visit-nepal

चार हजार पूनर्निर्माण प्राविधिकले गरे सामूहिक राजीनामा


काठमाडौं, बैशाख १२ ।

राष्ट्रिय पूननिर्माण प्राधिकरणः करिब चार हजार प्राविधिकहरुले आज विहिबारबाट लागु हुनेगरि सामूहिक राजीनामाको घोषणा गरेका छन् ।

राष्ट्रिय पूननिर्माण प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो ।

आफूहरुले अघि सारेका मागप्रति सरकार संवेदनशील नभएकोले बाध्य भएर सामूहिक राजीनामा दिएको समितिले जनाएको छ ।
समितिले गत चैत्र ३ गतेबाट देशव्यापी चरणबद्ध आन्दोलन गर्दै आएको थियो ।

तर, सरकारले चरणबद्ध आन्दोलन गर्दापनि मागप्रति कुनै सुनुवाई नगरेको र उल्टै आफूहरुलाई सेवा सुविधाबाट बञ्चित गराएकोले बाध्य भएर सामूहिक राजीनामा दिनु परेको समितिका अध्यक्ष ईन्जिनियर अविनाश अमरले स्पष्ट पारे ।

नेपालको ईतिहासमै प्राविधिक जगतको सबैभन्दा ठूलो सडक संघर्षसमेत चैत्र १० गते काठमाडौंमा भएको समितिको भनाई छ । समितका अध्यक्ष अमरले भने,‘सरकारले हामीलाई अन्यायमा पारेको कारणले हामी चरणबद्ध आन्दोलनमा थियौं । तर, धैर्यताको बाँध भत्किएकोले आजैको मितिबाट लागु हुनेगरि हामी ३२ जिल्लाका सम्पूर्ण प्राविधिकहरुले सामूहिक राजीनामा घोषणा गरेका छौं ।’

सरकारले आफुहरुको माग सुनुवाई नगरेसम्म काममा नफर्किनेसमेत उनले स्पष्ट पारे । यसअघि चैत्र १२ गते नेपाल ईन्जिनियर्स एशोसिएशनको मध्यस्थतामा प्राधिकरण र आफूहरुबीच सहमति भएर एक साताभित्र सबै माग पूरा गराउने प्रतिबद्धतासहित काममा फर्किएपनि सरकारले उक्त सहमति उल्लंघन गरेको पनि समितिको आरोप छ ।

कार्यक्रममा समितिका सचिव ईन्जिनियर राम मल्ल, समितिका उपाध्यक्ष ईन्जिनियर बलराम घिमिरे, सह–सचिव ईन्जिनियर नृपेश सापकोटालगायतले आफ्नो धारणा राखेका थिए ।

समितिले आफूहरुले खाईपाई आएको प्रोत्साहन भत्ता, भौगोलिक भत्ता, यातायात खर्च र सञ्चार खर्च निरन्तर पाउनुपर्ने, प्रत्येक स्थानीय तहमा पुनर्निर्माण शाखा अनिवार्य रुपमा हुनुपर्ने, स्थायित्व र निरन्तरताको व्यवस्था गरिनुपर्नेलगायतका विभिन्न ५ बुँदे माग राख्दै आएको थियो ।

प्रतिक्रिया

Loading...