fbpx

हामीले एक दिनमा कति पानी पिउनुपर्छ ? जानिराखौं

पानी हाम्रो शरीरका लागि एकदम अत्यावश्यक पदार्थ हो । पानीको कमीले हाम्रो शरीरमा डिहाईड्रेसन हुन्छ र हामी बेहोस हुने गर्छौ ।

पानी नखाई लामो समयसम्म बस्दा मानिसको मृत्यु नै हुन सक्छ । पानीले शरीरको तापक्रम नियन्त्रण गर्छ, कब्जियत घटाउँछ, शारीरिक प्रक्रियालाई सही राख्न सयहोग गर्छ । पानीले खाना पचाउनसमेत सहयोग गर्छ ।

शरीरमा पानीको कमी हुँदा छाला सुक्खा हुने, स्किन एलर्जी र छाला रातो हुनेलगायतका छालासम्बन्धी अन्य रोग पनि देखा पर्छन् । साथै, अनुहारमा दाग आउने समस्या पनि हुन्छ । त्यसैले, हरेक मानिसले दैनिक डेढदेखि साढे दुई लिटरसम्म पानी पिउनुपर्छ ।

एकजना वयस्क व्यक्तिले पसिना, सास र दिसा पिसाबबाट दिनमा साँढे दुई लिटर पानी गुमाउँछ । यसरी शरीरबाट गुमेको पानी पूर्ति हुने गरी पानी पिउनुपर्छ । शरीरलाई चाहिने पानीको मात्रा शरीरको तौलमा भर पर्ने गर्छ । शरीरको तौल किलोग्राममा जति छ, त्यसलाई ०.०३३ ले गुणन गर्दा जति आउँछ सरदर त्यति नै लिटर पानी पिउन उचित हुन्छ ।

पानीको मात्रा जीवनशैलीमा र मौसम अनुसार पनि भर पर्छ । शारीरिक श्रम नपर्ने, कुर्सीमा बसेर काम गर्नेहरूले भन्दा शारीरिक श्रम पर्ने व्यक्तिहरूले धेरै पानी पिउनुपर्छ । शारीरिक ब्यायाम गर्ने, गर्मी मौसममा काम गर्ने र स्तनपान गराइरहेका आमाहरूले पनि धेरै पानी पिउनुपर्छ ।

हाम्रो शरीरमा पानीको मात्र कम भयो भन्दैमा एकैपटक बढी पानी पिउने गर्नुहुँदैन । यस्तो गर्दा मिर्गौलामा असर पर्न सक्छ । त्यसैले, केही समयको अन्तरालमा पानी पिउने गर्नु पर्छ । बिहान खाली पेटमा मनतातो पानी पिउनु हाम्रो शरीरका लागि एकदम लाभदायिक हुन्छ ।

Koshi Online

FREE
VIEW