fbpx

न्यूनतम पारिश्रमिक माग्दै सुरक्षा गार्ड श्रम कार्यालयमा

विराटनगर
पूर्वसुरक्षा अधिकारीहरूले सञ्चालन गरेका सेक्युरिटी सर्भिस कम्पनीहरूबाट न्यूनतम पारिश्रमिक नपाएका सुरक्षा गार्ड श्रम तथा रोजगार कार्यालय पुगेका छन् ।

बैंक, उद्योग तथा विभिन्न प्रतिष्ठानहरूमा सुरक्षा गार्ड सप्लाई गर्ने अधिकांश सेक्युरिटी कम्पनीको सञ्चालक नेपाल सरकारको सुरक्षा निकायबाट अवकाश प्राप्त व्यक्तिहरू छन् । तर, पूर्वसुरक्षा अधिकारीहरूले सञ्चालन गरेका कम्पनीले ऐनमा व्यवस्था भएअनुसार पारिश्रमिक नदिएका हुन् ।

न्यूनतम पारिश्रमिक नदिएपछि चारवटा कम्पनीका मजदुर श्रम तथा रोजगार कार्यालय पुगेका छन् । न्यूनतम पारिश्रमिक माग गर्दै विराट गोर्खा सेक्युरिटी सर्भिस विराटनगर, कमाण्डो सक्युरिटी सर्भिस इटहरी, गोर्खाली योद्धा सेक्युरिटी प्रालि काठमाडौं, केटिएम सर्भिस प्रालि काठमाडौंमा कार्यरत सुरक्षा गार्ड श्रम कार्यालय पुगेका हुन् ।

श्रम कार्यालयमा केटिएम सेक्युरिटी कम्पनीमा कार्यरत १ सय ४१ मजदुरले उजुरी गरेका छन् । श्रम ऐन २०७४ मा महंगी भत्तासहित न्यूनतम मासिक १३ हजार ४५० तलब, १० प्रतिशत सञ्चयकोष, ८.३३ प्रतिशत सामाजिक सुरक्षा कोष, ८ घण्टा भन्दा बढी समय काम गर्दा ओभरटाइम सुविधा दिनुपर्ने प्रावधान छ । तर, उजुरी परेका कुनै कम्पनीले ऐनले तोके अनुसार तलब भुक्तानी गरेका छैनन् ।

न्यूनतम पारिश्रमिक माग गर्दै पुगेका श्रमिकहरूलाई श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले श्रम ऐन कार्यन्यन गर्दै न्यूनतम पारिश्रमिक पाउने व्यवस्था मिलाउने आश्वासन दिएका छन् ।

सेक्युरिटी गार्ड सप्लाई गर्ने कम्पनीहरूलाई पत्र लेख्दै सञ्जेलले पारिश्रमिक दिन आग्रह पनि गरेका छन् । पारिश्रमिक नदिए कानुनअनुसार कारवाही गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

18 − 12 =

Loading...