fbpx

‘डेल्टाले देश चिनाउने चाहना छ’ : एकता गोल्छा

एकता गोल्छा, प्रबन्ध निर्देशक, डेल्टा कम्पनी प्रालि

मैले स्कुले शिक्षा विराटनगरको डिएपी स्कुलबाट सकाएँ । त्यसपछि चार वर्ष भारतमा पढेँ । भारतको पढाइ सकेपछि यूकेको वारबिक युनिभर्सिटीमा म्याथमेटिक्स पढे र अक्सफोर्ड युनिभर्सिटीमा थप ३ वर्ष पढेर एमएससी सकेँ ।

मेरो विषय ‘म्याथमेडिकल कम्पुटसनल फाइनान्स’ हो । पढाइपछि व्यवहारिक ज्ञान हासिल गर्नु अति आवश्यक हुन्छ । यसैले मैले भारतको एक प्रसिद्ध आईटी कम्पनीमा दुई वर्ष नोकरी गरे । त्यहाँ धेरै व्यवहारिक कुराहरू सिक्ने अवसर प्राप्त भयो ।

……

मेरो सिंगो परिवार नेपालमै बसोवास गरिहेको थियो । म सदस्य भएको गोल्छा परिवार नेपालकै प्रतिष्ठित औद्योगिक घराना हो । नेपालको उद्योग व्यापारलाई अगाडि बढाउन मेरो परिवारले धेरै सहयोग पुर्याएको मैले बुझेको थिएँ । तर, मेरो देशको औद्योगिक विकासदेखि म पूर्ण सन्तुष्ट हुन सकेको थिइँन । किनभने, अझै देशले धेरै गर्नु थियो । यसैले मैले पनि आफनै देश फर्केर केही न केही गर्नुपर्छ भन्ने सोच बनाएँ । उसो त मेरो बाबा राजकुमार गोल्छा मात्र नभएर सिंगो घराना नै नेपालको उद्योग व्यापारमै समर्पित भैरहनुभएको छ ।

म पढाइ सकेर सन २०१६ मा आफ्नै देश नेपाल फर्केँ । विदेशमा पढ्न गएका हामी नयाँ पुस्ताले केही नयाँ सृजना गरेर देशको उद्यमशिलता बढाउन सहयोग गर्नुपर्छ भन्ने चाहना थियो । यसैले मैले बुबाहरूले गरिरहेको उद्योगको पुरानो बिरासतलाई सम्हाल्ने भन्दा पनि आफ्नै नयाँ केही गरौँ भन्ने ठाने । यसैले मैले आफ्नो पढाइ र रुचि अनुकुलको ‘डेल्टाटेक’ नामको आईटी कम्पनी खोलर संचालन गर्न थाले ।

……

सुरुमा मैले डेल्डाटेकलाई सर्भिस प्रोभाईडर कम्पनीका रुपमा चलाएँ । तर, चाँडै नै कम्पनीले गति लियो र अझै लिइरहेको छ । अहिले हामी विश्वप्रसिद्ध टेक्नोलोजी ‘एसएएसएस’ सँग जोडिएर सफ्टवेयर निर्माणमा पनि जुटिसकेका छौँ । बिजनेश राम्रो छ ।

नेपालमा मात्र नभएर बिदेशमा पनि हाम्रा ग्राहकहरू बढिरहेका छन् । बिजनेश बिस्तार हुँदै गएपछि हामीले आफ्नो कार्यक्षेत्र पनि फैलाउन थालेका छौँ । अब हामी सर्भिस प्राभाईडर मात्र होइन, टेक्नोलोजी निर्माता पनि बन्दै गइरहेका छौँ । हामीले कम्पनीमा दक्ष जनशक्ति धमाधम थपिरहेका छौँ भने ल्याव र बजार प्रबन्धलाई पनि व्यवस्थित गर्दै लादैछौँ ।

……

धेरैले मलाई सोध्छन्, बुवाको त्यत्रो जुट उद्योग सम्हाल्न छाडेर तँ किन नयाँ बिजनेशमा जोखिम मोलेर आएकी हँ ?, तर मलाई जोखिम मोल्नमै मज्जा लाग्छ । किनभने ‘रिस्क’ बिना उपलव्धि पनि सोचे जस्तो हुँदैन । म सानैदेखि केही न केही नयाँ गर्नुपर्छ भन्ने मान्यता राख्ने मानिस । यसैले बिजनेश पनि केही नयाँ नै गरौ भन्ने लाग्यो । परम्परातगत बिजनेश त बाबाहरूले गरिहनु भएको छ नि, जब पुरानो बिजनेश चलिरहेको छ जमिरहेको छ, बहिनी कोमल गोल्छाले पनि सघाइरहेकी छन् भने म किन त्यसैमा सीमित हुन पुग्ने र पुरानै काममा नयाँ जनशक्तिको नयाँ दिमाग र उर्जा किन त्यही मात्र खर्च गर्ने ?

यसैले मैले जोखिम मोलेर भएपनि आफ्नै आईटी कम्पनीमा हात हालेको हुँ । मलाई थाहा छ आईटी सेक्टर भनेको बिजनेशका लागि महासागर हो । यहाँ सफल हुन सकिएन भने डुबेल बिलाउन पनि सकिन्छ तर पौडन सकियो भने यसको भविष्य धेरै फराकिलो छ सँसारभर फैलन सकिन्छ । र, मलाई बिश्वास छ, धैर्यतासाथ जोखिम मोलेर नयाँ गर्न चाहनेहरूले यो क्षेत्रमा धेरै नयाँ गरेर देखाउन सक्छन् र म पनि अवश्य सफल हुनेछु । भलै म अहिले समुन्द्रमा पुगिसकेको छैन कुवाबाट भर्खर खोलामा मात्र निस्कन भ्याएकी छु ।

……

मैले सुरु गरेको बिजनेशमा पैसा विदेश पठाउन धेरै समस्या छ । पहिले त ल्याउन पनि समस्या थियो । तर, अहिले गेटबे बनिसकेकोले ल्याउन समस्या छैन । तर, पठाउन भने अझै सहज छैन । जबसम्म बिजनेशमा पैसा लेनदेन सहज हुँदैन तबसम्म हाम्रो बिजनेश फस्टाउन गाह्रो हुन्छ ।

बैंकमा कार्ड सिस्टम सहज भैदियो भने राम्रो हुन्छ । कम्पनीको नाममा कार्ड बन्यो भने पैसा लेनलेनको समस्या सुझिन्छ । यसैले सरकारले हाम्रो बिजनेशलाई सहयोग गर्नका लागि बैंक प्रमोसन सहज बनाइदिनुपर्छ । अर्कोचाहिँ सरकारले देशमा शिक्षाको लेबल बढाउनुपर्छ । जति–जति देशमा एजुकेशनको लेबल बढ्दै जान्छ, उति–उति आधुनिक प्रविधि प्रयोग गर्नेहरू बढदै जान्छन् र समाज प्रविधिमैत्री बन्दै जान्छ ।

……

पहिले त मलाई लाग्थ्यो नेपालमा आइटी कम्पनीहरू एक दमै थोरै होलान् । तर व्यवसायमा छिरिसकेपछि थाहा भयो प्रतिस्पर्धा एकदमै चर्को रहेछ । यसैले सबैसँगको प्रतिस्पर्धामा अब्बल उत्रिएर नेपालको आइटी बिजनेशमा आफ्नो खास पहिचान बनाउने मेरो सपना हो । त्यसका लागि मैले अलरेडि प्लानिङग पनि गरिसकेको छु । र, आगामी दिनमा म क्रमशः सोही प्लानिङगअनुसार अगाडि बढ्दै जान्छु ।

अर्को, नेपालमा एजुकेशनको लेबल धेरै तल भएकोले अझै धेरैले टेक्नोलोजी प्रयोग गर्ने गरेका छैनन् । धेरैलाई टेक्नोलोजी भनेको झन्झट हो र खर्चिलो हुन्छ भन्ने गलत बुझाई छ । यो गलत धारणालाई हटाउनु पनि चुनौती हो । किनभने, टेक्नोलोजीले जीवन झन्झिटीलो हैन झन सहज बनाउँछ । खर्चिलो हैन मितव्यायी हुन्छ र समयको बचत पनि गराउँछ ।

जब मानिसहरूको एजुकेशन लेबल बढदै जान्छ धेरैभन्दा धेरैले यसको महत्त्वलाई बुझ्नेछन् र नयाँ–नयाँ टेक्नोलोजीको प्रयोगमा दक्ष हुँदै जानेछन् । अनि मेरो सपना पनि सकार हुँदै जानेछ ।

……

जब म विदेशमा पढेर आफ्नै देश फर्किएँ, तब धेरैले मलाई अज्ञानी पनि भने । किनकी, हामीलाई विदेशमा पनि धेरै अफर थियो । हामीले विदेशमै बसेर पनि बिजनेश सुरु गर्न सक्थ्यौँ । धेरै पैसा कमाउन सक्थ्यौँ । उसै पनि नेपालको लामो शसस्त्र द्वन्द्व, र राजनैतिक अस्थिरताले देशलाई समस्यामा पारेको र उद्योग धन्दाहरू रुग्ण बनाउँदै लगेको, उद्योगीहरू धरासायी बनेको र उद्यमशिलता पलायन भैरहेको हामीले प्रत्यक्ष देखेका थियौँ ।

धेरै नयाँ पुस्ताहरू आज नेपालमा किन बस्ने अवसरै छैन, भनेर पलायन पनि भए । तर, हामीले पलायन हुने सोच कहिल्यै बनाएनौँ । मलाई लाग्छ हाम्रो देश नेपाल उद्यमशिलताका लागि अवसरै–अवसर भएको देश हो । यहाँ पनि केही गर्न नसक्नेले अन्त गएर केही गर्न सक्दैन ।

फेरि, हामी नयाँ सोच बोकेका सृजनशिल युवाहरूले आफ्नो देशका लागि केही नगरे अरु कस्ले गरिदिन्छ र । यसैले मैले अहिले नै केही गर्नुपर्छ भनेर जोखिम मोलेरै भएपनि आफ्नो देश फर्केर आफनै सफ्टवेयर कम्पनी सुरु गरेको हुँ ।

……

उसो त हाम्रो समुदायबाट बिजनेशमा पहिचान बनाएका महिलाहरू एकदमै थोरै छन् । त्यो परम्रागत समयको प्रभावले होला । अगाडिको महिला पुस्ता पुरुषलाई सघाउने र समाजसेवामा समर्पित हुन बाध्य भयो । तर, अहिले नयाँ पुस्ता त्यत्तिमा मात्र सीमित छैन । हामी जस्ता धेरै नयाँ युवाहरू अगाडि आइरहेका छन ।

हाम्रो परिवारबाट पनि म, मेरी बहिनी कोमल, ठूलो बुवा महेन्द्रकी छोरी युक्ति, काका सुरेन्द्रका छोरी अनुज्ञासहित हामी सबै बिजनेशमा होमिइसकेका छौँ । हामी सबै स्वतन्त्र छौँ । कुनै छेकवार छैन । परिवारबाट पनि हामीलाई फुल सर्पोट छ । तर, हामीहरु अहिले परीक्षाको घडीमा छौँ । र, विश्वास छ, हामी सफल भएर आफ्नो पहिचान आफैँ बनाउन सफल हुनेछौँ ।

मलाई लाग्छ बिस्तारै–बिस्तारै हामी जस्तै अरु पनि नयाँ पुस्ताका महिलाहरू हामीसँग हातेमालो गर्न आउनेछन् र नेपालमा घरानियाँ महिलाहरूले पनि उद्योग व्यपारमा आफ्नो पहिचान बनाउन सफल भएको कथाहरू प्रसस्त सुनिने लेखिने र पढिनेछन् ।

……

धेरैलाई लागेको होला एक त अल्पसंख्यक मारवाडी समुदायको अनि त्यसमा पनि महिलाले के गरेर देखाउन सक्ली र भन्ने । तर, मेरो आत्मविश्वासले होला मैले छोटो समयमै आफ्नो बिजनेशलाई चिनाउन सफल हुँदै गइरहेको छु । धेरैले हाम्रो कम्पनी ‘डेल्टाटेक’ सँग सम्बन्ध बढाउन थालेका छन् । यसले मलाई धेरै हौस्याएको छ । तर, म आत्तिने, पात्तिने, मात्तिने खालकी केटी हैन । यसैले समस्यासँगै प्रशंसालाई पनि इजि मानेर म अगाडि बढिरहेको छु । म एउटा असल उद्यमीले कहिल्यै हार मान्नु हुँदैन निरन्तर लागिपरिरहनुपर्छ, उपलव्धि एकदिन न एकदिन अवश्य हासिल हुन्छ भन्ने मान्यतामा बिश्वास गर्छु । र, एउटा युवा महिला उद्यमी भएको नाताले अरुलाई पनि धैर्य राखेर आफ्नो लक्ष्यमा आगाडि बढ्न आग्रह गर्दछु । किनभने जीवनमा असम्भव भन्ने कुनै कुरै हुँदैन, मात्र धेर्यतासाथ गर्ने कार्यको मात्र खाँचो हुन्छ ।

……

म, सक्रिय उद्यमीहरू आफ्नो बिजनेशमा मात्र खुम्चिएर बस्नुपर्छ भन्दिन । उद्योगी व्यापारी जो भएपनि उ जति सोसियल हुन्छ उति आफ्नो बिजनेशसँगै आफ्नो पहिचानलाई पनि बिस्तार गर्न सफल हुन्छ ।

अर्को, आफनो बिजनेशको एकता र अधिकारका लागि पनि सामाजिक संगठन र संस्थाहरूमा आवद्ध हुन आवश्यक छ । जसले समसामयिक समाजलाई बुझ्न र सोही अनुसार परिचालन हुन पनि सहयोग पुर्याउँछ भन्ने मान्यतामा म विश्वास गर्छु । यसैले म आफ्नो समुदायका मात्र नभएर देशका सबै महिला उद्यमीहरूलाई भन्न चाहन्छु, ‘हामीले सकुचित भावना त्यागेर बढीभन्दा फैलने प्रयास गर्नुपर्छ ।’

……

मेरो आफ्नो नीजि कुनै गनतव्य छैन । तर म हाम्रो ‘डेल्टाटेक’ कम्पनीका लागि भने धेरै आशाबादी छु । एक दिन ‘डेल्टाटेक’ नेपालको मात्र नभएर अन्तर्राष्ट्रिय तहमा पनि प्रसिद्ध हुनेछ । र, म डेल्टाको मद्दतले आफ्नो देशलाई चिनाउन सफल हुनेछु । मलाई बिश्वास छ, ‘मेरो आत्मबिश्वास र धैर्यशाली कर्मले त्यो एक दिन अवश्य आउने छ ।’

प्रतिक्रिया

6 − 3 =

Loading...