fbpx

नेपालको इतिहासमै पहिलोपटक उच्च आर्थिक वृद्धिदर हासिल भयो : गभर्नर नेपाल

विराटनगर

नेपाल राष्ट्र बैंकका गर्भनर डाक्टर चिरञ्जिवी नेपालले नेपालको इतिहासमा पहिलो पटक उच्च आर्थिक बृद्धि दर हासिल भएको बताएका छन् । विराटनगर–३ स्थित नेरुडे लघुबित्त वित्तिय संस्था लिमिटेडको नवनिर्मित भवनको आज विराटनगरमा उदघाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संविधान, स्थायी सरकार, लोडसेडिङमुक्त लगायतका सकारात्मक अवस्थाका कारण आर्थिक गतिविधि बढेको बताए । उनले सकारात्मक परिस्थितिहरूमा आर्थिक गतिविधि बढेसँगै तेश्रो पटक ६ प्रतिशतभन्दा माथिको उच्च आर्थिक बृद्धि दर हासिल गर्न सकिएको बताए ।

गर्भनर नेपालले बैंक तथा वित्तिय संस्था पब्लिक प्रोपर्टी भएकाले नाफा खाने नाममा आफुखुशी गर्न नपाइने समेत बताए । उनले बढी नाफा खाने उद्देश्यले ब्यापार गर्ने भए अरु धेरै क्षेत्र खुला रहेको बताउँदै जनताको पैसा लिएर बैंक तथा वित्तिय संस्थाहरूले जनताको विश्वास विपरीतको गतिविधि गर्न नहुने प्रष्ट पारे ।

गर्भनर नेपालले अहिले पनि देशको कूल जनसंख्याको ५५ प्रतिशत मानिस कुनैपनि बैंक तथा वित्तिय संस्थामा आबद्ध हुन नसकेको बताउँदै २० प्रतिशत युवाहरुको अझपनि खल्तीमैं पैसा राख्ने बानी रहेको बताए ।

सो अवसरमा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र मोरङ ब्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बैंक तथा वित्तिय संस्थाले मनमौजी ढंगले अत्यधिक ब्याज लिइरहेका कारण उद्योगी तथा ब्यवसायी र बैंकबीच फाटोको अवस्था रहेको बताए । त्यस्तो अवस्था अन्त्य गर्नुपर्ने उनीहरूको भनाई थियो ।

यसअघि गर्भनर नेपालले नेरुडेको नवनिर्मित भवनको उद्घाटन गरेका थिए । नेरुडेले विराटनगर–३ मा केन्द्रीय कार्यालय राख्ने प्रयोजनले ३ करोड ११ लाख बढी रकममा सुविधा सम्पन्न भवन निर्माण गरेको छ ।

प्रतिक्रिया

Loading...