०७५ मा सरकार असफल : कांग्रेस


काठमाण्डौँ, बैशाख २ ।

नेपाली कांग्रेसले २०७५ सालको समिक्षा गर्दै केपी शर्मा ओली नेतृत्वको सकारको एक वर्षे कार्यकाल असफल भएको निष्कर्ष निकालेको छ । ओली नेतृत्वको सरकारको एक वर्षको कार्यकाललाई असफल वर्षको रुपमा चित्रण गरेको हो ।

कांग्रेसले सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलन गर्दै ०७५ सालमा सरकारले सुशासन, शान्तिसुरक्षा र विकासमा गरेको गतिविधि सन्तोषजनक नभएको भन्दै असफल वर्षको रुपमा रहेको उल्लेख गरेको हो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनमा बोल्दै सरकारको असफलताको ७ वटा बुँदा देखाएका छन् । संघीयता कार्यान्वयन, संवैधानिक परिषद् र न्यायपालिका, भ्रष्टाचारमा शून्य सहनशीलताको घोषणा, शान्तिसुरक्षा, अन्तर्राष्ट्रिय छवि, समृद्धि र प्रधानमन्त्रीको अभिव्यक्तिमा प्रगति भने शून्य रहेको उनले बताए ।

प्रधानमन्त्रीले भने जस्तै केही नयाँ हुने आस गरेका जनताले ०७५ सालमा खासै उपलब्धी नपाएको काँंग्रेसको ठहर छ । जनतालाई देखाएको आसा पुरा गर्न २०७५ सालमा सरकारले नसकेको कांग्रेसले जनाएको छ ।

केन्द्र र प्रदेशमा समेत दुई तीहाइ बहुमत भएको कारण सरकारले छोटो समयमै प्रशस्त कार्य गर्नेछ भन्ने आम विश्वास राखेपनि पुरा गर्न सरकार असक्षम भएको कांग्रेसले उल्लेख गरेको छ।

संघीयता कार्यान्वयन, अधिकार बाँडफाँड, राज्यका तहगत संरचनाहरुको निर्माण र हस्तान्तरण, कर्मचारी समायोजन र उचित बजेट प्रबन्ध गर्ने काममा सरकारले ध्यान दिन नसकेको कांग्रेसको बुझाई छ । प्रदेशको राजधानी र नाम समेत टुंगो लगाउन नसक्नु सरकारको कमजोरी भएको प्रबक्ता शर्माले बताए ।

संघीयताको सिद्धान्त विपरित एकातर्फ प्रधानमन्त्री कार्यालयमा राज्यका महत्वपूर्ण अंगहरुलाई केन्द्रकृत गरिएको र सेना परिचालन गर्ने अधिकार समेत प्रधानमन्त्रीले नै राख्न खोजेर सेनालाई प्रधानमन्त्रीको लाचार छायाँ बनाउने दुस्प्रयाससम्म भएको भन्दै यसमा सरकारको कमजोरी रहेको काँग्रेसको तर्क छ ।

Loading...