fbpx

प्रचण्ड भन्छन्, ‘पार्टी एकताको फलामे ढोका फोडियो’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘पार्टी एकताको फलामे ढोका फोडेको’ टिप्पणी गरेका छन् । सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा नेकपाको स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरका आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले एकताको मुख्य गाँठो जिल्लाको नेतृत्व चयनमै भएको स्वीकार गरे । उनले भने, ‘हामीले फलामे ढोका फोडेका छौँ । गाँठो त्यहीँ परेको थियो । मुख्य गाँठो फुक्यो । अब अरु सजिलै फुक्छ ।’

केन्द्रमा पार्टी एकता भए पनि जिल्ला र जनवर्गीय संगठनको एकता फलामे ढोका भएको उनको भनाइ थियो । उनले भने, ‘पार्टी एकतालाई अन्तिम रुप दिन फलामे ढोका बाँकी थियो हामीले त्यसलाई फोर्दिएका छौँ । एकता अव टुंगोमा पुगेको छ, ढिला भएकोमा क्षमा चाहन्छौँ । ’

एकतामा ढिलाई हुँदा थप अफ्ठ्याराहरु आएको भन्दै उनले त्यसको अन्त्यका लागि आफूहरु पनि एकता गर्दाको अवस्थामै फर्किएको बताए । उनले एकता राम्रो बनाउने भनेर कार्यदल बनाएर अगाडि बढे पनि त्यो सफल नभएको बताए ।

‘यो कुरा सजिलो थिएन,’ उनले भने, ‘अब नेतृत्वले गौरवका साथ तपाईँहरूलाई बधाई पनि दिन्छ र ढिला भएकोमा क्षमा पनि माग्छ ।’ पार्टी एकता विभिन्न अफ्ठ्यारा झेल्दै अन्तिम अवस्थामा आएको बताएका छन् । पार्टी एकताका सबै बाधा र अफ्ठ्यारा अन्त्य गर्दै जिल्ला तहसम्मको एकता टुंग्याएको बताएका छन् ।

प्रतिक्रिया

Loading...