fbpx

शक्तिशाली फानी चक्रवातको असर प्रदेश १ मा देखिन सक्ने, सर्तक रहन आग्रह


काठमाण्डौँ, बैशाख १८ ।

बंगालको खाडीबाट सुरु भएको चक्रवातको प्रभाव प्रदेश नम्बर १ मा पनि पर्ने देखिएको छ । बंगालको खाडीको दक्षिण पूर्वी भागबाट सुरु भएको शक्तिशाली चक्रवात फानी को असर नेपालमा पनि पर्न सक्ने मौसमविद्हरुले अनुमान गरेका छन् ।

२० गते शुक्रबार अपरान्हपछि नेपालको पूर्वी भू–भाग भएर फानी प्रवेश गर्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

फानी चक्रवातको असर प्रदेश नम्बर एकमा र हिमाली क्षेत्रमा पर्न सक्ने प्रारम्भिक अनुमान गरिएको पौडेलले बताए । चक्रवातको कारण हिमाली क्षेत्रमा भारी हिमपात र हावाहुरीको सम्भावना देखिएको हो ।

प्रिमनसुन सुरु भइसकेको अबस्थामा चक्रवातको असरसमेत देखिदा प्रदेश नम्बर १ तथा २ र ३ मा पनि हावाहुरी आउने सम्भावना रहेको छ भने हल्का तथा मध्यम वर्षा हुनसक्छ ।

बंगालको खाडीको दक्षिण पूर्वी भागबाट सुरु भएको चक्रवात ‘फानी’ बिस्तारै उत्तर–पश्चिम दिशातर्फ आइरहेको छ । भोली बिहीबारबाट यो प्रणाली उत्तर पूर्वतिर सर्ने अनुमान गरिएको हो ।

जल तथा मौसमपुर्वानुमान महाशाखाले विशेष बुलेटिनमा शुक्रवारबाट यो प्रणाली भारतको उडिसा आसपास मोडिने र अपरान्हबाट भने यसको असर नेपालको एक नम्बर प्रदेशमा देखिने प्रक्षेपण गरेका हुन् । शुक्रबार अपरान्हपछि भने यसको असर देखिन सक्ने सम्भावना रहेकाले सतर्क हुन समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया

Loading...