fbpx

के कारण हुन्छ निमोनिया ? निमोनिया हुँदा देखिने लक्षणहरू यस्ता छन्

निमोनिया विभिन्न प्रकारका जीवाणुहरूको संक्रमणबाट फोक्सोमा आउने एक प्रकारको खराबी हो । निमोनियामा फोक्सोका कोषहरू सुन्निन्छन् अनि श्वासप्रश्वासमा बाधा पुग्दछ । केही भाइरसका प्रजातिहरूले कडा खालको निमोनिया गराउँदछन् ।

निमोनिया भएका बिरामीहरू एक दुई दिनमै सिकिस्त हुन्छन्, गल्छन्, खोकी लागिरहने हुनाले थकित पनि हुन्छन् । व्याक्टेरिया र भाइरसका बाहेक अरू कारणले पनि निमोनिया हुन सक्दछ ।

कुनै अरू अर्को रोगको कारण अस्पताल भर्ना भएका बिरामीहरूमा पनि निमोनिया देखिन सक्छ । अस्पताल क्षेत्रमा भएका जीवाणुका कारणले गर्दा हुने भएकोले यसलाई रोक्न त्यत्ति सजिलो छैन । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू जस्तै, मधुमेहका बिरामी, एचआइभी एड्स संक्रमितहरू तथा अङ्ग प्रत्यारोपण गरिएका व्यक्तिहरू र क्यान्सरका बिरामी र स्टेरोइड औषधि सेवन गरिरहेका बिरामी आदिमा निमोनिया चाँडै लाग्दछ ।

अझ विशेष गरेर अचेत बिरामी तथा बच्चाहरूमा पेटको खानेकुरा सर्किएर श्वास नली हुँदै फोक्सोसम्म पुग्दछ । पेटको खाने कुरा सँगै ग्यास्ट्रिक एसिड पनि फोक्सोमा पुग्ने हुँदा फोक्सोको कोषहरूमा क्षति पुग्न गई खतरनाक किसिमको निमोनिया हुन सक्दछ । जसलाई एस्पिरेसन निमोनिया भनिन्छ । त्यसैले वान्ता गर्दा सर्किन सक्ने, खानेकुरा खाँदा बोलेमा सर्किन सक्ने भएकोले होशियार हुनु जरूरी छ ।

लक्षणहरू

बिरामीको उमेर, रोग प्रतिरोधात्मक क्षमता र निमोनिया गराउने जीवाणु अनुसार लक्षणहरू फरक फरक हुन्छन् ।
–निमोनियाको इन्फेक्सन हुँदा बिरामीको शरीरको तापक्रम छोटो समयमा नै हृवात्तै बढ्छ । कहिलेकाँही ३९ दशमलव ५ डिग्री सेन्टिग्रेडसम्म पुग्छ ।

–छाती एकदम दुख्छ र लगातार सुख्खा खोकी लाग्छ ।

–केही घण्टामा नै बिरामी सिकस्त हुँदै जान्छ ।
–केही दिनपछि खकार (पहेँलो) आउन थाल्छ र पछि गएर खैरो रङको खकार आउन थाल्छ । सँगगँगै बिरामीको शरीरभरि डाबर आउन थाल्छ ।

–बिरामीले छिटो–छिटो र छोटो छोटो सास फेर्न थाल्छ ।

–फोक्सोका कोषहरू सुन्निएर हावा भरिने क्षेत्रहरू थुनिने हुनाले बिरामीले सास फेर्दा फोक्सो सङ्क्रमित भएको पट्टी छाती फुल्दैन ।

–यसरी फोक्सोले पाउनुपर्ने जति अक्सिजन नपाएपछि शरीरमा पनि अक्सिजनको कमी हुन थाल्दछ र त्यसलाई पूर्ति गर्न बिरामीले छोटो–छोटो र छिटो–छिटो सास लिनुपर्ने हुन्छ ।

Koshi Online

FREE
VIEW