fbpx

‘मेस्सी प्रतिभाशाली खेलाडी हुन्, यसैले उनी रोनाल्डोभन्दा उत्कृष्ट छन्’

एजेन्सी,
फुटबल जगतमा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी र पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने चर्चा सँधै हुने गरेको छ ।

मेस्सी लामो समयदेखि स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका छन् । ३१ वर्षीय मेस्सी बार्सिलोनाका कप्तानसमेत हुन् भने उनी भर्खरैदेखि अर्जेन्टिनाको राष्ट्रिय टोलीमा पनि फर्किएका छन् । क्लबबाट जत्ति नै उपाधि जितेपनि आफ्नो राष्ट्रका लागि केही नगरेको भन्ने आरोप खेपिरहेका उनी रसिया विश्वकपपछि राष्ट्रिय टोलीमा फर्किएका थिएनन् । तर, ९ महिनापछि उनले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमार्फत् राष्ट्रिय जर्सी लगाएका थिए ।

यता उपाधि र प्रदर्शनका आधारमा उनका खास प्रतिद्वन्द्वी रोनाल्डोले इटायिलन क्लब युभेन्टसबाट खेलिरहेका छन् । उनी यसै सिजनको बीचमा स्पेनिस क्लब रियल मड्रिड छोडेर इटाली गएका हुन् ।

रोनाल्डो र मेस्सी दुवै समान पाँच–पाँच पटकका बालोन डी’ओरका विजेतासमेत हुन् । यी दुईबीच को उत्कृष्ट भन्ने चर्चा भने सँधै नै चलिआएको छ । खेलाडीदेखि लिएर प्रशिक्षकसम्म र समीक्षकदेखि लिएर विश्लेषकसँम्म सबैले यी दुईमध्ये को उत्कृष्ट भन्ने विषयमा आफ्नो मत सार्वजनिक गर्दछन् ।

यस्तैमा इटालियन पूर्वप्रशिक्षक फाबियो कापेलोले पनि मेस्सी र रोनाल्डोका बारेमा मुख खोलेका छन् । युरोपियन फुटबलमा निकै अनुभवी प्रशिक्षक कापेलोले दुई स्टार खेलाडीलाई तुलना गर्दै रोनाल्डोभन्दा मेस्सी नै उत्कृष्ट खेलाडी रहेको बताएका छन् ।

कापेलोले मेस्सीलाई पेले र म्याडोनासँग तुलना गर्दै भनेका छन्, ‘फुटबलमा ३ प्रतिभाशाली खेलाडी छन् । पेले, म्यारोडोना र मेस्सी । हो, रोनाल्डो असाधारण खेलाडी हुन् । तर, प्रतिभावान छन् । यसैले मेरो विचारमा मेस्सी नै उत्कृष्ट खेलाडी हुन् ।’

‘यद्यपि, मेस्सी र रोनाल्डोसँग फरक–फरक प्रतिभा छ । उनीहरू दुवै क्षमतावान खेलाडी हुन् । तर, केही कारणले मात्र रोनाल्डोभन्दा मेस्सीमाथि रहेका छन् । यी दुवैले आफ्नो प्रदर्शन उच्च राखेका छन् र दुवैले अन्य खेलाडीहरूलाई छायाँमा पारेका छन् ।’

रोनाल्डोले सबै प्रतियोगिता गरेर यस सिजन २५ गोल गरेका छन् भने मेस्सीले ४३ गोल गरिसकेका छन् । इटालियन लिग सिरी ‘ए’मा रोनाल्डोले १९ गोल गरेका छन् भने स्पेनिस ला लिगामा मेस्सीले ३३ गोल गरेका छन् । यता च्याम्पियन्स लिगमा मेस्सीले ८ गोल गर्दा रोनाल्डोले ५ गोल गरेका छन् ।

प्रतिक्रिया

Loading...