fbpx

आईपीएल : सन्दीपको टोली दिल्लीलाई पछि पार्दै चेन्नई शीर्ष स्थानमा उक्लियो

विराटनगर,
साबिकको विजेता चेन्नई सुपर किंग्स भारतमा जारी १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति आफ्नो ११औं खेल खेलेको चेन्नईले सनराईजर्स हैदरावादलाई हराउँदै शीर्ष स्थान बनाएको हो ।

चेन्नईस्थित चिदामबराम स्टेडियममा भएको उक्त खेलमा चेन्नईले हैदरावादलाई ६ विकेटले हराउँदै आफ्नो आठौं जित दर्ता गरायो । घरेलु मैदानमा भएको उक्त खेलमा हैदरावादले दिएको १ सय ७६ रनको लक्ष्य खेलमा घरेलु टोली चेन्नईले १९ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गरेको थियो ।

उसका लागि शेन वाट्सनले ९६ रन बनाउँदा सुरेश रैनाले ३८ रन जोडे । यस्तै अम्बाती रायडुले २१ रन बनाए । बलिङतर्फ हैदरावादका राशिद खान, भुवनेश्वर कुमार र सन्दीप शर्माले समान १–१ विकेट लिए ।

त्ययसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको हैदरावादले निर्धारित २० ओभरको खेल खेल्दै ३ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । हैदरावादका लागि मनिष पाण्डले ८३ रन बनाउँदा डेभिड वार्नरले ५७ तथा विजय शंकरले २६ रन बनाए ।

चेन्नईका हर्बजन सिंहले २ तथा दीपक चाहरले १ विकेट लिए ।

यस जितसँगै चेन्नईले दिल्ली क्यापिटल्सलाई २ अंकले पछि पार्दै शीर्ष स्थान बनाएको छ । उसले ११ खेलमध्ये ८ खेलमा जित र ३ खेलमा हार ब्यहोर्दै १६ अंक बनाएको छ । यसैगरी उसले हैदरावादसँग हारको बदलासमेत लिएको छ । उसले यस सिजनको पहिलो भेटमा हैदरावादसँग ६ विकेटको हार ब्यहोरेको थियो।

यता पराजित हैदरावाद भने चौथो स्थानमा यथावत छ । चेन्नईभन्दा एक खेल कम खेलेको उसले १० खेलमध्ये ५ खेलमा जित र ५ खेलमा हार ब्यहोर्दै १० अंक बनाएको छ ।

Koshi Online

FREE
VIEW