fbpx

विश्वकप छनोट : नेपालले मलेसियालाई ८ विकेटले हरायो

काठमाडौं,
आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको एसिया छनोटको तेस्रो खेलमा नेपालले जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले आयोजक मलेसियालाई ८ विकेटले हराएको हो ।

क्वालाम्पुरस्थित बायुमास ओभलमा भएको सो खेलमा मलेसियाले दिएको ९३ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा २ विकेटको क्षतिमा पूरा गरी जित हात पारेको हो ।

नेपालको जितका लागि रित गौतमले नटआउट ३९ रन बनाए, आशिफ शेखले २६, पजन सर्राफले १६ र रोहितकुमार पौडेलले ६ रनको योगदान गरे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया ३३ ओभर ५ बलमा अलआउट हुँदै ९२ रनमा समेटियो । नेपाली बलर चम्किएपछि मलेसियाका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । मलेसियाका लेजाड ड्यानियल बिन अहमेदले सर्वाधिक ३७ रन बनाए । यस्तै कप्तान मोहमद अमिरले १३ तथा हाकिम हरिसनले १० रन बनाए ।

मलेसियालाई झिनो स्कोरमा समेट्नेक्रममा नेपालका लागि पवन सर्राफ र कुशल मल्लले ३–३ विकेट लिए भने कमलसिं ऐरीले २ र सागर ढकालले एक विकेट लिए ।

पहिलो खेलमा सिंगापुरमाथि २१७ रनको जित निकालेको नेपाल दोस्रो खेलमा डीएल नियमका आधारमा यूएईसँग १ रनको हार व्यहोरेको थियो । यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली मात्रै अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपकोमा छनोट हुनेछ ।

Koshi Online

FREE
VIEW