fbpx

रीना बस्नेत मृत्यु प्रकरण : पथरीमा हवाई फायर, स्थिति तनावग्रस्त

विराटनगर,
मोरङ पथरीमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी रीना बस्नेतको शंकास्पद मृत्यु प्रकरणलाई तोडमोड गर्न खोजेको आरोप लगाउँदै स्थानीबासीले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

प्रहरी कार्यालय घेर्न गएकालाई हटाउन २ राउन्ड हवाई फायर भएको हो । मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले भने अश्रुग्यास मात्र प्रयोग भएको बताए । पथरी बजार अहिले तनावग्रस्त छ ।

प्रहरीले रीनाको हत्या नभई दुर्घटनाका कारण मृत्यु भएको हुनसक्ने बताएपछि बास्तविकता मोड्न खोजेको भन्दै स्थानीयबासी बजार बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । हत्यामा संलग्नलाई कारवाही माग गर्दै स्थानीयले सोमबार दिउँसो २ घण्टा पूर्व–पश्चिम राजमार्गको पथरी खण्ड अवरुद्ध गरेका थिए ।

मंगलबार विहान ९ बजेदेखि बजार बन्द गरेका स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्गमा भेला भएका स्थानीयले यातायात ठप्पपारी रीनाको हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै नाराबाजी गरिरहेका छन् ।

गत शनिवार बिहान रीनाको शव डेराअगाडि भुँईमा नग्न अवस्थामा भेटिएको थियो । शुक्रबार पथरीमा आयोजित कन्सर्ट हेरेर मध्यरातमा कोठा फर्किएकी रीना भोलिपल्ट मृत फेला परेकी थिइन् ।

Koshi Online

FREE
VIEW