fbpx

अज्ञात समूहले मध्य रातमा लगाए वडा कार्यालयमा आगो

डोटी,
डोटीको बडीकेदार गाउँपालिका–४ मान्नाकापडी वडा कार्यालयमा अज्ञात समूहले मध्य रातमा आगो लगाएका छन् । गए राति करिब २ः०० बजेतिर अज्ञात समूहले उक्त वडा कार्यालयमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए ।

उक्त वडा कार्यालयका वडाध्यक्ष वीरेन्द्रबहादुर कोटकेनीले आगजनीबाट कार्यालयमा भएका सम्पूर्ण कागजात पूर्णरूपमा जलेर नष्ट भएको जानकारी दिए । उनले भने, ‘अज्ञात समूहले वडा कार्यालयको ढोका तोडफोड गरेर भित्र छिरी सबै सामग्री एक ठाउँमा जम्मा पारेर आगो लगाएका छन् ।’

रातिको समयमा आगो लगाइएको भए पनि आज बिहान मात्रै प्रहरीलाई जानकारी भएपछि इलाका प्रहरी कार्यालय विपीनगरबाट प्रहरी निरीक्षक भरत चौधरीको नेतृत्वमा घटनास्थलमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।

उनले भने, ‘घटनाबारे थाहा पाउने बित्तिक्कै प्रहरी टोली खटाएका छौँ, कसले र किन आगजनी गरेको हो प्रहरी पुगेपछि थाहा हुनेछ ।’ आगो कसले लगायो, किन लगायो भन्ने विषयमा अहिलेसम्म केही पत्ता नलागे पनि यसमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ ।रासस

Loading...