fbpx

राष्ट्रपतिको भ्रमणले नेपाल–चीन सम्बन्ध नयाँ उचाईमा पुग्छ : मन्त्री ज्ञवाली

काठमाडौं, बैशाख ९ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैशाख ११ गतेबाट सुरु हुने राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक राजकीय चीन भ्रमणपछि नेपाल–चीन द्धिपक्षीय सम्बन्ध नयाँ उचाईमा पुग्ने विश्वास ब्यक्त गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको चीन भ्रमणलाई नेपाल सरकारले विशेष महत्व दिएको स्पष्ट पारे । उनले भने,‘उहाँको भ्रमणपछि नेपाल र चीनबीचको द्धिपक्षीय सम्बन्ध थप नयाँ उचाईमा पुग्छ ।’

उनले अघि थपे,‘राष्ट्रपतिको यो भ्रमणले सदियौंदेखि रहँदै आएको नेपाल–चीन सौहार्दपूर्ण सम्बन्धलाई अझै प्रगाढ बनाउने छ । चीनको विकाससँग नेपालको विकासलाई जोड्ने विभिन्न माध्यम र उपायहरुको खोजी गर्नेछ ।’

साक्षात्कारमा बोल्दै मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीले भ्रमणको दौरान दुईपटक सम्बोधन गर्ने कार्यक्रम रहेको पनि सुनाए । उनले भने,‘बेल्ट एण्ड रोड ईनिसिएटिभ फोरम, जहाँ सयभन्दा बढि राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु सहभागी हुन्छन्, त्यसमा उहाँले दुईपटक सम्बोधन गर्नुहुनेछ । पहिलो उहाँले उद्धघाट्न सत्रमा उच्चस्तरीय भेलामा सम्बोधन गर्नुहुनेछ, र दोस्रो चिनियाँ राष्ट्रपति सि जिनपिङले सञ्चालन गर्ने राउण्ड टेबलमा सम्बोधन गर्नुहुनेछ ।’

मन्त्री ज्ञवालीले अप्रिल २९ तारिखमा चिनियाँ राष्ट्रपतिसँग द्धिपक्षीय औपचारिक वार्ता गर्ने र त्यही दिन विभिन्न सन्धी, सम्झौता तथा प्रोटोकलमा हस्ताक्षर गर्नेपनि जनाए ।  उनले राष्ट्रपति भण्डारीले चीनको स्वायत्त क्षेत्र तिब्बतको ल्हासाको पनि भ्रमण गर्ने कार्यक्रम रहेको र भ्रमणको दौरान प्रान्तीय गभर्नरसँग भेटवार्ता गर्नेपनि जनाए ।

राष्ट्रपति भण्डारीको भ्रमण र भेटवार्ताले नेपाल–चीन सम्बन्ध अझै उचाईमा बढाउने विश्वास रहेको पनि मन्त्री ज्ञवालीले सुनाए ।
त्यस्तै, उनले नेपाल–चीन सम्बन्धमा अहिले कुनै समस्या नरहेको जिकिर गरे । चीनसँग जोडिएर नेपालले जसरी लाभ लिनुपर्ने थियो त्यो भने लिन नसकेको विगत मन्त्री ज्ञवालीले कोट्याए ।

आफू यसअघि चीन भ्रमणमा जाँदा चिनियाँ समकक्षीसँगको भेटवार्तामा नै नेपाल–चीन विकासको ‘फ्रेमवर्क’ तय भैसकेको पनि ज्ञवालीले सुनाए । उक्त ‘ट्रान्स हिमालयन मल्टि–डाईमेन्शनल कनेक्टिभिटी नेटवर्क’ अन्तर्गत सिमा वारपार रेल, सडकहरु, बन्दरगाहाहरु, हवाई यातायात, सूचना प्रविधिलगायत थुप्रै विषयहरु पर्ने उनले सुनाए ।

उनले आफूहरुले अघि सारेका सबै योजनाहरु र त्यसभित्र केरुङ–काठमाडौं रेल उच्च प्राथमिकतामा रहेको सुनाए । त्यस्तै, कोशी, कालगण्डकी र कर्णाली आर्थिक कोरिडोर जसभित्र सडक र विभिन्न उत्पादनका पकेटहरु र त्यहाँको जनताको जीवनस्तर माथि उठाउने कुराहरुलाई पनि आफूहरुले अगाडि बढाएको मन्त्री ज्ञवालीले विश्वास दिलाए ।

राष्ट्रपति भण्डारीको यो भ्रमणमा चीनसँग सन् २०१६ मा भएको यातायात पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर गर्न लागेको पनि मन्त्री ज्ञवालीले जानकारी दिए । उनले भने,‘त्यो प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपालका उत्तरी नाकाहरु उपयोग गरेर चीनको जुनसुकै बाटो प्रयोग गरेरपनि हामीले चीनका चारवटा समुन्द्री बन्दरगाह र तीन वटा सुख्खा बन्दरगाहा प्रयोग गर्न पाउने सुविधा प्राप्त गर्नेछौं ।’

मन्त्री ज्ञवालीले आगामी मे महिनामा तातोपानी नाका खुल्ने जानकारी गराए । आफूहरुको मुख्य विदेश नीति नै सबैसँग मित्रभाव राख्ने र कसैसँग पनि वैरभाव नराख्ने रहेको सुनाउँदै मन्त्री ज्ञवालीले भने,‘हामी कुनै क्याम्पमा छैनौं । हामी कुनै एक कित्तामा उभिएर अर्को कित्तालाई असर पार्नेगरि हाम्रा विदेश नीतिलाई सञ्चालन गर्दैनौं । हामी सन्तुलित र सबैसँग मित्रतापूर्ण सम्बन्ध अघि बढाउँछौं ।’

मन्त्री ज्ञवालीले आफ्नो १३ महिने कार्यकालमा नेपालको बाहृय सम्बन्धलाई नेपालको राष्ट्रिय हित हुनेगरि अझै बढि अनुकुल बनाउन र नेपालले तय गरेको विकासको परिकल्पनालाई सघाउन अनुकुल अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण गर्न सक्दो प्रयत्न गरेको सुनाए ।

फरक प्रसँगमा उनले विप्लव समूहप्रति लक्षित गर्दै यथाशक्य चाँडो हिंसा परित्याग गरि शान्ति प्रकृयामा आउन आग्रह गरे । उनले भने,‘हामी उहाँहरुलाई स्वागत गर्न तयार छौं । तर, हिंसा स्विकार्दैनौं ।’

प्रतिक्रिया

Loading...