fbpx

ग्रामथान देशकै पहिलो बालविवाह मुक्त गाउँपालिका


विराटनगर, बैशाख १७ ।

मोरङको ग्रामथान गाउँपालिका देशकै पहिलो बालविवाह मुक्त घोषणा भएको छ । मङ्गलवार एक कार्यक्रमकाबीच ग्रामथान गाँउपालिकाको वडा ६ र ७ लाई बालविवाह मुक्त घोषणा गरेपछि गाँउपालिका नै बालविवाह मुक्त भएको हो ।

गाँउपालिकाका ७ वटा वडामध्ये वडा नम्बर १ देखि ५ सम्म गत आर्थिक वर्षमा नै बालविवाह मुक्त घोषणा गरिसकिएको छ ।

बालबालिका भविष्यको कर्णधार मात्रै नभइ अहिलेका साझेदार समेत भएको भन्दै उनीहरुको विकास र संरक्षण गर्न गाँउपालिकाले काम गरिरहेको ग्रामथान गाउँपालिका अध्यक्ष शिवनारायण माझीले प्रतिकृया दिए ।

बालबालिकाको भविष्य सुरक्षित गर्न सके मात्रै गाउँपालिकाको परिवर्तन सम्भव भएकाले लगानी बढाएको उनको भनाई छ । ग्रामथान गाउँपालिकामा आदिवासी, विपन्न तथा गरिबहरुको बाहुल्यता रहेको छ ।

त्यहाँका अभिवावकमा चेतनाको अभावको कारण बालबालिकाको सानै उमेरमा विवाह गरिदिने चलन रहेको थियो । सानै उमेरमा विवाह गरिदिँदा पढाइबाट वञ्चित हुनुका साथै अपरिपक्व उमेरमा नै जिम्मेवारी बढ्ने, बच्चा जन्माउनाले शरीर कमजोर हुने लगायत समस्याले आर्थिक, सामाजिक रूपमा कमजोर बन्ने जस्ता असर हुने अध्यक्ष माझिको भनाईै छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमप्रसाद पौडेलका अनुसार ग्रामथानका सबै ४ हजारभन्दा बढी घरधुरीका अभिभावकले परिवारमा बाल विवाह नगर्ने प्रतिबद्धता पत्रमा स्वेच्छाले हस्ताक्षर गरेका छन् ।

पछाडी पारिएका समुदायको बाक्लो बसोबास भएपनि साविक तेतरीया गाविसलाइृ बालमैत्री घोषणा गरिएको थियो । ग्रामथान गाउँपालिकाकै एक वडा रहेको तेतरीया बालमैत्री घोषणा भएको कारण पनि हालको ग्रामथान गाँउपालिकालाई बालविवाह मुक्त घोषणा गर्न सहयोग पुगेको पौडेलले बताए ।

बालमैत्री घोषणा गर्न सञ्चालन गरिएको अभियानका क्रमबाट नै अभिभावकहरुमा आएको सचेतनाले अहिलेलाइ समेत सहयोग गरेको हो ।

प्रतिक्रिया

Loading...