fbpx

नेपाली स्याटलाइट अन्तरिक्ष केन्द्रमा सफलतापूर्वक जोडियो

काठमाडौं,

अन्तरिक्ष केन्द्रमा प्रक्षेपण गरिएको नेपालको आफ्नै स्याटालाइट पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा सफलतापूर्वक जोडिएको छ । ‘नेपाली स्याटलाइट वान’ नाम दिइएको उक्त स्याटालाइट अन्तरिक्ष केन्द्रमा जोड्ने काम सफलतापूर्वक सम्पन्न भएको हो ।

ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले उक्त कुराको जानकारी दिएको हो । सो स्याटलाईट वान पृथ्वीको सतहबाट ४ सय किलोमिटर उचाईमा रहेको पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको नाष्टले जनाएको छ ।

जापानमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिकद्धय आभास मास्के र इन्जिनियर हरिराम श्रेष्ठले निर्माण गरेको सो नेपाली स्याटेलाइट गत बैसाख ५ गते नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा अमेरिकाको भर्जिनियास्थित नासाको रकेट प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि पठाइएको थियो ।

सो स्याटलाइट ३६ घण्टा ४० मिनेटपछि बैसाख ६ गते नेपाली समयअनुसार दिउँसो ३ बजेर १३ मिनेट जाँदा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिन सफल भएको नाष्टका प्रवक्ता डा सुरेशकुमार ढुंगेलले जानकारी दिए । अबको करिब डेढ महिनापछि सो नेपाली स्याटलाइटले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्नुका साथै प्रतिष्ठानमा निर्माण गर्न लागिएको ग्राउन्ड स्टेसनमा समेत सम्पर्क स्थापित गर्नेछ ।

नाष्टले सो नेपाली स्याटलाईट अन्तरिक्षमा प्रक्षेपणका लागि करिब २ करोड लाग्ने अनुमान पनि गरेको छ । नाष्टका प्रवक्ता ढुंगेलले उक्त रकम अर्थ मन्त्रालयबाट प्राप्त भईसकेको पनि जानकारी दिए । विपद् व्यवस्थापन, ग्रामिण भेगमा सूचना प्रविधिको विकासमा समेत उपयोगी हुने भएपछि नेपालले आफ्नै स्याटलाईट अन्तरिक्षमा पठाएको हो ।

Koshi Online

FREE
VIEW