fbpx

पाँच बुँदे घोषणापत्र जारी गर्दै गण्डकी प्रदेशस्तरीय मिडिया सम्मेलन सम्पन्न


पोखरा, १४ वैशाख

नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिको आयोजनामा २ दिने गण्डकी प्रदेशस्तरीय मिडिया सम्मेलन पाँच बुँदे पोखरा घोषणापत्र जारी गर्दै पोखरामा शनिबार सम्पन्न भएको छ ।

घोषणा पत्रमा मिडिया सम्मेलनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको प्रहारप्रति सरकारको ध्यानाकर्षण गर्दै यस्ता गतिविधि तत्काल बन्द गर्नुपर्ने उल्लेख छ ।

समाचार लेखेकै आधारमा पत्रकारमाथि भइरहेको धरपकड र गिरफ्तारीजस्ता घटनाको निन्दा गर्दै यस्ता गतिविधि तत्काल बन्द गरी संविधानप्रदत्त अधिकारको रक्षा गरिनुपर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्बाध उपभोग गर्दै नागरिक अधिकारको संरक्षण गर्न मिडियामैत्री कानून निर्माण गर्नुपर्ने मागसहितको घोषणापत्र जारी गरेको छ ।

त्यस्तै, मिडिया सबलीकरण एवं त्यहाँ कार्यरत श्रमजीवि पत्रकारहरूको संरक्षणका लागि समानुपातिक विज्ञापन नीति लागू गर्न सरकारसमक्ष माग गर्दै श्रमजीवि पत्रकार ऐन लागू गर्न सम्बद्ध सञ्चारमाध्यमहरूलाई आग्रह गर्ने र गण्डकी प्रदेशस्तरीय मिडिया सम्मेलन, यस प्रदेशको समृद्धिका लागि पत्रकारितामा समावेशिता, यसको माध्यमबाट समृद्धि, बालमैत्री पत्रकारिता र पर्यटन प्रवद्र्धनलगायतका विषयहरूलाई उच्च प्राथमिकता दिन प्रदेश सरकारको ध्यानाकर्षण गर्ने पोखरा घोषणापत्रमा उल्लेख गरिएको छ ।

मिडिया सम्मेलनको दोस्रो तथा अन्तिम दिन पर्यटन र पत्रकारिता विषयमा छलफल भएको थियो । छलफलमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल र पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेको सहभागीता रहेको थियो ।

छलफलमा सहभागिता जनाउँदै पर्यटनमन्त्री लम्सालले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि पत्रकारिता क्षेत्रको भूमिका सराहनीय रहेको बताए । प्रदेश सरकारले व्यवस्थित कार्ययोजना बनाएर अघि बढेको भन्दै पर्यटन क्षेत्रको विकासका लागि सरकारले अघि सारेका काममाथि विश्वास गर्न आग्रह गरे ।

पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं पर्यटनकर्र्मी पालिखेले पर्यटन र पत्रकारिता एउटै सिक्का दुई पाटा भएको बताए । राज्यले योजना घोषणा गर्ने र कार्यान्वयनमा उदासीनता देखाउने गरेको आरोप लगाउँदै पालिखेले पर्यटन क्षेत्रको वास्तविक विकासका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए ।

नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव गणेश पौडेलले गरेका थिए ।

प्रतिक्रिया

six − 1 =

Loading...