fbpx

पत्रकार महासंघले आन्दोलन गर्ने

काठमाडौं ।

मिडिया काउन्सिलका विषयमा संसदमा दर्ता भएको विधेयकको प्रावधान सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलन गर्ने भएको छ । छाता संगठन लगायतका सरोकारवालाहरुसंग छलफल र सहमति विना नै विधेयक ल्याउन खोजेको महासंघको आरोप छ ।

केन्द्रिय कमिटिको आकस्मिक बैठकले विधेयकका प्रावधानले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने र मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगका रुपमा स्थापित गरेको भन्दै महासंघले संसद अगाडि विरोध प्रदर्शनसम्मको संघर्षको कार्यक्रम घोषणा गरेको हो ।

मन्त्रिपरिषदबाट पारित भइ संसदमा दर्ता भएको विधेयकमा मिडिया काउन्सिललाई अर्धन्यायिक निकाय बनाउने र पत्रकारलाई कडा कारबाहीको व्यवस्था प्रस्ताव गरिएको छ ।

शुक्रबार अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बसेको महासंघको आकस्मिक बैठकले विधेयक फिर्ता लिई सरोकारवाला पक्षसँगको छलफल र सहमतिमा संविधानको भावना र प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय मूल्यमान्यताका आधारमा विधेयक पुन मस्यौदा गर्नु पर्ने माग गरिएको छ ।

सञ्चारसंवद्ध विभिन्न संघ, संगठन र संस्थाका प्रतिनिधिको बैठकका सुझावका आधारमा कार्यसमितिको बैठकबाट महासंघले एक हप्ते विरोध कार्यक्रम घोषणा गरेको हो ।

विरोधका कार्यक्रमहरुमा वैशाख २९ गते महासंघका पूर्वपदाधिकारी, सञ्चार माध्यमका सम्पादक, कानूनविद र विज्ञसँग छलफल गर्ने, ३० गते सभामुख, राष्ट्रियसभाका अधयक्षलाई ज्ञापनपत्र बुझाउने र वैशाख ३१ गते संसदीय समितिका सभापति र सदस्यसँग छलफल गर्ने कार्यक्रम घोषणा गरेको छ ।

त्यस्तै जेठ १ गते कालोपट्टी बाँधेर काम गर्ने, महासंघको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र शाखा कार्उालयमा सरोकारवाला पक्षसँग छलफल गर्ने र जेठ ३ गते काठमाडौंमा संसदबाहिर र जिल्ला सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने कार्यक्रम तय भएको महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

महासंघले संसदमा विचाराधीन विज्ञापनसम्बन्धी ऐन र सूचना प्रविधिसम्बन्धी ऐनमा प्रेसविरोधी दफा सच्याउन माग गरेको छ । त्यस्तै मस्यौदाकै क्रममा रहेको आमसञ्चार ऐन र सार्वजनिक सेवा प्रशारण ऐनका सम्बन्धमा सरोकारवालासँग छलफल गरि सच्याउनु पर्ने माग रहेको छ ।

प्रतिक्रिया

Loading...