेनम, आरजेन्टम नाइटिकम, सिमिसिफ्युगा, कल्केरिया कार्ब, सल्फर, कालिफोस, नेट्रमफोस आदि हुन् । तर, यस्तो औषधि चिकित्सकको सल्लाहविनाचाहिँ प्रयोग गर्नुहुँदैन। नयाँ पत्रिकाबाट

Loading...