fbpx

फुड प्रोडक्टमा सधै एक नम्बर बनिरहने सपना बोकेका उद्यमी

लाउँलाउँ र खेलीखाउँको युवा उमेर । हँसिलो मुहार । फूर्तिलो, अग्लो ज्यान । विराटनगरमा उद्योग व्यापारमा लाग्न थालेका युवा उद्यमीहरू अरु पनि धेरै छन् तर युवा उद्यमी सिद्धार्थ कावरा भने आफ्नो सोच, योजना र सपनाले गर्दा अरुभन्दा फरक देखिन थालिसकेका छन् ।

भर्खरै हो उनले विदेशको पढाई सकाएर स्वदेश फर्केर आफ्नो पारिवारिक विरासतको उद्यम सम्हालेको । तर, दुई वर्षभित्रै उनी परम्परात भएपनि नयाँ सोचले आफ्नो उद्योग व्यापारलाई फैलाउन सफल हुन थालेका छन् । भविष्यको एक सफल उद्यमशिल युवाहरूको समूहमा उनलाई सम्भावनाले हेर्न थालिएको छ ।

आखिर राज के छ त नेपालको प्रसिद्ध औद्योगिक घराना काबरा ग्रुपको तैयारी खाद्य उद्योग ‘क्वालिटी फुड प्रोडक्ट प्राली’ का निर्देशक यूवा उद्यमी सिद्धार्थ काबराको सफलताको ? धेरैलाई जिज्ञाशा लाग्ला । तर, उनी आफनो सफलतातर्फको उन्मुखतामा आफनो नवीन सोच, काम गर्ने उर्जा र इमान्दारी लगावलाई श्रेष्य दिन्छन् । भन्छन्, ‘कुनै पनि काम पूर्ण समर्पित भएर गर्नुपर्छ सफलता भाग्नै सक्दैन ।’

क्वालिटी फुड प्रोडक्ट विराटनगरमा केन्द्रीय कार्यालय रहेको औद्योगिक घराना काबरा ग्रुपको औधोगिक कम्पनी हो । यसले बिस्कुट र नुडल्स उत्पादन गर्दै आएको छ । काबरा ग्रुपले ३४ वर्ष अघिदेखि नेपालमा बिस्कुट उत्पादन गर्न थालेको हो । पहिले थिन आरारोट, गाई छाप ग्लुकोज बिस्कुट उत्पादन गरेको यो उद्योगले क्रमश टेस्टीटेस्टी, वनवन, वटरक्रेकर, मर्निङ टचलगायत नामका बिस्कुट उत्पादन गरिहेको छ । यसबाहेक काबरा ग्रुपले चोको किड्स, डबल डक, हट्के झट्के नामका चकलेट, वेफर्स र स्न्याक्सहरू पनि बजारमा ल्याएको छ ।

बिस्कुटमा झैँ चाउचाउमा पनि प्रसिद्ध हुने काबरा ग्रुपको सपना रहेको छ । त्यो साकार हुँदै पनि गइरहेको छ । मोरङको बुढीगगा गाँउपालिका हात्तिमुडामा रहेको क्वालिटी नुडल्स उद्योगमा ७० करोड लगानी रोमियो र ज्याकपट चाउचाउ भेजिटेबल र चिकेन स्वादमा उत्पादन गरेर बजारमा ल्याइसकको छ । उद्योगमा लगानी थप गरेर थप उत्पादन बजारमा ल्याउने तैयारी पनि यो ग्रुपको छ ।

काबरा ग्रुपको नेपालमै बनेको गुणस्तरीय सस्तो र स्वादिलो बिस्कुटका रूपमा क्वालिटीले ब्राण्ड बनाइसकेको छ । यसैगरि भर्खरै क्यालिटी नुडल्स उद्योगले ज्याकपट र बुलेट चाउचाउ पनि उत्पादन गरेर बजारमा पठाईसकेको छ । सिद्धार्थका बुवा श्याम काबरा, ठूलो बुवा नवलकिशोर कावरा मात्र हैन उनको सिंगो परिवार खाद्य उद्योगमै समर्पित छ । र, भविष्यमा खाद्य उद्योगमै समर्पित रहने योजना पनि छ ।

………..

सिद्धार्थ काबारा विराटनगरमै जन्मे, हुर्के, पढे । त्यसपछि उच्च शिक्षा पढ्न भारतको बम्बई र दिल्ली पुगे । त्यहाँ पढिसकेपछि उनी लण्डनको नर्थहम्टन विश्वविद्यालयमा चार वर्ष बिजनेश म्यानेजमेन्ट पढे । त्यहाँ पढदै गर्दा उनले अनुभवनका लागि केही महिना बैँकमा नोकरी पनि गरे । नोकरी उनले पैसाका लागि हैन अनुभवनका लागि मात्र गरेका थिए ।

पढाई र अनुभवले आत्मविश्वासलो भएपछि उनी फुड प्रोडक्टमा आफ्नै साम्रज्य बिस्तार गर्ने उद्देश्य लिएर स्वदेश फर्के । विदेशमा पढेर किन नेपाल फर्केको हौ तँ नेपाली युवाहरूले त यहाँ अवसरै छैन भनेर देश छाडिरहेका छन् ? भनेर धेरैले गाली गरे । तर, राष्ट्रवादी युवा उद्योगपति सिद्धार्थलाई विदेशमा बसेर नोकरी गर्नुभन्दा आफ्नै देशमा गएर उद्यम गर्नु उचित हो भन्ने लाग्यो ।

नेपालमा उद्यम गर्न जति सहज छ, विदेशमा बसेर उद्यम गर्न त्यत्ति सहज नभएको सिद्र्धाथ बताउँछन् । नेपालमा केही गर्न नसक्नेले विदेशमा गएर धेरै गर्न सक्छु भन्नु फुँई मात्र हुने उनको बुझाई छ । विदेश नोकरी गर्नका लागि ठीक भएपनि उद्यम गर्नका लागि भने नेपालनै सबैभन्दा धेरै अवसर भएको देश हो भन्ने सिद्धार्थलाई लाग्छ ।

पारिवारिक पृष्ठभूमी, देशको माया र अवसरको उपभोग गर्नका लागि सिद्धार्थ नयाँ जोश र जाँगरका साथ उद्यममा लागिरहेका छन् । थप केही गरौँ भनेर सिद्धार्थले खाद्यवस्तु आयात निर्यात गर्नका लागि ट्रेडिङ कम्पनी पनि संचालनमा ल्याएका छन् । हाल उनी विराटनगरस्थित केन्द्रीय कार्यालयमा आफ्ना बुवासँगै बसेर कारोवारमा सघाइरहेका छन् ।

………..

सिद्धार्थको सपना कुनै ठूलो छैन । बस उनी र उनको परिवारले गरिरहेको फुड प्रोडक्टको बिजनेशलाई देशकै सबैभन्दा ठूलो र गुणस्तरीय कम्पनी बनाइराख्ने भन्ने छ । पहिले नेपालमा बिस्कुटको राजा बन्ने अनि सरकारी प्रोत्साहन पाएमा अन्तर्राष्ट्रियस्तरमा पनि चिनिने योजना उनको छ । तर, प्रतिस्पर्धा धेरै भएकोले सजिलो भने छैन । यसैले त सिद्धार्थले आपनो उद्योगमा नयाँ सोचको उद्यमशिलताको खाँचो देखेका हुन् । उनी आफ्नो उद्योग र आफ्ना उत्पादनका लागि निरन्तर लागिपरिरहने बताउँछन् ।

………..

नेपालमा बिस्कुटको बजार बढ्दो छ । तर, भारतबाट आयात भएर आउने छ्यास्छ्यास्ती बिस्कुटले बजारमा हस्तक्षेप गरेको छ । भारतबाट आउने सस्ता र गुणस्तरहिन मात्र नभएर ठूला कम्पनीका बिस्कुटहरूले नेपाली उत्पादनलाई ओझेलमा पार्ने गरेको छ । नेपालमा आउने भारतीय बिस्कुटहरू प्रायः सबै तस्करीको बाटोबाट आउने गरेका छन् । र, नेपाली उपभोक्ताहरू पनि नेपाली भन्दा भारतीय बिस्कुटहरू नै प्रयोग गर्ने गलत सँस्कृतिको आदि भएका छन् । यसलाई चिर्नु नेपाली बिस्कुट उद्योगीहरुका लागि ठूलो चुनौती हो ।

सिद्धार्थका अनुसार सरकारले अबैध रूपमा आयत हुने भारतीय बिस्कुटहरू मात्र नभएर बैध बाटोबाट आउने बिस्कुटहरूमा नियन्त्रण गर्न सकेमा नेपाली बिस्कुटको उत्पादनमा देशले अझै गति लिने उनको विश्वास छ । किनभने, देशमा बिस्कुटको बजार राम्रो छ । पहिलेभन्दा बिस्कुट उपभोग गर्ने उपभोक्ताहरू पनि बढ्दै गएका छन् ।

नेपाली बिस्कुट उद्योगीहरूलाई कच्चा पर्दाथको आयातमा पनि समस्या छ । चिनी र मैदा नेपालमै उपलव्ध भएपनि तेल, एसेन्सलगायतका कच्चा पर्दाथमा कर धेरै छ । आयतमा पनि झन्झट छ, सरकारले भन्सार सहजीकरण गरिदिएमा सहयोग पुग्ने सिद्धार्थ बताउँछन् । बिस्कुट उद्योग नेपाली कच्चा पर्दाथमै आधारित उद्योग हो यसैले बिस्कुट उद्योगलाई सरकारले उचित सब्सिटी दिनुपर्ने उनको माग छ ।

अनुमानित अध्यनअनुसार भारतबाट ४० प्रतिशतभन्दा बढी बिस्कुट नेपालमा गैरकानूनी मार्गबाट आउने गरेको छ । तर, नेपाली बिस्कुटहरू अझै सहज रूपखमा निर्यात हुन सकिरहेका छैनन् । जसोतसो भारतको बिहार र बंगाल सीमा क्षेत्रहरूमा नेपाली बिस्कुट र चाउचाउ निर्यात भैरहेको छ । सरकारले निर्यातलाई सुन्तुलित बनाउन सकेमा नेपाली बिस्कुट र नुडल्सहरू भारतमा वाईवाई चाउचाउ जस्तै फैलन सक्नेथिए । सिद्धार्थ आफनो उत्पादन क्वालिटीलाई यसैगरी देशमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा पनि बिस्तार गर्न चाहन्छन् । यसो भएमा नेपाली उद्यमीहरूसँगै नेपालको पनि ख्याती फैलन सक्नेछ ।

नेपालमा बिस्कुट उद्योगहरू नयाँ–नयाँ पनि खुल्दैछन । प्रतिस्पर्धा पनि बढ्दो छ । तर, भारतबाट आयात हुने बिस्कुट नियन्त्रण नभएसम्म नेपाली बिस्कुट उद्योग फस्टाउन गाह्रो हुने भएकोले सरकारले अबैध मात्र नभएर भारतबाट आयात हुने बिस्कुटलाई नियन्त्रण गर्न अति आवश्यक छ ।

………..

सिद्धार्थ राजनीतिलाई शासन गर्ने माध्यमका रूपमा लिएका छन् । यसैले युवाले समसामयिक राजनीतिबाट अलग्गै बस्नुपर्छ भन्ने पनि उनी मान्दैनन । तर, राजनीति बुझनु भन्नुको अर्थ सबै कारोवार छाडेर होमिनु भनेको उनले कदापी हैन । यसैले एउटा सक्रिय उद्यमीले सामाजिक कर्ममा जोडिएर सामाजिकीकरण हुनु आवश्यक भएको ठान्दछन् ।

समाजमा आफनो जनसम्पर्क जति बढाउन सक्यो उति नै उद्यमशिलतामा फाइदा पुग्ने उनको विश्वास छ । उनी भन्छन्, ‘एउटा व्यस्त उद्यमीले फेमिलीमा मात्र सीमित पनि हुनुहुँदैन सामाजिकरणका लागि आफूलाई रिप्लेस पनि गराउँदै लानुपर्छ ।’

स्वदेश फर्केर उद्यमशिलतामा लागेको छोटो समयमा समाजले ‘मार्क’ गरेकोमा युवा उद्यमी सिद्धार्थ उत्प्रेरित बनेका छन् । उनलाई सकारात्मक प्रशंसाले थप अगाडि बढन उर्जा थपेको छ रे । तर, प्रशंंसामा पुलकित भएर आफनो कर्मको गतिशिलतालाई चाँही छोड्न हुँदैन भन्नेमा उनी प्रष्ट छन् । आफ्नो स्वतन्त्र विचारले आफ्नो कारोवारलाई अगाडि बढाउन पाएकोमा उनी आफ्नो परिवारप्रति कृतज्ञ पनि छन् ।

………..

उद्यमी सिद्धार्थ आफनो देशलाई गाली गरेर विदेश भासिनुभन्दा फर्केर आफ्नै देशमा कर्म गर्नु उचित हुने नयाँ पुस्तालाई सन्देश दिन चाहन्छन् । उनी नेपाल जस्तो उद्यम गर्ने अवसरको क्षेत्र भएको देश सायदै अरु होलान भन्ने ठान्छन् । यहाँ अवसरै अवसर भएकोले उद्यम सुरु गर्नसकेमा भविष्य धेरै राम्रो हुने उनको भनाई छ । उनी भन्छन्, ‘हामी युवाले देशले केही दिएन भनेर भाग्नुभन्दा हामीले नै केही किन गरेनौँ भनेर स्वदेशमै उद्यम गर्न होमिनुपर्छ , अवसरको कमी छैन मात्र सोच र जाँगरको मात्र हो ।’

सिद्धार्थका अनुसार सायद यही मनोभावनालाई बुझेर पनि होला आजकल धेरै नयाँ पुस्ताहरू धमाधम आफ्नो देश फर्केर उद्यमशिल कर्ममा सक्रिय भइरहेका छन् । उनीसँगै विदेशमा पढेका धेरै नेपाली साथीहरू देशमा फर्केर उद्योग व्यापारमा सक्रिय भैरहेका छन् । कोही बाबु बाजेको बिरासतलाई सम्हाल्दैछ भने कोही होटल रेष्टुरेन्ट, अस्पताल, कृषि उद्योग आदिमा लागिपरेका छन् ।

सिद्धार्थलाई विश्वास छ, अबको पढेलेखेको पुस्ता पहिलेजस्तो अलमलिएर बरोजगार भएर बस्नैछैनन् । पक्कै केही न केही उद्यम गर्न लागिपर्नेछन् । यसैले पनि हो अब नेपालमा नयाँ सोचको उद्यमशिलता फष्टाएर जानेछ । जसले देशको औद्योगिक विकासमा नयाँ ढोका खोल्नेछ ।

प्रतिक्रिया

Loading...