fbpx

धर्मनिरपेक्षता हाम्रो माग थिएन, कहाँबाट आयो ? : दिनानाथ शर्मा

काठमाडौं, बैशाख २ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले धर्म निरपेक्षता तत्कालिन माओवादीको एजेण्डा नभएको बताएका छन् । १२ बुँदे सहमतीमा धर्म निरपेक्षता कहाँबाट आएको थाहा नभएको भन्दै उनले सहमतीको समयमसम्म धर्मका विषयमा माओवादी मौन रहेको बताए ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता शर्माले मुलुकमा कसरी समृद्धि हाँसिल गर्न सकिन्छ र अबको राजनीतिक कार्यदिशाबारे गम्भिर बहस चलाउनुपर्ने आवश्यकत्ता औंल्याएका हुन् ।

साक्षात्कारमा बोल्दै नेता शर्माले अब सबै दलको मुख्य एजेण्डा भनेको नै राष्ट्र निर्माण गर्नु र समृद्ध मुलुक बनाउनु भएको स्पष्ट पारे ।’ उनले धर्मलाई बोकेर हिँड्न नहुनेपनि तर्क गरे । उनले भने,‘धर्म बोकेर हिँड्दा राम्रो हुँदैन् । अहिले धर्मलाई राजनीतिक एजेण्डा बनाउन त सजिलो होला । तर, भोलि सरकारमा हुँदा मिलाउन गाह्रो हुन्छ ।’

आफूहरुले जनयुद्धकालिन समयमा पनि मठ, मन्दिरमा आक्रमण नगरेको शर्माले स्मरण गराए । उनले भने,‘धर्म, भाषा र जात अत्यन्तै संवेदनशील कुरा हुन् । यसबारेमा विचार पु¥याउनुपर्छ ।’

उनले धर्मनिरपेक्षता आफूहरुको माग नभएको जिकिर गरे । शर्माले सुनाए,‘त्यतिवेला पनि धर्म निरपेक्षता बनाउने हाम्रो माग थिएन् । १२ बुँदे सम्झौतापछि हामी सरकारमा आउनुपुर्व नै धर्म निरपेक्षता बनाईयो ।

त्यतिवेला सरकारमा कांग्रेस र तत्कालिन् नेकपा एमाले नै थियो । त्यतिवेला त्यो एजेण्डा नै थिएन् । को बाट आयो ? कहाँबाट आयो ? हामीलाई थाहा थिएन् । तर, हामीले विरोध गरेनौं । हामी धर्मको विषयमा पहिलेदेखि नै संवेदनशील थियौं ।’

फरक प्रसँगमा उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नै राम्रो काम गर्ने विश्वास दिलाए । आगामी वर्षमा सरकारले परिणाममुखी काम गर्ने उनको भनाई छ ।  आफूहरुको अबको एजेण्डा आन्दोलन नभएर मुलुक समृद्ध बनाउनको लागि युद्धस्तरमा काम गर्नुपर्ने उनको भनाई थियो ।

लोकतन्त्रको सुन्दर पक्ष भनेको नै भिन्न मतलाई सम्मान गर्ने भएकोले सरकारले प्रतिपक्षलाई निषेध नगर्ने उनले विश्वास दिलाए । उनले भने,‘जसले निषेधको राजनीतिक गर्छ, त्यो पार्टी टिक्दैन् ।’

त्यस्तै उनले पार्टीको तल्लो तहको एकता टुँगो लगाउनेगरि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक छलफलमा जुटेको जनाए । उनकाअनुसार यही बैशाख ०९ गतेसम्म तल्लो तहको एकता टुँगो लाग्छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री शंकर भण्डारीले पार्टीभित्र जसले हिन्दूराष्ट्रको एजेण्डा बोक्छ उही व्यक्ति आगामी १४ औं महाधिवेशनमा नेतृत्वमा आउने दाबी गरेका छन् ।

उनले भने,‘जसले हाम्रो पार्टीभित्र सनातन हिन्दूराष्ट्रको एजेण्डा बोक्छ, त्यही व्यक्ति नेतृत्वमा आउँछ ।’  पार्टीको मूलविचार पनि अब हिन्दूराष्ट्र नै हुने उनको भनाई छ । भण्डारीले पछिल्लो घट्नाक्रम हेर्दा मुलुक नयाँ प्रकारको द्वन्द्व, झगडा र कलहमा फस्न लागेको त होईन भन्ने प्रश्न उठाएका छन् ।

भण्डारीले वर्तमान सरकार र यसका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सर्वेसर्वा ठूलो हुँ भन्ने व्यवहार गलत भएको पनि टिप्पणी गरेका छन् ।  उनले मुलुकमा दुई तिहाई बहुमतको सरकार हुँदापनि जनता ढुक्क हुन नसकेको गुनासो पोखे । भण्डारीले देशको पहिचान भनेको नै सनातन हिन्दूराष्ट्र भएको बताए ।

प्रदेश नम्बर ४ का ९० प्रतिशत आदिवासी तथा जनजातिहरु हिन्दूवादी भएको उनको दाबी छ ।  वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्न, मूल्यवृद्धि नियन्त्रण गर्न, लगानीको वातावरण बनाउनको लागि पूर्ण रुपमा असफल भएको पनि उनको आरोप छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् पूर्व मन्त्री राजकिशोर यादवले वर्तमान सरकार शान्ति, सुव्यवस्था र समृद्धि हाँसिल गर्नेतर्फ अग्रसर नभएको आरोप लगाएका छन् ।

उनले भने,‘धेरै लामो समयपछि मुलुकले स्थिर र बहुमतको सरकार पाएको छ । तर, सरकारले सोहीअनुरुप काम गर्न सकेको छैन् । सरकारलाई दोष थोपरेर उम्किन खोजेको होईन । तर, सरकारको व्यवहार नै त्यस्तो छ ।’

पछिल्लो समय विकासको नाममा कतै विनाशमात्रै त भैरहेको छैन ? भन्नेबारे पनि चर्चा गर्न आवश्यक रहेको उनको भनाई छ ।
आजभन्दा अगाडि ‘हरियो बन, नेपालको धन’ भन्ने नेपालको अवस्था रहेको सुनाउँदै उनले भने,‘तर, आज विश्व ग्लोबल वार्मिङका कारण चिन्तित छ ।

जनतालाई उत्तेजित पारेर नितान्त दलीय स्वार्थ पूरा गर्ने काम नेपालका दल र यसका नेताहरुबाट भएको उनको स्विकारोक्ति थियो । उनले भने,‘नेपालको अहिलेको अर्थ राजनीति, सामाजिक अवस्था अत्यन्तै चिन्ताजनक छ ।’

वर्तमान सरकारले हिजोकोभन्दा आज फरक काम गरेको भन्ने अनुभूति दिलाउनुपर्ने पनि उनले जोड दिए । वर्तमान सरकार फरक विचार राख्नेलाई जाईलाग्ने प्रवृत्तिमा देखिएको पनि उनले आरोप लगाए ।

उनले अहिलेको सरकार विगतको सरकारभन्दा फरक भएकोले यो सरकार आएसँगै नेपाली जनताको जीवनमा के–के फरक पर्यो भन्ने कुरा देखाउनुपर्ने पनि स्पष्ट पारे ।  यादवले राजपाले अब गर्ने आन्दोलनमा विचार मिल्नेहरुसँग सहकार्य गर्नेपनि जानकारी दिए ।

सरकारलाई सचेत गराउने उद्देश्य बोकेर नै आफूहरुले दबाबमूलक कार्यक्रम अघि सारेको उनको स्पष्टोक्ति थियो । उनले भने,‘हाम्रो आन्दोलनलाई परीणाममुखी बनाउनको लागि विचार मिल्नेहरुसँग एकता र सहकार्य गर्छौं ।’ आफूहरु पार्टीको एकता महाधिवेशनमा जुटेको पनि उनले जनाए ।

Loading...