fbpx

प्रधानमन्त्री ओली भन्छन्, ‘मेरो सरकार’को विरोध गर्नु सामन्ती चिन्तन हो’

काठमाडौं,
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो सरकार’को विरोध गर्नु सामन्ती चिन्तन भएको बताएका छन् । सोमबार सिंहदरबारमा गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

गत बुधबार राष्ट्रपति विद्या भण्डारीले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भनेकोमा यसको सर्वत्र चर्को आलोचना भइरहेको छ । यस्तैमा प्रधानमन्त्री ओलीले सामन्ती चिन्तन भएकाहरुले राष्ट्रपतिको सम्बोधनमा ‘मेरो सरकार’ भन्ने आएकोमा विरोध गरेको दावी गरेका छन् ।

उनले कांग्रेसबाट निर्वाचित भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले भारतीय जनता पार्टीको सरकारलाई पनि पटक–पटक मेरो सरकार भन्ने गरेको दृष्टान्त पनि पेश गरे । उनले भने, ‘ विरोध गर्नेहरुले भारतीय राष्ट्रपतिले ‘मेरो सरकार’ भन्ने गरेको हेरुन् ।’

उनले भने, ‘राष्ट्रपतिको सम्बोधनमा ‘मेरो सरकार’ भनिएकोमा विरोध गर्नु सामन्ती चिन्तकबाहेक अरु केही होइन । जननिर्वाचित सरकारलाई राष्ट्रपतिले मेरो सरकार भनेर अपनत्व दिन्छ, स्वीर्काछ ।’

प्रधानमन्त्री ओलीले राज्यको सर्वोच्च निकाय भएकाले राष्ट्रपतिले जननिर्वाचित सरकारलाई अपनत्व दिन पनि ‘मेरो सरकार’ भन्ने गरेको तर्क दिँदै ओलीले भने, ‘मैलै पनि मेरो देश भन्छु । तर, मैले तपाईँहरुको देश होइन भनेको होइन । मेरो राष्ट्र, मेरो भाषा, मेरो संस्कृति भनेर मैले निजी भनेको हो र ? मैले त राष्ट्रिय सामूहिक भाषाको सर्वोच्च अभिव्यक्ति मात्रै दिएको हो ।’

प्रतिक्रिया

Loading...