fbpx

विद्यार्थीमाथि बिभेद गरेको र सुकुम्बासी समस्या समाधान गर्न चासो नदिएको सांसदहरुको आरोप


विराटनगर ३ बैशाख ।

एक नम्बर प्रदेश साभामा सांसदले सामुदायिक विद्यालयहरुको पठनपाठनमा बढ्दो बिभेद अन्त्य गर्न प्रदेश र संघीय सरकारसँग माग गरेका छन् ।

एक नम्बर प्रदेश सभाको मंगलबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले सामुदायिक विद्यालयहरुमा हुनेखाने र हुँदा खान पाउने विद्यार्थीहरु बीच बिभेद बढ्न थालेको भन्दै अन्त्य गर्न संघ र प्रदेश सरकारसँग माग गरेका हुन् ।

सांसद कार्कीले सरकारी सेवा सुबिधा लिएका सामुदायिक विद्यालयहरुले चर्को शुल्क लिएर अंग्रेजी माध्यममा विद्यार्थी भर्ना गराएर बसमा चढाएर विद्यालय र घर लाने ल्याउने गरेको तर त्यही विद्यालयमा पैसा नहुने विद्यार्थीहरुले नेपाली माध्यममा पढ्नुपर्ने र हिँडेर विद्यालय र घर आउजाउ गर्नुपर्ने अवस्था रहेको भन्दै सभामा जानकारी गराए ।

उनले एउटै विद्यालयमा पढने विद्यार्थीहरु कोही सुकिलामुकिला बनेर बसमा चढेर आउजाउ गर्ने र अग्रेजी माध्यममा पढने तर पैसा नहुनेले पैदल हिँडेर धुलोमैलो बनेर आउजाउ गरि नेपाली माध्यममा पढनुपर्ने अबस्थाले देशको सामुदायिक विद्यालयमा रहेको बिभेद छर्लङ्ग भएको बताए ।

सभामुखमार्फत बिभेदकारी नीति तुरुन्त अन्त्य गरेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा एकरुपता ल्याउन माग गर्दै सांसद कार्कीले सभामा संघ र प्रदेश सरकारलाई भने , — ‘सरकारले संचालन गरेका विद्यालयहरुमा यसरी दोहोरो मापदण्ड कायम राख्दा पैसा नहुने अभिभावक र विद्यार्र्थीको मनस्थिती कस्तो हुन्छ होला र यस्तो बिभेदलाई राज्यले टुलुटुलु हेरिरहन मिल्छ त ?

विराटनगरमा संचालन भैरहेका आर्दश, सत्यनारायण, पोखरिया, गोग्राहा लगायतका सामुदायिक विद्यालयहरुले शुल्क लिएर विद्यार्थी भर्ना गरेर अंग्रेजी माध्यम पढाउने गरेका छन् ।

अंग्रेजी माध्यममा पढनेहरुले आउजाउ गर्न यातायातको सुबिधा पनि पाउने गरेका छन् । तर सोही विद्यालयमा निशुल्क पढनेहरुलाई चाँही नेपाली माध्यममा पढ्नुपर्ने बाध्यता छ भने यातायात सुबिधा पाउने गरेका छैनन् ।

दोहोरो मापदण्ड लागू गर्ने क्रम बढदो भएकोले बिस्तारै सामुदायिक विद्यालयहरु नीजि विद्यालय झै पैसामुखी बन्न थालेको गुनासो बढ्न थालेको छ ।

अर्कोतिर सरकारी सेवा सुबिधा लिने शिक्षकहरुले शुल्क लिएर पढने विद्यार्थीहरुलाई चासो दिएर पढाउने भएको शैक्षिक गुणस्तर राम्रो हुने तर नेपाली माध्यममा पढने विद्यार्थीलाई बेवास्ता गर्दा सुधार हुनुको साटो झन खस्कदै गएको पाईन्छ ।

सुकुम्बारी समस्यामा सरकार मौन रहेको आरोप

यसैगरि एक नम्बर प्रदेश सभामा काँग्रेसकै सांसद सुयर्माराज राईले सरकारले दिगो रुपमा सुकुम्बासी समस्या समाधान गर्न गरेको प्रतिबद्धताको वेवास्ता गरेको आरोप लगाएका छन् ।

नेपाली काँग्रेसका संसदीय दलका सचेतक समेत रहेका सांसद राईले नीति कार्यक्रममा सबैखाले सुकुम्बासी समस्या अन्त्य गर्ने घोषणा गरेपनि ब्यवहारिक रुपमा कार्यान्वयन नभएको गुनासो गरे ।

प्रदेश सभाको बैठकमा बोल्दै उनले दोहोरो भुस्वामित्व भएका र नभएका सबै खाले सुकुम्बासीहरुको समस्या समाधान गर्न चाँडै बिशेष आयोग गठन गरेर परिचालन गर्न सरकारसँग आग्रह गरे ।

सांसद सुयर्माले भने , —‘जति कुरा उठाए पनि सरकार सधै कानमा तेल हाले झै नबसोस् आप्mनो नीति कार्यक्रम व्यवहारिक रुपमा कायन्वयन गरोस् ।’

प्रतिक्रिया

Loading...