fbpx

रिना बस्नेत मृत्यु प्रकरण : पथरीमा स्थानीयवासी र प्रहरीबीच झडप, स्थिति तनावपूर्ण

राजकुमारी तामाङ, पथरी
रिना बस्नतेको हत्यारालाई कारवाहीको माग गर्दै आज पथरीमा दोस्रो दिन पनि आन्दोलन जारी छ । आफ्नो माग सुनुवाई नभएको भन्दै इलाका प्रहरी कार्यालय पथरी घेराउ गर्न गएको भिडलाई तितरबितर पार्न प्रहरीले २ राउण्ड हवाई फायर गरेको छ ।

नगरपालिका तालाबन्दी र घेराउपछि इलाका घेर्न गएको भिडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । स्थानीयले नगरपालिकामा रहेको वडा नम्बर १ को कार्यलयमा ताला लगाएर आन्दोलन शुरु गरिरहेका बेला प्रहरीले ज्यादती गरेको र अपशब्द प्रयोग गरेको भन्दै उनीहरूले नगरपालिकाको गेट फोडी भित्रै नाराबाजी गरेका छन् ।

आन्दोलित स्थानीयले महेन्द्र राजमार्गअन्तर्गत पथरी सडक खण्ड हुँदै हाल इलाकाअगाडि नाराबाजी गरिरहेका छन् । आन्दोलनको क्रममा ढुङगा हानाहान समेत भएको छ । उद्योग वाणिज्य संघ पथरीकी पूर्ववरिष्ठ उपाध्यक्ष कविता पराजुलीको अगुवाईमा संघर्ष समिति गठन गरी स्थानिय नगरवासीहरू, उद्योगी, व्यापार व्यवसायीहरू, महिला अधिकारकर्मीहरूलगायतको उपस्थितीमा आन्दोलन चलिरहेको छ ।

आक्रोशित भिडले ‘हत्यारालाई कार्बाही गर’ महिला हिंसा अन्त्य गर’ शान्ती सुरक्षा कायम गर, प्रहरी प्रशासन मुर्दावादलगायतका नाराबाजी गरिरहेका छन् । शनिबार बिहान पथरी १ मा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ वर्षीया रिना बस्नेतको नग्न अबस्थामा शव भेटिएको थियो ।

मंगलबार विहान ९ बजेदेखि बजार बन्द गरेका स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्गमा भेला भएका स्थानीयले यातायात ठप्पपारी रीनाको हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै नाराबाजी गरिरहेका छन् ।

रीनाको शव डेराअगाडि भुँईमा नग्न अवस्थामा भेटिएको थियो । शुक्रबार पथरीमा आयोजित कन्सर्ट हेरेर मध्यरातमा कोठा फर्किएकी रीना भोलिपल्ट मृत फेला परेकी थिइन् । त्यसअघि पनि पथरीमा सोही प्रकृतिका ५ वटा घटना भइसकेका छन् ।

प्रतिक्रिया

Loading...