fbpx

आजबाट सकिँदै आठौँ राष्ट्रिय खेलकुद

राँझा,
प्रदेश नं ५ मा भइरहेको आठाैँ राष्ट्रिय खेलकूद प्रतियोगिता ऐतिहासिक रुपमा आजबाट सकिँदैछ । पहिलोपटक निर्धारित समय दुई वर्षको अवधिमै आफ्नै अत्याधुनिक भौतिक पूर्वाधार र खेल समावेशका आधारले आठौँ प्रतियोगितासँगै नेपाली खेलकूद नयाँ युगमा प्रवेश गरेको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले आज साँझ भव्य समारोहका बीच नेपालगञ्जस्थित रङ्गशालामा समापन गर्ने कार्यक्रम रहेको प्रदेश खेलकूद विकास समिति अध्यक्ष भीम वलीले जानकारी दिए ।

गत चैत २७ गतेबाट खेल शुरु गरिए पनि प्रतियोगिताको औपचारिक उद्घाटन भने वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्ज रङ्गशालामा भव्य समारोहका बीच गरेकी थिइन् । समापन समारोहमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र जनप्रतिनिधिलगायतको सहभागिता हुनेछ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार विष्टले आफ्नै पूर्वाधारमा पहिलोपटक प्रतियोगिता गर्न सफल भएकाले ऐतिहासिक भएको बताए । ‘सीमित साधनस्रोतका बीचमा हामीले आफ्नै पूर्वाधारमा विवादरहित ढङ्गले हामीले प्रतियोगिता सम्पन्न गर्दैछाँै’, उनले भने, ‘आठौँको भव्य उद्घाटन समारोह, अत्याधुनिक भौतिक पूर्वाधार र खेलाडीको उत्साह हेर्दा नेपाली खेलकूद नयाँ युगमा प्रवेश गरेको छ ।’

प्रतियोगिता विभिन्न ठाउँमा गर्दा खेलाडीलाई केही असहज भएता पनि राष्ट्रिय खेलकूदका अवसरमा पहिलोपटक प्रदेश नं ५ का विभिन्न जिल्लामा धेरै खेलकूदका पूर्वाधार बन्न सकेको उनले बताए ।

प्रदेश खेलकूद विकास समिति अध्यक्ष भीम वलीले प्रतियोगिताले नेपाली खेलकूदलाई नयाँ युगमा प्रवेश गराएको बताए । ‘खेलकूद परम्परा र संस्कृति जगेर्नाको रुपमा मात्र खेलिँदै आएको थियो’, उनले भने, ‘तर हामीले करोडौँको भौतिक पूर्वाधार निर्माण गरैर साँच्चिकै नेपाली खेलकूदको युग परिवर्तन गर्न सफल भएका छाैँ ।’ उनले काठमाडाैमा समेत खेलकूदका भौतिक पूर्वाधार नभएको अवस्थामा प्रदेश नं ५ मा खेलकूदका लागि आधुनिक पूर्वाधार तयार गरिएको जानकारी गराए ।

नेपालगञ्ज रङ्गशालामा बनेको अत्याधुनिक भीआइपी प्यारापिट, रङ्गशालामा नै वर्मुडा दुवै अन्तर्राष्ट्रिय मापदण्डका फुटबल मैदान, पौडीपोखरी, कभर्डहल, भारोत्तोलन एकेडेमी, सुटिङ रेन्ज र एथलेटिक्स ट्र्याक र जुडोहल निर्माण भएका छन् भने बाँकेकै कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खजुरामा भलिबल रङ्गशाला निर्माण भएका छन् ।

बाँकेसहित बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र केही प्रतियोगिता काठमाडाँै, ललितपुर र पोखरामा भएको प्रतियोगितामा ३५ खेलमा करीब पाँच हजार खेलाडीको सहभागी भएका थिए ।

Koshi Online

FREE
VIEW