fbpx

सडकमा सुते चिया श्रमीक

झापा, बैशाख २४ ।

३८ दिनदेखि आन्दोलन गर्दै आएका इलाम र झापाका चिया मजदुरले मंगलबार सडमा सुतेर विरोध प्रदर्शन गरेका छन् । मजदुरहरुले सुतेर यातायात समेत बन्द गरेका थिए ।

झापाको बिर्तामोडस्थित बिएन्डसी हस्पिटलछेउबाट सुरु भएको श्रमिकको र्याली मुक्तिचोकमा पुगेपछि कोणसभामा परिणत भएको थियो । कोण सभा सकेसंगै पूर्व–पश्चिम राजमार्गमै सुतेर विरोध जनाएपछि दिउँसो १ देखि साढे २ बजेसम्म सवारीसाधनसमेत ठप्प भए ।

कोणसभालाई सम्बोधन गर्दै श्रमिक नेताहरूले न्यूनतम् ज्याला, सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने बताए। उनीहरूले श्रमिकले भोकभोकै लामो समय आन्दोलन गरेर सरकारी निर्णय कार्यान्वयन माग गर्दा पनि सरकारले बेवास्ता गरेको गुनासो गरे।

नेपाल चिया बगान श्रमिक संघ अध्यक्ष दीपक तामाङले अहिलेको आन्दोलन निर्णय भएको भन्दै जस्तोसुकै अबस्था आएपनि माग पुरा नभइ आन्दोलन नछोड्ने बताए । सरकारले नै तोकेको ज्याला नदिने, सरकारी निर्णय नमान्ने उद्योगीहरूलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गर्दै ३८ दिन देखि विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन् ।

सरकारी स्वामित्वका चिया बगान र उद्योगमा कार्यरत श्रमिकले नै सरकारले तोकेको न्यूनतम् ज्याला पाउन सकेका छैनन् । इलाम, कन्याम, सोक्तिम, चिलिमकोट, बर्ने, बाह्रदसी र टोकला चिया बगान सरकारी हुन्।

सरकारले गत साउनदेखि लागू हुनेगरी चिया बगानमा काम गर्ने श्रमिकको दैनिक न्यूनतम् ज्याला ३ सय ८५ रुपैयाँ तोकेको छ। चिया कारखानामा काम गर्ने श्रमिकको दैनिक न्यूनतम् ज्याला ४ सय २७ रुपैयाँ छ।

तर, दुवैखाले श्रमिक अहिले झापामा दैनिक २ सय ७८ र इलाममा २ सय ६५ रुपैयाँमा काम गर्न बाध्य छन्। बिर्तामोडमा भएको आन्दोलनमा इलामका चारै बगानका श्रमिकसमेत भेला भएका थिए। श्रमिकले गत चैत १७ देखि नै आफू कार्यरत उद्योग र बगान बन्द गरेर दिनहुँ आन्दोलन गरिरहेका छन्। श्रमिकले आन्दोलन चर्कापछि उद्योगीसमेत २० बुँदे माग राखेर सरकारसम्म धाइरहेका छन्।

प्रतिक्रिया

Loading...