fbpx

के ‘पब्जी’ प्रतिबन्ध वास्तविक समाधान हो ?

-सवीन घिमिरे

चर्चित खेल ‘पब्जी’ लाई नेपालमा पनि प्रतिबन्ध लागेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको हो ।

सन् २०१७ मा सुरु भएको यस खेल पब्जी दक्षिण कोरियाको कम्पनीले विकसित गरेको अनलाइन खेल हो, जसमा खेलाडीहरूलाई एक द्वीपमा लगेर छोडिन्छ र एकअर्कालाई खत्तम गर्नुपर्ने हुन्छ ।

अहिले अन्य राष्ट्रहरूमा यस खेललाई धमाधम प्रतिबन्ध लगाइँदैछ । युवाहरुमा यसले धेरै मानसिक असर परेको भनि चीनमा यो खेल प्रतिबन्ध लगाइयो । त्यस्तै भारतको गुजरातमा पनि यो खेल प्रतिबन्ध लगाइएको थिइयो र पब्जी मात्र नभई विभिन्न राष्ट्रहरूमा अन्य धेरै भिडियो गेमहरू पनि विभिन्न समयामा प्रतिबन्ध लगाइँदै आइएको छ ।

पब्जी हालै धेरै हल्लाहरूको कारण बनेको छ । केही मान्छे यो खेल खेल्न थालेपछि समयको पर्वाह नगरी घन्टौँ बिताउने गर्दछन्, जुन अभिभावक, विद्यालय, क्याम्पस तथा सरकारको लागि पनि चिन्ताको विषय बनेको छ ।

पब्जी खेलले निम्त्याएका दुर्घटनाहरू धेरै हामीले सुनेपढेका छौँ । एक महिनाअगाडि हैदराबादमा एक दश कक्षामा पढ्ने छात्रले परीक्षाको बेला पनि नपढी पब्जी खेली मात्र रहेको भनी आमाले गाली गर्दा आत्महत्या गरेका थिए । त्यस्तै मुम्बईमा पनि एक अठार वर्षका टीनेजरले अभिभावकले पब्जी खेल्नको लागि महँगो मोबाइल नाकिनिदिएको भनी आत्महत्या गरे ।

पब्जीकै लतको कारण भनिएको दिल्लीका एक १९ वर्षीय व्यक्तिले आफ्नो आमाबाबु र बहिनीलाई कथित रूपमा मारेर गिरफ्तार गरिएको घटना पनि बाहिरिएको थियो । मध्य प्रदेशका एक युवकले पब्जी खेलिरहेको बेला पिउने पानीको सट्टा एसिड पिएपछि अस्पताल भर्ना गरिएको थियो । पब्जीले निम्त्याएका अन्य धेरै दुर्घटनाहरू छन् ।

के पब्जी तथा भिडियो गेमको लत लाग्छ त ?

भिडियो गेमलाई एक लत वा मानसिक विकारको रुपमा वर्गीकृत गर्न सकिन्छ या सकिन्न भनेर अधिक वहस र अनुसन्धानको विषय बनेको छ । अमेरिकन जर्नल अफ साइकायाट्रिकमा प्रकाशित एक अध्ययनले पत्ता लगाएको छ कि, जनसंख्याको ०.३ देखि १ प्रतिशत जनसंख्या विकारको सम्भावित निदानको लागि योग्य हुन सक्छ ।

अमेरिकन जर्नल अफ साइकायाट्रिकको अध्ययनको विषयमा वरिष्ठ मनोवैज्ञानिक प्याट्रिक एम मार्के र क्रिस्टोफर जे फर्गुसनले भिडियो गेमको लत एक वास्तविक कुरा हुन सक्ने बताएका छन् । उनले भनेका छन्, ‘भिडियो गेमको लत एक वास्तविक कुरा हुन सक्छ, तर यो एक महामारी छैन की, केहीले यसलाई बाहिर बनाएको छ ।’

साइकोलोजी टुडेको अनुसार एक डच अध्ययनले पत्ता लगाएको छ कि, सामाजिक कौशलको अभावको कारण अत्याधिक गेमिङ्ग व्यवहार र त्यसले उल्टो नतिजा निम्त्याउँछ भन्नु गलत रहेको र वास्तवमा अत्याधिक गेम खेल्नुको कारणले एकान्तवादी बनाउने नतिजा सत्य देखिएको थियो ।

साथै खोजकर्ताहरूका अनुसार अत्याधिक गेमिङ्ग अपमानता बोध भएका, हिँसालाई उच्च प्राथमिकता दिने, सामाजिक कौशल नभएको र सामान्य जीवनयापनमा कठिनाइ भोगेका जस्ता व्यक्तित्वहरूमा समस्याग्रसित हुन सक्छ । विश्व स्वास्थ्य संगठनले गेमिङ्ग डिसर्डरलाई भिडियो गेम खेल्ने लत, एक वास्तविक मानसिक स्वास्थ्य अवस्थाको रूपमा वर्गीकृत गरेको छ ।

त्यसोभए, पब्जी वा कुनै अन्य खेल प्रतिबन्ध गर्नु साँच्चै एउटा समाधान हो ?

भिडियो गेमको लतले मात्र नभइ जीवनमा असफल अनुभवहरू, सामाजिक फोबिया र आमाबाबुको कम समर्थनको कमीले धेरै समस्याहरू हुन सक्छ । संसारको एक पाटो मानसिक स्वास्थ्यको मुद्दाका कारण पढ्ने, लेख्ने, हस्तमैथुन गर्ने, इन्स्टा, फेसबुक चलाउने युट्युब भिडियोहरू हेर्ने, फिल्महरू हेर्ने जस्ता लतहरूबाट पनि अछुतो छैन ।

यसैगरी पब्जी संसारमा एक मात्र भिडियो गेम भने होइन । पबजी लोकप्रिय हुनुअघि क्लास अफ क्लान पनि एक लोकप्रिय भिडियो गेम थियो । सीओसी गेमको कारण एक व्यक्तिलाई क्यान्सर भएको घटना पनि बाहिरिएको थियो ।

प्रतिबन्ध एक बाहाना मात्र हो । यसले सबै समस्या समाधान गर्न सक्दैन । यो एक क्षणिक समयको लागि अस्थाई साधन जस्तो मात्रै हो । पब्जी खेल्न चाहनेहरूको लागि एक भीपीएनले समस्या समाधान गर्न सक्छ । सम्पूर्ण सर्भरहरूमा प्रतिबन्ध लगाइयो भने पनि कसैले अर्को नयाँ गेम बजारमा ल्याउँछ या गेम खेल्नेहरूले पनि अर्को नयाँ गेमको खोजी गर्छन् ।

यदि सम्पूर्ण भिडियो गेमहरूमा प्रतिबन्ध लगाइयो भने मानिसहरू जुवा जस्तै अन्य नयाँ अस्वस्थ्य कसुरको बाटो पहिल्याउन सक्ने सम्भावना हुन्छ । त्यसो त यसअघि नेपालमा अश्लील साइटहरूमाथि प्रतिबन्ध लगाइएको थियो । तर, अझैपनि उत्तिकै मात्रामा मानिसहरूले नयाँ नयाँ साइटहरू खोजी गरी गरी हेरिरहेका छन् ।

त्यसैले यसको समाधानमा सही तरिकाले जाने हो भने यस्ता लत वा जुनुनी व्यवहारको कारण पत्ता लगाई त्यसको सट्टामा अपनाइनु पर्ने कदमहरू अपनाइनुपर्दछ । नेपालको परिवेशमा यसका कारणहरूमध्ये एक बेरोजगार पनि हुन सक्छ । यसरी प्रतिबन्ध गर्नु नै समाधानको अन्तिम विकल्प हो भनेर सोच्नु मुर्खतासिवाय केही होइन ।

त्यसको विकल्पमा अन्य खेलहरू उपलब्ध गाराइदिनु सरकारको दायित्व पनि हो । क्रिकेट, फुटबल, चेस, सांगीतिक कार्यक्रम, मन्तव्य प्रतिस्पर्धा, नृत्य, योगा, ब्यायाम इत्यादि खेल तथा प्ल्याटफर्मलाई प्राथमिकता दिई सबै युवाहरूमाझ पुर्याउने किसिमको कार्यक्रम तर्जुमा गरेर सरकारले कार्यान्वयन गर्न सके यस्ता किसिमका समस्याहरू राष्ट्रले भोग्नु पर्ने अवस्था नआउला ।

प्रतिक्रिया

3 × 3 =

Loading...