fbpx

स्वास्थ्य मन्त्रालयले षड्यन्त्र गर्यो : डा. भट्टराई


काठमाडौं, चैत्र २९ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले नेपालको स्वास्थ्य सेवा सरकारी चिकित्सकले नभई निजी चिकित्सकहरुले धानेको स्पष्ट पारेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री यादवले नेपालको स्वास्थ्य सेवा धान्ने भनेको नै निजी चिकित्सक भएको बताएका हुन् । उनले भने,‘आउने दिनमा यसलाई सुधार गर्नुपर्छ ।’ मन्त्री यादवले सरकारी चिकित्सकको आन्दोलनप्रति सरकार गम्भीर भएको भन्दै सेवामा फर्कन आग्रह समेत गरे ।

उनले चिकित्सकसंग यसअघि गरिएको सहमति नै कार्यान्वयन हुदा चिकित्सकले आन्दोलन गरेको आरोप पनि लगाए । समायोजनको बिषयलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हेरिरहेको भन्दै स्वास्थ्य मन्त्रालयले सहजीकरण मात्र गर्नसक्ने उनको भनाई थियो ।

उनले आन्दोलनरत चिकित्सकहरुलाई संविधान पढ्नसमेत आग्रह गरे ।  उनले विगतमा सरकारी चिकित्सकहरुले आफूहरु स्वास्थ्य ऐनअन्तर्गत रहन्छौं र संघीय निजामती ऐन मान्दैनौं भनेर किन नभनेको भन्दै प्रश्नसमेत तेर्साए ।

उनले भने,‘संघीय निजामती ऐनअन्तर्गत फारामपनि भर्नुभयो, मैले अघि त्यही कुरा सोध्न लगाएको हुँ । जुन ऐनअन्तर्गत तपाईले फाराम भर्नुहुन्छ भने त्यो ऐनअन्तर्गत जाने कि नजाने ? म टेक्निकल व्यक्ति छु भनेर हुँदैन् । पहिले संविधान पढ्नुहोस् । नेपालमा हामी जहाँ बसिरहेका छौं, त्यहाँको के कानून छ ? अहिले ७६१ वटा सरकार छन् ।’

सरकारी चिकित्सकहरुले आफूहरुमाथि लगाएको आरोपको खण्डन गर्दै मन्त्री यादवले भने,‘स्वास्थ्य मन्त्रालयले जहिलेपनि आफ्नो काम गरिरहेको छ । गोदानसँग भएको सम्झौता हेर्नुहोस्, हामीले सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्नेछ, लेखि पठाउनेछ भनेर सहमति गरिएको छ ।’

अहिलेसम्म चिकित्सकहरुले खाईपाई आईरहेको सेवा तथा सुविधा र वृद्धिविकास कम नहुने विश्वास मन्त्री पण्डितले दिलाएको उनले सुनाए ।  मन्त्री यादवले विराटनगर, विरगञ्ज, डडेलधुरा, नेपालगञ्ज र भरतपुर अस्पताललाई पाँच सय बेड बनाउन लागिएको पनि उनले जनाए ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकारी चिकित्सकको सेवा÷सुविधाका बारेका सरकारले प्रतिवद्धता जनाए आन्दोलन फिर्ता हुने विश्वास दिलाए । उनले चिकित्सकको मागका बारेमा सरकार गम्भीर नभएको आरोप लगाए ।

डा. श्रेष्ठले सरकारले चिकित्सा क्षेत्रको मर्म र भावना नबुझी हचुवाको भरमा समायोजन ऐन ल्याएको पनि गुनासो पोखे । उनले भने,‘यसले भोलि नेपालको स्वास्थ्य क्षेत्रमा दिर्घकालिन असर पर्छ । अहिलेको समायोजनले एउटा तहबाट अर्को तहमा जानै नमिल्ने बाध्यतात्मक अवस्था सिर्जना गरेको छ । हामीलाई संघीयतासँग सरोकार छैन् ।’

विज्ञहरुसँग सल्लाह नगरी समायोजन गर्ने काम भएको बताउँदै उनले सरकारको यो कदमले चिकित्सकहरुको मनोबल गिरेको गुनासो पोखे ।

सरकारी चिकित्सकहरुको आन्दोलनमा नेपाल चिकित्सक संघले एक्येबद्धता जनाएको उल्लेख गर्दै उनले सरकारले कुनैपनि हालतमा नजरअन्दाज गर्न नहुने बताए ।

त्यस्तै, आन्दोलनरत सरकारी चिकित्सक संघ नेपाल, सघर्ष समितिका उप–संयोजक डा. सुशिलमोहन भट्टराईले स्वास्थ्य मन्त्रालयले आफुहरुमाथि षड्यन्त्र गरेको आरोप लगाए । उनले मन्त्रालयले आफुहरुको अभिभावकत्व निर्वाह गर्न नसकेको गुनासो पोखे ।

उनले सरकारी चिकित्सकहरुलाई सरकारले नै अपहेलित गरेको आरोप लगाए । उनले भने,‘हामी अति भएर छताछुल्ल भएका हौं । बाध्य भएर आन्दोलन गरेका हौं ।’ स्वास्थ्य मन्त्रालयले षड्यन्त्र गरेको र गिरोहको रुपमा काम गरेको पनि उनले गम्भिर आरोप लगाए ।

प्रतिक्रिया

Loading...