fbpx

यो सिजनमा सगरमाथा आरोहणको अहिलेसम्मकै रेकर्ड तोडिदै


काठमाण्डौँ, बैशाख ९ ।

सगरमाथा आरोहण गर्न इतिहासमै पहिलो पटक ३७५ जनाले अनुमति लिएका छन् । यो वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न अनुमति लिनेको संख्या अहिलेसम्मकै बढि रहेको पर्यटन विभागले जनाएको छ ।

पर्यटन विभागका अनुसार यो वसन्त ऋतुमा सगरमाथा आरोहण गर्नका लागि ३७५ जना आरोहीहरूले अनुमति लिइसकेका छन्। अनुमति लिने क्रम अझै जारी भएको कारण यो संख्या अझै बढ्न सक्छ ।

सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीहरूको सङ्ख्या बर्सेनि बढ्दै गइरहेको अधिकारीहरूले बताएका छन्।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार सगरमाथामा यसअघि सन् २०१७ मा आरोहीहरूको धेरै भिड लागेको थियो। त्यतिबेला ३७२ जनाले आरोहण अनुमति लिएका थिए।

यसपटक सोमवारसम्म आरोहण अनुमति लिनेको सङ्ख्या ३७५ पुगिसकेको छ। उनीहरू पाँच नेपालीसहित ३८ टोलीमा आबद्ध छन्।

विभागका सूचना अधिकारी सुरेन्द्र थापाले आरोहीहरू आउने क्रम अझै जारी भएको भन्दै यो संख्या बढ्न सक्ने संकेत गरे । ू

यो वसन्त ऋतुमा सगरमाथा क्षेत्रमा सफाइको काम पनि चलिरहेको उनको भनाइ छ। त्यसका लागि अनुभवी शेर्पा आरोहीहरूसँगै नेपाली सेना पनि खटिइरहेको छ।

यो वसन्त ऋतुमा नेपालका झन्डै ३० हिमशिखर चढ्न करिब ८०० आरोहीले अनुमति लिएका छन्। यसपाला सगरमाथासँगै ल्होत्से, नुप्से, आमादब्लम र अन्य साना हिमाल आरोहणका लागि अनुमती लिनेको सङ्ख्या पनि बढेको छ।

सगरमाथापछि धेरै आरोहीहरूको भिड आमादब्लम हिमालमा लाग्ने देखिन्छ। त्यो शिखर चढ्नका लागि ४९ आरोहीले अनुमति लिइसकेका छन्।

अन्नपूर्ण प्रथम आरोहण गर्नका लागि २३ आरोहीले अनुमति पाएका छन्। तेस्रो ठूलो शिखर कन्चनजङ्घा आरोहणका लागि ३२ आरोहीले अनुमति लिइसकेका छन्।

हेलिकोप्टहरूको भिड बढ्न सक्ने सम्भावनालाई विचार गरेर हेलिप्याड राख्ने ठाउँ समेत निर्धारण गरिएको छ। आरोहणको अनुगमन र व्यवस्थापन गर्न सघाउन विभागले सबै टोलीसँग सम्पर्क अधिकृतहरू पनि खटाइसकेको छ। विभागमा अनुसार सगरमाथा क्षेत्रमा मात्र ३३ जना अधिकृत खटाइएको छ।

प्रतिक्रिया

Loading...