fbpx

भ्रमण वर्षको पहिलो दिन ‘गाँजाहिल’ नयाँ पदमार्ग अध्ययन गर्ने घोषणा

धादिङ,
महाभारत पर्वत श्रृङ्खलाअन्तर्गत धादिङ र मकवानपुरको सीमा क्षेत्रमा रहेको झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै नयाँ पदमार्ग अध्ययनको घोषणा गरिएको छ ।

नयाँ वर्षको पहिलो दिन बैशाख १ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेलद्वारा थाक्रे गाउँपालिका वडा नं. ३ मा रहेको झण्डाचुलीको चुचुरोमा झण्डोत्तलन गर्दै १५ मिटर अग्लो पोलमा नेपालको राष्ट्रिय झण्डा स्थापना गरिएको हो ।

पर्यटनको प्रच्युर सम्भावना बोकेको भूमिचुली क्षेत्रको सबै भन्दाअग्लो झण्डाचुलीमा २०३२ सालतिर नेपालको राष्ट्रिय झण्डा गाडिएको थियो । इतिहासलाई स्मरण गर्दै पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले भूमिचुली क्षेत्र पर्यटन प्रवद्र्धन नागरिक अभियानको आयोजनामा झण्डा स्थापना गरिएको हो ।

मकवानपुरको थाहा नगरपालिका, धादिङको थाक्रे र गल्छी गाउँपालिकाको संगमस्थल झण्डाचुलीलाई केन्द्रित गरी एकीकृत पर्यटन पूर्वाधार निर्माण गर्न आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कंडेलले बताए ।

ऐतिहासिक, प्राकृतिक, धार्मिक, साँस्कृतिक महत्व बोकेको यस क्षेत्रमा एकीकृत पर्यटन पूर्वाधार निर्माण गर्दा छिटो समृद्धि हासिल हुने भएकाले आफूले यस क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले भने, ‘सरकारले अगाडि बढाएको समृद्ध नेपाल सुखी नेपाली अभियान सार्थक बनाउन मूल संवाहकको रुपमा पर्यटनलाई महत्वपूर्ण अंगको रुपमा लिएका छौं ।’

आदिबासी जनजाती तामाङ र चेपाङको बसोबास रहेको यस क्षेत्रमा नयाँ पदमार्ग खोल्न यहीँ वर्ष अध्ययन हुने उनले बताए । ‘यसअघि हिमाली क्षेत्र मात्र थियो,’ उनले भने, ‘महाभारत क्षेत्र पर्यटनका लागि खोलिएको थिएन । यो मार्ग नयाँप्रयोग पनि हुन्छ । यो काठमाडौं, नारायणगढ र हेटौंडाको बीचमा परेकाले यसको सम्भावना धेरै छ । यस क्षेत्रमा बस्ने तामाङ र चेपाङ जातिको उत्थानका लागि पनि यस मार्गले ठूलो भूमिका खेल्छ ।’

पाँच वटा स्थानीयतहलाई जोड्न तत्काल सडक निर्माण गर्नु पर्ने भएकाले प्रदेश सरकारसँग यसलाई प्राथमिकतामा राख्न अनुरोध गर्ने उनले बताए । उनले विकासका लागि स्थानीयलाई कस्सिएर लाग्न अनुरोध गरे ।

नाम गाँजापदमार्ग (मारिजोना ट्रेकिङ ट्रायल) राखौं : त्रिपाठी

कार्यक्रमका विशेष अतिथि धादिङ क्षेत्र नं. १ का सांसद भूमि त्रिपाठीले यस क्षेत्र हुँदै अध्ययनगर्न लागिएको चनद्रागिरी चेपाङ हिलपदमार्गलाई गाँजा ट्रेकिङ ट्रायल नाम राख्न प्रस्ताव गरेका छन् ।

यस क्षेत्रमा अत्याधिक उत्पादनहुने गाँजाको महत्वबारे प्रष्ट पार्दै त्रिपाठीले पदमार्गको नामै गाँजाहिल राख्ने बताए। उनले भने, ‘गाँजा बेच्न र ओसारपसार गर्न प्रतिबन्धित छ, तर नाम राख्न त प्रतिबन्ध छैन नि !’ अर्को उदाहरण दिँदै उनले भने, ‘गैंडा मार्न बेच्नपाइन्न । तर, गैंडाको नाममा कयौं प्रतिष्ठानहरु खुलेका छन्, त्यसैले ‘गाँजापदमार्गको रुपमा स्थापित गरौं ।’

‘गाँजा विकसित राष्ट्रहरुले लागूऔषध हैन, यो मेडिसिन हो भनेर खुल्ला गरिसकेको छ, त्रिपाठीले भने, ‘जसले यो प्रतिबन्धित भनेको थियो उसैले खुल्ला गरिसकेको छ भने हामी किन नगर्ने ? हामीले पनि यो अभियान शुरु गरिसकेका छौं । संसदभित्र यो विषयले प्रवेश पाइसकेको छ ।’

त्रिपाठीले गाँजा ओसारपसार गरेको, भरिया भएको निहँुमा दर्जनौं स्थानीय अझै पनि जेल परेको बताउँदै कानूनले ओसारपसार गर्न पाइन्न भनेकाले यसलाई फुकुवा गर्नुपर्ने धारणा राखे ।

ओसारपसार र किनबेचमा नलागी पर्यटकलाई औषधिको रुपमा चखाउन भने सकिने उनले बताए । ‘हाम्रो जंगलमा त्यत्तिकै उम्रिने गाँजालाई हामी पर्यटक आकर्षित गर्ने प्रडक्ट बनाउन सक्छौं’ भन्दै उनले यस क्षेत्रको समृद्धिका निम्ति गाँजाहिललाई स्थापित गर्न लागि पर्ने बताए ।

प्रसंग बदल्दै त्रिपाठीले भने, ‘हाम्रो महाभारतको लेकमा कसरी समृद्धि ल्याउने भनेर अध्ययन गर्न हामी यहाँ आएका हौं । समृद्धि राजमार्ग क्षेत्रमा मात्र हैन, महाभारत लेकमा पनि आउनुपर्छ । कसरी समृद्धि ल्याउने भनेर गृहकार्य गरेका छौं । चन्द्रागिरिदेखि तोप्लाङ हुँदै प्रत्येक बसाइमा फरक–फरक गन्तव्य बनाउँदै छौं ।’

गन्तव्य बनाउँदा यहाँको एकीकृत विकास गर्ने योजना बनाएको बताउँदै सांसद त्रिपाठीले सडक कालोपत्रेदेखि होमस्टे प्रवद्र्धनका काममा लागेको बताए। यहाँ दशौँ अर्ब खर्च गर्न सक्ने प्रोजेक्ट बनाएको जानकारी दिँदै सांसद त्रिपाठीले संसारकै ठूलो शिवमूर्ति यही रुटमा बनाउन लागिएको बताए ।

प्रत्येक बसाइमा नयाँ गन्तव्य बनाउन लागिएको बताउँदै यो रुटमा एक दिनदेखि नौ दिनसम्म जति मन लाग्छ त्यतिदिन हिँड्ने र छोट्याउन चाहे दुई घण्टामा पृथ्वीराजमार्ग पुगेर आफ्नो गन्तव्यमा पुग्न सकिने बताए ।

यहाँको लागि कस्तो पूर्वाधार बनाउनआवश्यक छ भनि अध्ययन गर्न आएको बताउँदै सांसद त्रिपाठीले भने, ‘तोप्लाङमा भ्यूटावरसहित होमस्टे, रानी झरना माक्यानोनिङ पार्क, थामभञ्ज्याङमा बुद्ध मूर्तिसहित पार्क, भूमिचुलीमा गुम्बा र स्तुपा, कैलाश–सुन्दरनांगीमा संसारकै ठूलो शिवमुर्ति, कान्द्राङ गढीमा पार्क र नोहक गुफासंरक्षण र पदमार्गनिर्माण गर्ने योजना बनाएका छौं । यी कामका लागि प्रस्तावहरु पेश गरिसकिएकोले आगामी बजेटबाटै कार्यान्वयन शुरु हुने उनले बताए ।

प्रदेशनीति तथा योजना आयोगका सदस्य श्यामकुमार बस्नेतले यस क्षेत्रको विकासका लागि प्रदेश सरकारले गर्न सक्ने पूर्वाधार निर्माणका निम्ति आफूले सक्दो सहयोग गर्ने बताए । विकासका निम्ति स्थानीय आफैं अग्रसर हुनुपर्छ भन्दै बस्नेतले कृषि र जडिबुटी पनि पर्यटन प्रडक्ट भएकाले फलफूल खेतीमा अगाडी बढ्न सुझावदिए ।

Koshi Online

FREE
VIEW