fbpx

श्रीलंका आक्रमणः मृत्यु हुनेको संख्या ३ सय ५९ पुग्यो, महिला पक्राउ परेपछि बुर्का प्रतिबन्ध गर्न माग

कोलम्बो,
गत आइतबार भएको श्रीलंका आक्रमणमा मृत्यु हुनेको संख्या ३ सय ५९ पुगेको प्रहरीले जनाएको छ ।

श्रीलंकाको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर (चर्च) मा भएको शृंखलाबद्ध बम बिस्फोटमा मृत्यु हुनेको संख्या बुधबार मध्यान्हसम्म ३ सय ५९ जना पुगेको प्रहरीले जनाएको हो ।

मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलंकाको विदेश मन्त्रालयले जनाएको छ । बिस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् ।

उपचार गराइरहेका घाइतेमध्ये अझै केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएका छन् । राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए ।

यस्तै राजधानीका पाँचतारे होटलहरु साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि बिस्फोट भएका थिए । मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा समेत शक्तिशाली बिस्फोट भएको थियो । बिस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ ।

तर, सरकारले श्रीलङ्कामै सामान्य सक्रिय समूह नेसनल थोहित जमाथको संलग्नताको आशङ्का गरेको छ । यो समूहलाई अन्तर्राष्ट्रिय आतङ्कवादी समूहले मद्दत गरेको हुनसक्ने श्रीलङ्का सरकारको अनुमान छ ।

प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि मङ्गलबार राति सञ्चारकर्मीसँग कुरा गर्दै देशको सुरक्षा संयन्त्रले घटनामा विदेशी संलग्नताको आशङ्का गरेको र केही तथ्य प्रमाणले त्यही देखाएको बताए । गएराति पनि श्रीलङ्काली प्रहरीले खोज अभियान सञ्चालन गरेको र त्यसक्रममा १८ जनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यसैबीच उक्त आक्रमणमा एक महिलासहित ९ जना आक्रमणकारी समावेश भएको बुधबार प्रहरीले जनाएका छन् । श्रीलंकाको अपराध अनुसन्धान विभागले ९ जना आत्मघाती आक्रमणकारी घटनामा संलग्न भएको पुष्टि गरेको हो ।

ती एक महिला आक्रमणकारीकै श्रीमति भएको जनाइएको छ । महिला समेत आक्रमणमा समावेश भएपछि त्यहाँ मुश्लिम महिलाले लगाउने बुर्का प्रतिबन्ध गर्न माग उठेको छ । बुर्का प्रतिबन्धको माग गर्न संसदमा गरिने त्यहाँका सांसदहरुले बताएका छन् ।

उनीहरुले बुर्का लगाएर पुरुषहरुले आक्रमण गर्नसक्ने बताएका छन् । बुर्काले आतंककारीको पहिचान लुकाउने जनाइएको छ । हालसम्म करिब ६० जनालाई पक्राउ गरिसकिएको छ ।

बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरहरुमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका थिए ।

Koshi Online

FREE
VIEW