fbpx

देश हल्लाउने एक नम्बर प्रदेशका उद्याेगी व्यापारी

एक नम्बर देशको पटक–पटक नेतृत्त्व गर्ने प्रदेश । विश्वेश्वरप्रसाद, गिरिजाप्रसाद, मातृकाप्रसाद र नागेन्द्रप्रसाद रिजाल, मनमोहन अधिकारीलगायत देशलाई पटक–पटक प्रधानमन्त्री दिएको प्रदेश । भरतमोहन अधिकारी, विजय गच्छदारदेखि सूजाता कोइरालालगायत उपप्रधानमन्त्रीहरू मात्र नभएर दर्जनौँ मन्त्रीहरू जन्माएको एक नम्बर प्रदेश ।

धेरै विद्वान ‘थिङ्क–ट्याँङक’ र कुशल प्रशासकहरू उत्पादन गर्न सफल एक नम्बर प्रदेश उद्योग व्यापारको क्षेत्रमा पनि उत्तिकै चर्चित छ । देशमै पहिलोपटक समुन्द्रपार व्यापार सुरु भएको नेपालकै पहिलो उद्योग स्थापना भएको यो प्रदेशमा जन्मिएका र कर्मथलो बनाएका अनेकौँ उद्योगी–व्यापारीहरू देशमा चर्चित मात्र भएका छैनन् कतिले त देश नै हल्लाउन सफल भएका छन् ।

……

कुसकुमार जेशी प्रदेश १ नं. का उद्योगी हुन् । २०६५ मा उद्योग बाणिज्य महासंघको अध्यक्ष भइसकेका उनी सङखुवासभाको चैनपुरमा जन्मेका हुन् । सानैदेखि धरानमा बसेका उनले पञ्चायत स्कूल धरान–१५ मा प्राथमिक र चैनपुरको सरस्वती माविबाट माध्यमिक शिक्षा हासिल गरेका जोशीले बेलायबाट इलेक्ट्रोनिक विषयमा इन्जिनियरिङ गरेका छन् ।

कुसकुमार जेशी

निक कम्पनिका प्रबन्ध निर्देशक रहेका जोशी लगानी बोर्डमा रहेरसमेत काम गरिसकेका छन् । भेरी इर्नजी कम्पनी, हिमालयन व्यम्वो प्रालि, लिर्बटी इन्जीनियरिङ प्रालि, इनर्जी इन्जीयियरिङ प्रालिका अध्यक्षसमेत रहेका जोशी आर्थिक र इन्जीनियरिङ विज्ञ मानिन्छन् ।

झापाको भद्रपुर घर भएका चण्डिराज ढकाल पनि पूर्वबाट देश हल्लाउने उद्योगी व्यपारी हुन् । भद्रपुरमा मुभमेन्टो एपेरल्स गार्भेन्ट उद्योगीबाट उद्योगीका नेतामा उदाएका उनि उद्योग वाणिज्य महासंघको केन्द्रीय अध्यक्ष बन्न सफल भए । उनी प्रभावकारी क्षमता भएका उद्योगी नेता मानिन्छन् । अहिले पनि उनले उद्योग वाणिज्य महासंघमा दह्रो पकड बनाएर राख्दै आएका छन् । उनले नेतृत्त्व गरेको उद्योग वाणिज्य संघको कार्याकाललाई पनि विशेष मानिन्छ । उद्योगबिहीन भएपनि अझै चण्डिराज वाणिज्य संघमा शक्तिशाली छन् ।

खोटाङको रावावेसी गाउँपालिका ५ मा जन्मिएका मीनबहादुर गुरुङ सुपर मार्केट संचालकका रोल मोडल नै बन्न सफल भएका छन् । काठमाण्डौमा बन्द व्यापार गर्दागर्दै आज देशभर भाटभटेनी सुपर मार्केटको शाखा बिस्तार गर्न उनी सफल छन् ।

उदयपुर जिल्लाको कटारी नगरपालिका निवासी ईन्छाराज तामाङंग पनि देशमा चर्चित व्यापारी कहलिन्छन् । ईन्जिनियर पेशाबाट सिभिल मल र सिबिल बैँक स्थापना गर्न सफल उनी पूर्वसांसद पनि भएका थिए ।

हाल एक नम्बर प्रदेशको योजना आयोगका अध्यक्ष एवं मानवअधिकारवादी संस्था ईन्सेकका पूर्वअध्यक्ष सुवोधराज प्याकुरेल पनि देश हल्लाउने उद्योगी हुन् । कुनै बेला एमालेको राष्ट्रिय अध्यक्ष पदका लागि उम्मेदवादवारी दिएका उनले विराटनगर जतुवामा महावीर तोदीलगायतको साझेरीमा एमएम प्लाष्टिक उद्योग खोलेर उद्यम सुरु गरेका थिए । हाल प्याकुरेल समूहको निजी भैसकेको उक्त उद्योगलाई प्याकेजिङ उद्योगका रुपमा परिणत गरेर उनका भतिजा सुबोध प्याकुरेललगायतले सम्हालिरहेका छन् ।

देश हल्लाउने अर्का उद्योगी जुद्धबहादुर श्रेष्ठ पनि हुन् । विसं १९९५ मा विराटनगर गोस्वारामा कृषि फाँटको टान्सलेटरका रुपमा जागिर खान आएका उनले विराटनगरमा जुद्ध म्याच फयाक्ट्रि, नेपाल प्लाईउड एण्ड बबिन कम्पनी, मोरङ सुगर मिललगायत स्थापना गरेका थिए । उनकै नेतृत्त्वमा विराटनगरमा नेपालमा पहिलो पटक २०२४ सालमा उद्योगीहरूको सगठन स्थापना भएको थियो । २०२० सालमा श्रेष्ठ नेपाल टयारिफ वोर्डको सदस्य पनि चयन भएका थिए । उनले स्थापना गरेको उक्त संगठन हाल उद्योग संगठन मोरङका नामले उद्योगीहरूको हकहितका लागि सक्रिय छ ।

मोती दुगड

विराटनगरका उद्योगी मोती दुगड सदभावना पार्टीबाट सांसद बनेका थिए । पछि दोस्रो संविधान सभामा उनले आफनै नेतृत्त्वमा नव निर्माण पार्टी स्थापना गरेर चुनावी प्रतिस्पर्धा पनि गरे । तर, उनको पार्टीले एक सिट पनि पाउन सकेन । जमानत जफत भयो ।

त्यसपछि उनले पार्टीलाई एमालेमा विलय गराएर सल्लाहकार बने । र, गत संघीय संसदको निर्वाचनमा समानुपातिक कोटाबाट संघीय सांसद बन्न सफल भए । माननीय मोती दुगड हाल विराटनगरमा तीन तारे हयारिसन होटल सञ्चालन गरिरहेका छन । उनले सुबिधासम्पन्न विराटनगरकै सबैभन्दा ठूलो मल पनि निर्माण गरिरहेका छन् । उनले दुगड स्पाईसेस एण्ड फुडलगायत विभिन्न उद्योगहरू पनि सञ्चालन गर्दैछन् ।

राजलक्ष्मी गोल्छा

यसैगरि गोल्छा घरानाकी राजलक्ष्मी गोल्छाले पनि देश हल्लाउन सफल भइन् । स्वर्गीय महेन्द्र गोल्छाकी पत्नी राजलक्ष्मी दोस्रो संविधान सभाको निर्वाचनमा एमालेबाट समानुपातिक कोटामा सांसद बनेकी थिइन् । उनले एमाले नेताहरूलाई चन्दा दिएको अभिव्यक्ति सार्वजनिक गरेर निक्कै चर्चा कमाइन् । हाल उनी निष्क्रिय छिन् । उनकी छोरी युक्ति गोल्छाले उनको भागमा परेको हुलास वायर्स सम्हाल्दै आएकी छन् ।

महेश जाजू

मोरङ व्यापार संघका पूर्वअध्यक्ष तथा उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य महेश जाजू पनि चर्चित उद्योगी व्यपारी हुन् । उनी पहिलो र दोस्रो संविधान सभाको समयमा कांग्रेसबाट समानुपाति सूचीबाट सांसद बन्न पाउने चर्चामा निक्कै रहे । तर, उनी सांसद बन्न सकेनन् । संविधान निर्माणपछि उनले राष्ट्रिय सभाको सदस्यका लागि चुनावी प्रतिस्पर्धा गरेका थिए । जाजु चाउचाउ, बिस्कुट उद्योगका लागि प्रसिद्ध छन् ।

 

पवन सारडा

केवल, खाद्यान्न, स्टिललगायतका उद्योग सञ्चालन गर्ने सारडा परिवारका पवन सारडा पनि चर्चित उद्योगी हुन् । मोरङ व्यापार संघमा दुई पटक अध्यक्ष बन्न सफल भएका उनी फोरम लोकतान्त्रिकबाट दोस्रो संविधानसभामा सांसद बन्न सफल भए । हाल उनी नेपाली कांग्रेस महासमिति सदस्य र मोरङ व्यापार संघका अध्यक्ष छन् ।

यसैगरि गोल्छा परिवारका स्वर्गीय रामलाल गोल्छा देशकै पहिलो समुन्द्रपार व्यापार गर्ने व्यापारी र नेपालमा पहिलो उद्योग स्थापना गराउन भूमिका खेल्ने उद्योगीका रुपमा देशैभरि चिनिन्छन् । उनी लगायतको पहलमा सरकारको ५१ र राधाकृष्ण चिमडियाको ४९ प्रतिशत शेयर रहनेगरि विराटनगरमा विस १९९३ मा विराटनगर जुटमिल स्थापना भएको थियो ।

स्वर्गीय गोल्छाले स्टिल, कपडालगायतका उद्योगहरू संचालन मात्र गरेनन् आफ्नो घरानालाई नेपालकै पहिलो र चर्चित प्रतिष्ठित औद्योगिक घरानाका रुपमा चिनाउन सफल भए । नेपाल सरकारले उनलाई कर्मवीर योद्धाको उपमा दिँदै राष्टिय सम्मान दिइसकेको छ ।

महेन्द्र गोल्छा

स्वर्गीय रामलाल गोल्छाका छोरा नातिहरू सफल उद्योगी व्यापारीहरुका रुपमा चिनिन्छन् । नाति दीवाकर गोल्छा र हुलासचन्द्र गोल्छा नेपालकै सफल उद्योगीका रुपमा गनिन्छन् । यस्तै स्वर्गीय महेन्द्र गोल्छा पनि देशैभरि सफल उद्योगीको छाप छाडन सफल भएका थिए ।

महेन्द्र गोल्छा हुन्जेल गोल्छा घराना एक ढिक्का थियो तर उनको निधनपछि गोल्छा घराना अंशबण्डामा पुग्यो । यसैले अल्पायूमा ब्रेन क्यान्सरले निधन भएका महेन्द्र गोल्छालाई उद्योग र उद्योगीको हकहितमा प्रतिवद्ध रहेको भन्दै उद्योग संगठन मोरङले पनि उच्च सम्मान दिएर उनको सालिक नै स्थापना गरिदिएको छ ।

सुरेन्द्र गोल्छा

अर्का नाति सुरेन्द्र गोल्छा खाद्यान्न र मोटर उद्योगले चर्चित बने । सुरेन्द्र नेपालमा पहिलोपटक मोटर उद्योग संचालन गर्ने उद्योगीका रूपमा पनि चर्चित छन् । उनले पावर टेलरबाट क्रमशः शेर्पा र मुस्ताङ जीप निर्माण गरेर बिक्री वितरण गरेका थिए । पूर्वप्रधानमन्त्रि डा बाबुराम भट्टराईले उनकै कम्पनीमा निर्माण भएको मुस्ताङ म्याक्स जीप चढेपछि सुरेन्द्र गोल्छा र उनको हुलास मोर्टस कम्पनी देश विदेशमा चर्चित बनेको थियो ।

राजकुमार गोल्छा

तर, हाल उनको मोटर उद्योग बन्द छ । यस्तै रामलाल गोल्छाका नाति राजकुमार गोल्छा पनि जुट उद्योगीका रूपमा देशभर चर्चित छन् । गोल्छा घरानाको मूल व्यापार र उद्योग जुटलाई धानेर राख्ने काम राजकुमारले गरिरहेका छन् । हाल उनले विराटनगरस्थित रघुपति जुटमिल र सुनसरीको सोनापुरमा रहेको अरिहन्त जुटमिल हेर्ने गर्छन् ।

नेपाल जुट उद्योगी व्यवसायी संघका केन्द्रीय अध्यक्ष रहेका राजकुमार आजकल कमर्सियल कृषिले पनि चर्चित छन् । उनले अरिहन्त कृषि कम्पनी खोलेर सयौँ बिगाहा जमिन खरिद गरेर अनि लिजमा लिएर व्यवसायिक कृषि खेती सुरु गरेका छन् ।

ज्ञानचन्द दुगड

विराटनगरका ज्ञानचन्द दुगड पनि देशमा चिनिएका उद्योगी व्यापारी हुन् । गोल्छा घरानाका भान्जाका नाताका उनी लामो समय रेडक्रसमा बसेर सेवामा पनि सर्मथित रहे । यसैगरि झापाको भद्रपुरबाट आएका विराटनगरका उद्योगी दिनबन्धु गोयल पनि समाज सेवाकै कारण चर्चित छन् । मारुती सिमेन्ट, बुटबल सिमेन्ट र गार्मेन्टलगायतका उद्योग संचालन गरिहका गोयलले छोराबुहारी र श्रीमतीका नाममा फाउन्डेसन खोलेर उनले निरन्त विद्यालयलाई छात्रबृत्ति दिने, आश्रम तथा अस्पतालाई सहयोग गर्ने लगायतका नाम निरन्तर गर्दै आएका छन् ।

अशोक मुरार

विराटनगरका चर्चित उद्योगी व्यापारीहरूमा अशोक मुरारका पनि पर्दछन् । उद्योग संगठन मोरङको पूर्वअध्ययक्ष उनी चिया खेतीमा लगानी गरेका कारण चर्चित बने । सँगै उनी आफ्नो साझेदारसँग जोडिएर राजश्व छलीको विवादमा पनि चर्चित बने । उनको घरानाले कुनै बेला नेपालको राष्ट्रिय देनिक नेपाल समाचारपत्रमा पनि लगानी गरेको थियो । मुरारका घरानाका सदस्यहरू प्रदीप मुरारका र पशुपति मुरारका पनि चर्चामा छन् ।

विराटनगरका शंकरलाल, मंगतुराम र सुबोध अग्रवालहरू पनि देश हल्लाउने उद्योगी हुन् । शंकरलालले पशुपति सोप र सुबोधले अन्नपूर्ण सोप उद्योग खोलेर गुणस्तरीय साबनुहरू देशैभर पुर्याए । तर, उनीहरू सबै बैँक घोटाला काण्डमा मुछिएर जेल परे अनि टाट पल्टिए । जसले गर्दा उनीहरू अझै चर्चित बने ।

जीवन नेपाल

ट्रेडिङ व्यापारमा चकाचक चम्किएका विराटनगरका प्रदीप चैनवाला पनि पहिले चम्किएर पछि टाट पल्टिएकै कारण चर्चित बने । अहिले उनी भारतको दिल्लीतिर नोकरी गरेर गुजारा गरिरहेका छन् । यसैगरि विराटगरका उद्योगी व्यापारी जीवन नेपाल पनि टाट पल्टिएकै कारण चर्चित बने । मोरङ व्यापार संघका पूर्वअध्यक्ष नेपाल रवाफिला उद्योगीका रुपमा चर्चित थिए ।

विराटनगरका चर्चित उद्योगी व्यापारीहरूमा शर्मा घरानाका सुरेश शर्मा पनि पर्दछन् । मोरङ व्यापार संघको पूर्वअध्यक्ष उनी होजियारी, राइस मिल संचालन गरेर सफल उद्योगीमा चर्चित बने । यसैगरि विराटनगरका उद्योगी व्यापारी ताराचन्द खेतान पनि चर्चित उद्योगी मानिन्छन् । साबुन, व्याट्री लगायतका उद्योग संचालन गरेका खेतान अग्रज सल्लाहकारका रुपमा पनि चर्चित छन् ।

यसैगरी बिशाल ग्रुपका सदस्य तुलसीराम अग्रवाल र जगदिश अग्रवाल पनि चर्चित उद्योगी हुन् । ट्रेडिङ व्यापार र स्टिल उद्योगमा लगानी गरेको यो समूहका सदस्य तुलसीराम अग्रवाल भारतीय अपराधी पप्पुदेवको समूहले अपहरण गरेपछि राष्ट्रिय चर्चामा रहेका थिए । एक प्रदेशका चर्चित उद्योगीमा विराटनगरका किशनलाल र तोलाराम दुगड पनि हुन् ।

केएल दुगड समूहबाट चिनिने उनीहरूले तेल, व्याट्री, पेय पदार्थ, खाद्यन्न उद्योगसँँगै अस्पतालमा पनि लागानी गरेका छन् । एमसि ग्रुपका रुपमा चिनिएका मदनलाल अग्रवाल पनि यकताका चर्चित उद्योगी हुन् । मदनलालले विराटनगरमा आलिसान भवनसहितको अतिथि सदन स्थापना गरिदिएका थिए । उनको विराटनगरबाहेक वीरगन्ज, काठमाण्डौलगायतका स्थानमा स्टिललगायतका विभिन्न उद्योग संचालन भएका थिए ।

विराटनगरका गंगाबिसन राठी पनि चर्चित उद्योगी व्यापारी थिए । खाद्यान्न उद्योग चलाउने उनी धार्मिक समाजसेवीका रूपमा चर्चित थिए । तर, अपहरण गरेर भारतको सिलिगुडी लगेर सुकुनाको जंगलमा उनको हत्या गरेपछि उनी देशभर चर्चित बनेका थिए । हाल उनका छोरा हरिवंश राठीले खाद्यान्नसँगै सिमेन्ट उद्योग संचालन गर्दै आएका छन् ।

बासुदेव गोल्यान

गोल्यान ग्रुपका रुपमा चर्चित विराटनगरका बासुदेव गोल्यान र उनका भाई पवन गोल्यान पनि देशका चर्चित उद्योगी हुन् । कपडा, गार्मेन्ट उद्योगसँगै उनीहरूले सुनसरीको खनारमा देशकै ठूलो रिलायन्स धागो कारखाना संचालन गरिरहेका छन् । बासु गोल्यान नेपाल उद्योग परिसंघका केन्द्रीय समितिमा पनि पुगेका थिए भने रोटरी क्लबका नेपाल संयोजक पनि बनेका थिए ।

विराटनगरका पारस लुनिया पनि चर्चित उद्योगी व्यापारी हुन् । लुनियाँ समूहका सदस्य रहेका पारस नेपाली राष्ट्रिय क्रिकेटका चर्चित पूर्वखेलाडी पनि हुन् । उनको समूहले चाउचाउ, एग्रिकल्चर लगायतको उद्योग संचालन गर्छ ।

विराटनगरका स्वर्गीय जगदीश राठी पनि चर्चित उद्योगी हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय राजस्व समितिको संयोजकसमेत बनेका थिए । पहिलो संविधानसभाको समयमा उनी एमालेबाट समानुपातिका सूचीमा चर्चामा आएपनि सांसद भने भएनन् । चर्चापछि शोकले गर्दा उनको ह्रदयघातबाट मृत्यू भएको थियो ।

बोहोरा ग्रुपका सदस्य अभिनाश वोहोरा पनि चर्चित उद्योगी व्यापारी हुन् । खाद्यान्न, तेल उद्योग र विभिन्न ट्रेडिङ व्यापारमा सक्रिय अभिनाश मोरङ व्यापार संघका पूर्वअध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान कार्यसमितिका केन्द्रीय सदस्य हुन् । अध्ययनशिल स्वभावका उनी नेपालको उद्योग व्यापार क्षेत्रका एक ‘थिङ्क ट्याङ्कका रूपमा पनि चर्चित छन् ।

अभिनाश वोहोरा

यस्तै खेलाडीबाट गार्मेन्ट उद्योग हुँदै हेमी ईक्युमेन्ट अनि सिमेन्ट, चप्पल उद्योग संचालन गर्न सफल भएका राजेन्द्र राउत पनि चर्चित उद्योगी हुन् । मोरङ व्यापार संघमा वरिष्ठ उपाध्यक्ष रहिसकेका उनी विद्रोह गरेर उद्योग वाणिज्य महासंघ एक प्रदेश समितिको वरिष्ठ उपाध्यक्ष बन्न सफल भएपछि उनी झन् चर्चित छन् । काम फत्ते गर्न हक्की स्वभावको उनी धार्मिक, खेलकूद र अन्य समाजसेवामा पनि चर्चित छन् । हाल विराटनगरमा उद्योग वाणिज्य संघको प्रदेश कार्यालय स्थापना गरेर गतिविधि अगाडि बढाउन उनी सक्रिय छन् । उनी भनसुन र पहुँचमा प्रभावशाली उद्योगी मानिन्छन् ।

यस्तै विराटनगरका रिजाल समूहका सन्तोष रिजाल, नवीन रिजाल पनि चर्चित उद्योगी हुन् । रोटरियन रहेका सन्तोष नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष पनि हुन् । उनी चन्द्रशिव राईस मिल संचालन गर्छन् । घैला छापा तेल र चामल उत्पादन गर्ने यो उद्योग विराटनगरमा ठूलो मिलका रूपमा चर्चित छ ।

यूवा उद्योगी नवीन रिजाल हाल मोरङ व्यापार संघका महासचिव छन् । उनको ग्याँस, पानी ट्यांङकी, पाइप र प्लाष्टिक उद्योगहरू संचालन छन् । ‘रिजालको’ ब्राण्ड उनले देशैभर पुर्याएका छन् । यस्तै विराटनगरका शुशील अग्रवाल पनि चर्चित उद्योगी व्यापारी हुन् ।

नन्दकिशोर राठी

विराटनगरमा मोरङ अटोवक्र्स स्थापना गरेर सक्रिय रहेका उनी भारतको दिल्लीमा पनि हेल्मेट उद्योग संचालन गर्छन् । दिनबन्धु गोयल र नन्दकिशोर राठी पनि चर्चित मारुती सिमेन्टले चर्चामा छन् । मोरङ रंगेलीका दिलिप बगडिया पनि चर्चित उद्योगी हुन् । एक दर्जन ईटा उद्योगका धनी उनले चप्पल लगायतका उद्योगमा पनि लगानी गरेका छन् ।

पहिले कांग्रेसमा आस्था राख्ने उनी संविधानसभामा सांसदको टिकट नपाएपछि विद्रोह गरेर माओवादीमा प्रवेश गरेका थिए । स्थानीय तहको निर्वाचनमा उनले माओवादी केन्द्रबाट रंगेली नगरपालिको प्रमुख निर्वाचित भएर थप चर्चा पाए ।

किशोर प्रधान

उद्योग संगठन मोरङका पूर्वअध्यक्ष तथा हाल नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष विराटनगर निवासी किशोर प्रधान पनि चर्चित उद्योगी हुन् । उद्योगी व्ययवसायीहरू मात्र नभएर समग्र अर्थतन्त्रको बारेमा जानकारी राख्ने प्रधान सफल अर्थतन्त्रका लागि वकालत पनि गरिरहन्छन् ।f देशको विकासका लागि कृषिमा लगानी बढाउनुपर्छ र कोशी राजमार्गअन्र्तगतको विराटनगर किमाथांका सडक निर्माण गर्नुपर्छ भन्ने मुख्य मुद्दा उठाउने प्रधान नै हुन् । कुनैबेला औषधि उद्योग संचालन गर्ने प्रधान एकताका बैँकको कालो सूचीमा परेर पनि चर्चामा आएका थिए । विश्व बैँकसँगको साझेदारीमा कृषि परियोजना भित्र्याउन पहल गर्ने र देशभर डुलेर उद्योगी व्यापारीहरूको पक्षमा हक्की रूपले बोलेर हिँडने व्यक्तिका रूपमा पनि उनी चर्चित छन् ।

विराटनगर उद्योगी भीम घिमिरे पनि चर्चित उद्योगी हुन् । सुनसरीको बराहक्षेत्रमा गरिब परिवारमा जन्मेका उनी सामान्य मजदूर परिवारबाट आफ्नो मेहनतले उद्योगी बन्न सफल भएका हुन् । लायन्स क्लब एवानको नेपाल अध्यक्ष बन्न सफल भएका घिमिरे हाल उद्योग संगठन मोरङको अध्यक्ष छन् । नेकपाका शीर्ष र पहुँचवाला नेताहरूसँग राम्रो सम्बन्ध भएकोले उनी राजनैतिक रूपमा पनि पहुँचवाला उद्योगी र नेताका रूपमा गनिन्छन् । उनले ईन्धन र अटोमोवाईल्स व्यवसायसँगै इटा उद्योग संचालन गर्दै आएका छन् ।

विराटनगरका नवलकिशोर कावरा श्याम कावरा पनि चर्चित उद्योगी हुन् । सप्तरीको हनुमाननगरबाट विराटनगर आएर उद्योग व्यपारमा सक्रिय भएका उनीहरूले क्वालिटी बिस्कुट, नुडल्स र साबनु उद्योग संचालन गरिहेका छन् । सानो व्यापारबाट फस्टाएका उनीहरू हाल औद्योगिक घरानाका रुपमा बिस्तार भैसकेका छन् ।

उद्योग संगठन मोरङका पूर्वअध्यक्ष उद्योगी मुकेश उपाध्य पनि चर्चित उद्योगी हुन् । सामान्य परिवारबाट ठेक्कापट्टा गर्दै सफल निर्माण व्यवसायी त्यसपछि उद्योगी बनेर नेतासमेत बन्न सफल भएका उपाध्याय नेकपा निकट उद्योगी हुन् । नेकपाका नेताहरूसँग नाता सम्बन्ध भएकै कारणले पनि उनी पहुँचवाला ठानिन्छन् ।

यसैगरी विराटनगरका स्वर्गीय भुपालमान सिंह कार्की पनि चर्चित व्यापारीका रुपमा चिनिएका छन् । तत्कालीन उच्च प्रशासनिक रहेका उनी उद्योग संगठन मोरङमा पनि आवद्ध भएका थिए । उनको परिवारका सदस्य डा. ज्ञानेन्द्रमान सिंह कार्की पनि विराटनगर चर्चित स्वास्थ्य उद्यमी हुन् । डा ज्ञानेन्द्रले विराटनगरमा पहिलो पटक निजी क्षेत्रबाट प्रसुती गराउने विराट नर्सिङ होम सुरु गरेका थिए । हाल उक्त नर्सिङ होम विराट मेडिकल कलेजका रूपमा बिस्तारित भैरहेको छ । डा. कार्की विराटनगरमा पहिलो पटक टेस्टटयुव बेबीको सेवा भित्र्याउने चिकित्सा क्षेत्रका उद्यमी पनि हुन् ।

यसैगरी विराटनगरका सुनील शर्मा पनि देशका चर्चित स्वास्थ्य उद्यमी हुन् । मोरङमा निम्न मध्यम वर्गीय परिवारमा जन्मेका शर्मा शून्य लगानीमा शेयरकर्ताका रूपमा भित्रिएर देशकै ठूला र चर्चित विराटनगरको नोबेल मेडिकल कलेजको मालिक बन्न पुगेका छन् । उनले तत्कालिन नोबेल मेडिकल कलेजका अध्यक्ष रहेका डा ज्ञानेन्द्र गिरीलाई माओवादी वाईसिल प्रयोग गरेर अपहरण गराएर चर्चा पाएका थिए ।

त्यसपछि नोबेलमा भएका विभिन्न बम काण्डका घटनाहरूसँग पनि उनी जोडिएर आए । पछि नेपाली कांग्रेसको महासमिति सदस्य हुँदै उनी गएको संघीय निर्वाचनमा मोरङको २ नम्बर निर्वाचन क्षेत्रबाट संघीय सांसदमा कांग्रेसबाट टिकट लिएर चुनावी प्रतिस्पर्धा पनि गरे । उनले एमालेबाट चुनावी प्रतिस्पर्धा गरेका हालका कानूनमन्त्री भानुभक्त ढकाललाई चुनाव जित्न निक्कै आच्छु–आच्छु पारेका थिए ।

झापाका मेलिकल कलेज संचालक दुर्गा प्रसाई पनि देश हल्लाउन सफल भए । झापाको विर्तामोड घर भएका उनी गाई–भैँसी पालन गरेर पहिले सामान्य जीवन व्यतित गर्थे । तर, पछि एकाएक मेडिकल कलेज संचालक भएर देखापरेका उनी हाल विर्तामोडको बिएण्डसी मेडिकल कलेजका संचालक छन् । उनले नेकपाका अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दहाललाई मार्सी चामलको भात खुवाएर निक्कै चर्चा कमाए । यसबाहेक बंगलादेशमा डाक्टर पढ्न गएका नेपाली चेलीहरू यौन शोषणमा पर्न बाध्य हुन्छन् भन्ने अभिव्यक्तिको बिबादले पनि उनलाई निक्कै चर्चामा ल्यायो ।

झापाको भद्रपुर निवासी दीपक पोखरेल पनि चर्चित उद्यमी हुन् । सामान्य कर्मचारी पेशामा जीवन बिताइरहेका उनी एक्कासी सौर्य एयरलाईन्सको अध्यक्ष बन्न सफल भए । उनले भद्रपुरमा मा पाथिभरा अस्पताल पनि संचालन गर्दै आएका छन् ।

यसैगरी झापाका स्वर्गीय मोहनलाल अग्रवाल (मित्तल) पनि चर्चित उद्योगी हुन् । उनले स्थापना गरेको मित्तल चिया बगान देशकै सबैभन्दा ठूलो चिया बगानका रूपमा चर्चित थियो । तत्काल राष्ट्रिय पञ्चायत सदस्यमा चुनावी प्रतिस्पर्धासमेत गरेका मोहनलालको व्यवसाय उनका छोरा सुरेश अग्रवालले संचालन गर्दै आएका छन् । झापामा नेपाल चिया उद्योग कम्पनी संचालन गरेर टोकलालगायत विभिन्न चिया बगान संचालन गरिरहेका सुभाष र वीरेन्द्र संघाई पनि चर्चामा छन् ।

 

एक नम्बर प्रदेशमा बसेर देश हल्लाउने उद्योगीहरूमा लुनकरणदास चौधरी पनि पर्दछन् । सुनसरीको दुहबीमा महालक्ष्मी मैदामिल खोलेर पछि पशुपति बिस्कुट उद्योग संचालन गरेका उनको चौधरी ग्रुप नामको औद्योगिक घराना नै बन्यो । सुनसरीमा न्यूटी फुड उद्योगसमेत संचालन गरिरहेका उनको घरानाले दुहबी औद्योगिक ग्राम पनि स्थापना गरिरहेको छ । विश्वकै धनीमध्ये चर्चित उनका छोरा बसन्त चौधरी हाल चौधरी ग्रुपका अध्यक्ष छन् । यसैगरी सुनसरी इटहरीका शिव घिमिरे पनि अर्का देश हल्लाउने अर्का व्यक्ति हुन् ।

सामान्य मजदुरी जीवनबाट पेट्रोलियम व्यवसायका नामुद व्यापारी बन्न पुगेका उनी पेट्रोलिय व्यवसायी संघका राष्ट्रिय अध्यक्ष पनि भए । तेलको कारोवारलाई लिएर पटक–पटक विवादमा आइरहने घिमिरेका कैयौँ पेट्रोल पम्प छन् । उनको सुनसरीको खनारमा रहेको गोदाममा छापा मर्दा फुटरिंग काटिएका ग्यासका सिलिण्डर भेटिएको घटनाले पनि राष्टिय चर्चा पाएको थियो । निडर र हक्की स्वभावको घिमिरेले ग्याँस उद्योग पनि संचालन गर्दै आएका छन् ।

मानबहादुर दियाली

सोलुखुम्बुका व्यापारी प्रकाशसिंह कार्की पनि नेपालको छुर्पी तेस्रो मुलुक निर्यात गराउन थालेपछि चर्चित बनेका छन् । उद्योग वाणिज्य संघका केन्द्रीय तहमा पुगिसकेका कार्कीकै जिल्लाका बलराम गुरुङ पनि गलैँचा व्यापारीका रूपमा चर्चित छन् । पाँचथरमा अलैँची व्यापारी दीपक नेपाल पनि अलैँची व्यापारमा प्रशिद्ध छन् । अन्य विभिन्न व्यापारमा हाल हाल्न थालेका उनी अलैँची व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष पनि हुन् ।

यस्तै इलामका चिया उद्यमी उदयराज चापागाईँ पनि चिया चर्चित छन् । मोरङको केरावारी २ सिंहदेवीका नारायण राई पनि अनकन्टार ठाउँमा विदेशमा कमाएको पैसाले सफल आर्गेनिक चिया उद्यमी बन्न सफल भएकोले चर्चित छन् । उनी एक मेहनती रोल मोडल कृषक पनि मानिन्छन् ।

धनकुटाका कृषक चन्द्रलाल तामाङ पनि चर्चित छन् । उनले राष्ट्रपति कृषक पुरस्कार प्राप्त गर्न सफल भएका थिए । धनकुटा २ मा बसोवास गर्ने उनी किवी, अलैँचीलगायतका खेतीका लागि प्रशिद्ध छन् । स्थानीय क्षेत्रमै उत्पादन हुने ऐँसेलुको रक्सी (हिनवा वाइन) उत्पादन गर्ने संखुवासभाका उद्योगी शेषनारायण श्रेष्ठ पनि चर्चित छन् । उनको उत्पादन हिनवा देशमा मात्र नभएर विदेशमा पनि चर्चित बनेको छ । उनकी छोरी अमेरिकाको पूर्व राष्ट्रपति बाराक ओवामाको सामाजिक सल्लाहकर बनेपछि उनको चर्चा झन् चुलिएको थियो ।

चर्चित उद्योगी व्यपारीहरूमा सुनसरी इटहरीका बलराम आर्चाय र धरानका मानबहादुर दियाली, विराटनगरका हरिभक्त सिटौला र मोरङ विराटचौकका भोलेश्वर दुलाल र कृष्ण दुलाल, भीम पौडेललगायत पनि चर्चामा छन् । भारतको मनिपुरबाट आएका बलराम आर्चाय एक प्रदेशमा गोर्खा डिर्पाटमेन्टल उद्योग र गोरखा किचेन अनि गोरखा बेकरी ब्राण्डका विभिन्न शाखाहरू खोलेर सफल व्यापारीका रूपमा चर्चित छन् ।

बलराम आर्चाय

यसैगरी भोजपुरको निम्न वर्गीय परिवारमा जन्मिएका मानकहादुरले बराह ज्वेलरी हुँदै देशभर मात्र नभएर हङकङमा समेत शाखा बिस्तार गर्न सफल भएका छन् । यसबाहेक बराह सहकारी, बराह किचेन, बराहस कम्पलेक्स, बराह यातायात लगायतका विभिन्न व्यवसाय उनले बिस्तार गर्दै लगेका छन् । उनी पनि सहयोगी र सफल व्यापारीका रुपमा चर्चामा छन् । विराटनगरका हरिभक्त सिटौलाले बन्द व्यापारबाट तीन तारे होटल जेयिनल स्थापना गर्न सफल भए ।

यसैगरि विराटचौक निवासी भोलेश्वर दुलाल र कृष्ण दुलाल निम्न मध्यमवर्गीय परिवारबाट सामान्य कृषि औजारको व्यापार गर्दागर्दै नेपालकै प्रशिद्ध पिएलओ लुब्रिकेन्ट उद्योगका मालिक बन्न सफल भए । हाल उद्योग संगठन मोरङका कार्य समिति सदस्य रहेका भोलेश्वर नेपाल जेसिजका पूर्वअध्यक्ष पनि हुन् ।

सुनसरी इटहरीका भीम पौडेलको क्रसर व्यवासय ढुंगागिटी ठेक्कामा दखल छ । एक नम्बर प्रदेशमा हुने ढुंगागिटीका ठेक्का प्रायः उनकै इसारामा चल्ने गर्छन् । नेता, मन्त्रीदेखि कर्मचारी सबैलाई मिलाउन सफल पौडेल सामान्य मजदुरबाट करोडपति व्यापारी बन्न सफल भएका हुन् ।

प्रतिक्रिया

Loading...