fbpx

केटी भगाएको निहुँमा दलित परिवारमाथि अत्याचार

प्रेम गरेर राजखुसी भागेकी केटी खोजेर ल्याउन केटाका बाबुआमालाई केटी पक्षबाट निरन्तर दबाब र धाकधम्की

मुसहर भएर कम उमेरकी मगर्नी केटी भगाएको निहुँमा सार्वजनिक ट्यूववेल केटी पक्षले भत्काई दिएपछि चार घर ऋषिदेब परिवार पानी खानबाट बञ्चित ।

केटी पक्षको धाकधम्की र आक्रमणले गर्दा केटाका बाबुआमा घरबाट विस्थापित आफन्तको शरण लिएर बस्दै ।

विराटनगर,
मुसहर केटाले थापामगर थरकी केटी भगाएर लगेको निहुँमा मोरङ बुढीगंगा गाउँपालिकामा ऋषिदेव परिवारमाथि केटी पक्षले धाकधम्की दिँदै अत्याचार गरेका छन् । बुढीगंगा गाउँपालिका सख्मा टोलका २२ वर्षीय शनि ऋषिदेवले सोही ठाउँकी थापामगर थरकी अन्दाजी १८ वर्षीया युवतीलाई भगाएर लगेको आशंकामा केटीका आफन्तले केटाका बाबु आमा र आफन्तलाई धाकधम्की दिँदै पानी खाने ट्यूववेल भत्काइदिएर समुदायमाथि अत्याचार गरेका हुन् ।

केटाका मामा दीपनारायण ऋषिदेवका अनुसार केटी पक्षको धाकधम्कीले गर्दा केटाका बाबु ठाकुर र आमा सुदावती ऋषिदेव हराएको छोरा खोज्न भन्दै विस्थापित भएका छन् । उनीहरु कहाँ गए अझै पत्तो छैन । गाउँमा भएका पाँच घरका २० जना मानिस त्रासमा छन् । २० दिनदेखि पानी खान समेत समस्या भोगिरहेका छन् ।

दलित समुदायका युवा सनिले एसइई परीक्षा सकिनासाथ १८ चैत २०७५ मा प्रेम गर्दै आएकी सिर्जनालाई एक महिनाअघि भगाएर लगेको केटी पक्षको आशंका छ । उनीहरूबीच पहिलेदेखि नै प्रेम रहेको गाउँमा हल्ला छ । तर, हालसम्म उनीहरु कहाँ छन भन्ने पत्तो लागेको छैन ।

तर, केटीका आफन्तहरू प्रल्हाद, समीर, सवीन, धिरेन, किरण र रामबहादुर थापालगायतले केटी खोजेर नल्याएमा गाउँमा बस्न नदिने, बालविवाह, अपहरण र ज्यान मुद्दा लगाउनेलगायत अनेक धम्की दिँदै पानी खाने ट्यूववेल पनि भत्काइदिएका छन् ।

सार्वजनिक रूपमा गाडेको चापाकल केटीका आफन्तले भत्काएपछि त्यहाँ रहेका चार घर ऋषिदेव परिवार पानी खानबाट बञ्चित भएका छन् । कल भत्किएपछि छिमेकीको कलबाट पानी खाँदै आएका उनीहरूलाई छिमेकीको कल पनि बिग्रिएपछि उनीहरू टाढाको ऋषिदेव बस्तीबाट पानी ओसारेर खान बाध्य भएका छन् ।

केटाकेटी भागेको आशंकामा दलितहरूमाथि भएको अत्याचारको घटनाबारे जनप्रतिनिधिहरू पनि जानकार थिए । तर, दबाबले गर्दा उनीहरूले पनि भगाएकी केटी खोजेर ल्याउनु पर्ने भन्दै केटाका आफन्तलाई केटी पक्षले आक्रमण गर्दा खुलेर सहयोग गर्न सकेनन् । केटाकेटी भागेको निहुँमा पटक पटक झगडा हुने गरेको थियो ।

२० दिनअघि दुवै पक्षबीच ठूलो झडप भएको थियो । उक्त्त झडपमा केटा पक्षका ५ र केटी पक्षका ६ जना घाइते भएका थिए । तर, ऋषिदेवहरूलाई उपचारका लागि भन्दै समाजले दोष दिँदै १३ हजार तिरायो । घाइते मुसहरु भने आफैँ निको भए । आक्रमण केटीका आफन्तहरूले नै गरेका थिए । उक्त झडपपछि केटीका आफन्तले सार्वजनिक कल खोलेर टोलमा रहेका ऋषिदेवहरूलाई पानी खानबाट बञ्चित गरे ।

सार्वजनिक कल हटाई दिए । कल खोलेर हटाएपछि ऋषिदेवहरूले आफैँले कल किनेर लगाए । तर, त्यो कल पनि पनि थापा परिवारले भत्काएर पाइप नै पुरिदिए । राजीखुसी भागेका केटाकेटीको विषयलाई लिएर धाकधम्की दिँदै पानी खानसमेत बञ्चित गरेपछि पीडित खकरी ऋषिदेवले प्रहरी र जनप्रतिनिधि गुहारिन् । उनले जिल्ला प्रहरी मोरङ र बुढीगंगा गाउँपालिकामा पानी खाने वातावरण बनाइदिन र शान्ति सुरक्षा गरिदिन भन्दै निवेदन गरिन् ।

मोरङ प्रहरीले घटनास्थल पर्ने इलाका प्रहरी कार्यालय निमुवालाई छलफल गरेर समस्या समाधान गरिदिन निर्देशन गरेको थियो । सोही निर्देशनअनुसार केटा र केटी पक्षबीच केटी खोजी गर्न पहल गर्ने र पानी खान दिनेबारे ३० बैसाख सोमबार छलफल चलाएको इप्रका निमुवाका सई मनोज अधिकारीले बताए ।

छलफलमा सहभागी बुढीगंगा गापा–२ का वडाअध्यक्ष रेवतीनारायण चौधरीले सोमबार भने, ‘केटीको उमेर नपुगेकोले केटा पक्षले केटी खोज्न पहल गर्ने र केटी पक्षले कलको पानी खान दिन दुवै पक्षबीच सहमती बनाउने प्रयास गर्दैछौँ ।’

स्थानीय दलित अगुवा गुरुशरण ऋषिदेवले केटाकेटी प्रेम गरेर राजीखुसी भागेको र कहाँ छन् भन्ने पत्तो समेत नभएकोले जबरजस्ती ‘केटी खोजेर ले नत्र भन्दै धाकधम्की दिनु र कल भत्काएर पानी समेत खान नदिई अमानवीय कार्य गर्नेलाई कानूनी कारवाही गर्नुपर्नेमा दबाबमा सहमति गराउनु न्याय होइन भने ।

समस्यालाई नजिकबाट बुझेका पूर्वसांसद बाबुलाल पासवानले केटी पक्षले एकोहोरो धम्की दिँदै केटी खोजेर ल्याउन भन्दै धम्की दिएको आक्रमणसमेत गरेका केटाका बाबुआमा विस्थापित हुनुपरेको बताए । उनले केटाकेटी खोज्न सबैले सहयोग गर्ने तर फेरि पनि केटाका आफन्त र समुदायमा अत्याचार भएमा आफूहरूले न्यायका लागि संघर्ष थाल्ने चेतावनी दिए ।

केटी सिर्जनाका मामा पर्ने धिरेन्द्र थापाले भान्जीलाई मुसहर केटाले भगाएर भारत लगेर बेचेको आशंका भएकोले खोजेर ल्याउन दबाब दिएको तर पानी खान नदिएको र आफूहरूले आक्रमण गरेको झुठो हो भने ।

प्रहरीमा सोमबार भएको छलफलमा केटी पक्षले एकोहोरो केटी खोजेर ल्याउने जिम्मा ल्याओ भनेर केटा पक्षलाई धम्की दिँदै दबाब दिएका थिए भने केटा पक्षले राजीखुसी भागेका जोडीको जिम्मा लिन नसक्ने बरु आफूहरूमाथि अत्याचार गरेमा कारवाही हुनुपर्ने अडान लिएपछि दुवै पक्षबीच निक्कै चर्काचर्की भएको थियो ।

मोरङका एसपी मनोज केसीले कम उमेरकी केटीलाई भगाएर लाने वा बिहे गर्ने अधिकार कुनै समुदायलाई पनि नभएकोले सबै मिलेर पहिले केटीको खोजी गनुपर्ने भएकोले छलफलबाट समस्या समाधान गराउन इप्रका निमुवालाई निर्देशन गरेको बताए ।

तर, धाकधम्कीले गर्दा केटाका बाबु–आमा विस्थापित हुन बाध्य भएको र केटीका आफन्तले कल भत्काएर पानीसमेत खान नदिएको घटना आफूलाई जानकारीमा नआएको बताए । एसपी केसीले भने, ‘उमेर नपुगी बिहे गर्नु र कल भत्काएर पानी खान नदिई धाकधम्की दिनु दुवै गैरकानूनी हो त्यस्तो हो भने कारवाही हुन्छ म बुझेर निर्देशन दिन्छु ।’

प्रतिक्रिया

Loading...