fbpx

ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

विराटनगर ।

विराटनगर–११ स्थित सहयोगका लागि युवा समाजले ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ज्येष्ठ नागरिक वडा समितिको कार्यालयमा आयोजित कार्यक्रममा स्थानीय चार दर्जनभन्दा बढी ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो ।

मे मेजरमेन्ट मन्थको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा प्रेसर र सुगरको परीक्षण गरिएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष ललित श्रेष्ठलाई समाजकी सदस्य सर्मिष्टा खनालले स्वास्थ्य चेकजाँच गर्ने विभिन्न मेसिनसमेत प्रदान गरेकी थिइन् ।

समारोहमा वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, मे मेजरमेन्ट मन्थ प्रदेश नम्बर १ का संयोजक डा. सूर्य पराजुली, ज्येष्ठ नागरिक महेश्वर बस्नेत, आयोजक समितिका सुनिल आचार्य, रामखेलन मेहतालगायतलले समय–समयमा प्रेसर र सुगर परीक्षण गरे विभिन्न रोगबाट बच्न सकिने बताए ।

अबदेखि हरेक महिनाको अन्तिम शनिबार ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिने समाजको स्थापनाकालदेखि नै सक्रिय केशु काफ्लेले जानकारी दिइन् । ९ महिनाअघि स्थापित समाजले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

सुरुका दिनमा सुनसरीको सीतागञ्जस्थित रामसीता विद्यालयबाट २०५४ सालमा एसएलसी दिएका विद्यार्थी मात्रै आबद्ध भए पनि पछिल्लो समय समाजका सबै क्षेत्रका युवालाई समाजभित्र अटाउने काम भइरहेको काफ्लेले जानकारी दिइन् ।

 

प्रतिक्रिया

Loading...