fbpx

ऋणमा प्रदेश एकका मन्त्री

मन्त्रीको सम्पत्ति थ्रेसर मेसिनदेखि फेन्सी पसलसम्म

विराटनगर। पाँच सदस्य प्रदेश १ को मन्त्रीमण्डलमा सहभागी चार मन्त्री ऋणमा रहेको पाइएको छ । प्रदेश १ को मन्त्री बनेपछि बुझाएको सम्पत्ति विवरणमा मुख्यमन्त्री शेरधन राई बाहेक सबै मन्त्री ऋणमा रहेको पाइएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा मुख्यमन्त्री शेरधन राईले ऋण लगानी गरेको उल्लेख छ । ऋणी मन्त्रीहरूको अग्रस्थानमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो छन् । उनी २ करोड ७१ लाख ऋणमा छन् । कृषि फर्म सञ्चालन गरेका आङ्बोले नेपाल इन्भेष्टमेन्ट बैंकबाट २ करोड ५१ लाख र कुमारी बैंकबाट २० लाख रुपैयाँ ऋण लिएका छन् । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे पनि करिब सवा करोड ऋणमा छन् ।

घिमिरेले बैंक अफ काठमाडौंबाट १ करोड १८ लाख ५५ हजार र एक्सल बैंकबाट ४ लाख ३२ हजार गरी १ करोड २२ लाख ८७ हजार रुपैयाँ ऋण लिएको विवरण पेस गरेका छन् ।

पर्यटनमन्त्री जगदिश कुसियैतको पनि ज्योति विकास बैंकबाट ६३ लाख र विजेन्द्र श्रेष्ठबाट १० लाख ऋण लिएको विवरण पेस गरेका छन् ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीको सम्भावी सहकारी बानेश्वरमा ३ लाख रुपैयाँ छ ।

सामाजिक विकासमन्त्रीको तीनवटा घडेरी, करोड बढी सेयर

सेयर लगानी र सम्पत्तीको हिसाबले धनी देखिएका सामाजिक विकास मन्त्री घिमिरेको स्कूल, हाइड्रो, कृषि फार्म लगानी छ । मन्त्री बनेपछि पेस गरेको सम्पत्ति विवरणमा विभिन्न कम्पनी तथा फर्ममा १ करोड ३४ लाख २० हजार बराबरको शेयर रहेको उल्लेख छ । १२ तोला सुन, २० तोला चाँदी रहेको सम्पत्ति विवरण बुझाएका मन्त्री घिमिरेको बैँकमा ६ लाख जम्मा छ ।

सवारी साधनको रुपमा एउटा मारुती कार, स्कुटर र एउटा मोटरसाइकल छ भने विराटनगर–११ मा १ कठ्ठा जग्गामा बनेको घर, कटहरी ४ मा ३३८६ वर्गमिटर, विराटनगर–११ मा ३४५ वर्गमिटर जग्गा र श्रीमती विमला घिमिरेको नाममा केराबारी २ मा १६ रोपनी जग्गा रहेको उल्लेख छ ।

आर्थिक मामिला मन्त्रीको लगानी : फेन्सी पसलदेखि सुगुर फर्मसम्म

कृषि कर्ममा लागेका आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोसँग सम्पतीको रूपमा फेन्सी पसलदेखि सुगुर फर्म र हाइड्रोको सेयर छ । त्यस्तै पाँचथरको फिदिम ११ मा सगोंलको ५ रोपनी जग्गामा बनेको घर, ५० रोपनी जग्गा छ । श्रीमती कुमारी लावतीको नाममा झापाको विर्तामोडमा ६० लाख रुपैयाँमा खरिद गरेको ३ कठ्ठा जग्गा छ ।

इलामको चुलाचुलीस्थित दुई बिगाहा जग्गामा सञ्चालित मिक्लाजुङ कृषि फर्म र फर्ममा रहेका ३ सय वटा बंगुर सम्पत्ति विवरणमा उल्लेख छ । मन्त्रीले साथमा २ लाख ५० हजार नगद र बैंकमा २ लाख ७५ हजार रुपैयाँ रहेको उल्लेख गरेका छन् । त्यस्तै १० तोला सुन र २० तोला चा“दी छ भने पालुङ खोला हाइड्रो पावरमा १० प्रतिशत शेयर छ । उनले ३० लाखको लगानीमा फेन्सी पसल सञ्चालन गरेको विवरणमा उल्लेख गरेका छन् ।

आन्तरिक ममिलामन्त्री कार्कीको लगानी स्कूल र हाइड्रो

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले पेस गरेको सम्पत्ति विवरणमा स्कूल अस्पताल र हाइड्रोमा लगानी गरेको उल्लेख गरेका छन् । उनले आफ्नो र श्रीमतीको नाममा ३२ लाख ८८ हजार मूल्य बराबरको शेयर रहेको विवरणमा उल्लेख गरेका छन् । मन्त्री कार्कीसँग २२ लाखमा खरिद गरेको सेन्ट्रो कार छ । ६ तोला सुन र १० तोला चाँदी रहेको विवरण पेस गरेका कार्कीले श्रीमती अन्जना पाण्डेको नाममा लुम्बिनी बैंकमा ५० लाख नगद मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । दाजु दीपक कार्कीसँगको साझेदारीमा गौरादह १ मा डेढ कठ्ठा जग्गा रहेको विवरण बुझाएका छन् ।

पर्यटन मन्त्री कुसियैतसँग दुई थान थ्रेसर

प्रदेश १ सरकारका उद्योग, वन तथा पर्यटन मन्त्री जगदिश कुसियैतसँग अन्य मन्त्रीको तुलनमा बढी जग्गा छ । कुसियैतको सुनसरीको कोशी गाउँपालिकामा–७ विगाहा जग्गा छ । कुसियतले दुई कट्ठा जग्गामा बनेको घर र काठमाडौंमा ७५ लाखमा किनेको घडेरी सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । दुई थान थ्रेसर मेसिनलाई पनि सम्पत्तिको रूपमा उल्लेख गरेका उनले टाटा कार, मोटरसाइकल र ४७ वटा पशुचौपाया छन् । मन्त्री कुसियतसँग विभिन्न बैंकमा २ लाख १२ हजार मौज्दात रहेको छ । त्यस्तै १७ तोला सुन र ४० तोला चाँदी रहेको विवरण पेश गरेका छन् ।

मुख्यमन्त्रीको इटहरीमा घडेरी, साढे चार लाख ऋण लगानी

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफ्ना प्रदेश १ का मन्त्रीहरूभन्दा गरिब देखिएका छन् । मुख्यमन्त्री राईसँग कृषि विकास बैंक, हाइड्रो र स्कूलमा १२ लाख २४ हजार बराबरको शेयर मात्र छ । अन्य मन्त्रीहरूले ऋणि रहेको विवरण पेस गर्दा मुख्यमन्त्री राईले भने विभिन्न व्यक्तिलाई ४ लाख ५० हजार ऋण लगानी गरेको विवरण पेश गरेका छन् । टोयटा कम्पनीको जीप १ थान भएका मुख्यमन्त्री राईसँग १९ तोला सुन छ ।

अविवाहित मुख्यमन्त्रीले ३० तोला चाँदी पनि जोडेका छन् । उनले विभिन्न बैंकमा १० लाख ४७ हजार नगद जम्मा रहेको विवरण पेश गरेका छन् । इटहरीमा ८ धुर घडेरी रहेको विवरण पेस गरेका मुख्यमन्त्रीसँग भोजपुरको आमचोक ३ मा ९ हेक्टर ८ रोपनी जग्गा छ । त्यस्तै भोजपुमा पैत्रिक घर र थप ७० रोपनी जग्गा पनि रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

Koshi Online

FREE
VIEW