fbpx

दलित वृद्धालाई नौवटा करङ्ग भाँचिने गरी आक्रमण गर्ने आमा-छोरीलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराउन माग

विराटनगर
नौवटा करङ्ग भाँचिने गरी आक्रमण गरेको घटना मिलापत्र गराउन खोज्ने आमाछोरीलाई ज्यान मार्ने उद्योग र जातीय छुवाछुत कसुरमा मुद्दा दर्ता गराउन अधिकारकर्मीहरूले माग गरेका छन् ।

मोरङ लेटाङ नगरपालिका–३ भोगटेनीकी ७० वर्षिया बृद्धा विभा रसाइलीलाई घरमै पसेर सांघातिक आक्रमण गर्ने सोही ठाँउका आमाछोरी तारा र रेनुका श्रेष्ठलाई ज्यान मार्ने उद्योग र छुवाछुत कसुरमा मुद्दा दर्ता गराउन दलित अधिकारकर्मीहरूले माग गरेका हुन् ।

दलित भएकै कारण हेपेर जातीय गालीगलौज गर्दै कोही नभएको बेला साँझ घरभित्रै पसेर दलित बुद्धामाथि सांघातिक आक्रमण गरी ९ वटा करङ पनि भाँचिदिएकोले श्रेष्ठ आमा–छोरीलाई जातीय विभेद र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न प्रहरीलाई आग्रह गरेको दलित अधिकारकर्मी दुर्गा नेपालीले बताइन् ।

उनले भनिन्, ‘घटना जघन्य भएकोले शुक्रबार विभिन्न सस्थामा आवद्ध दलित अधिकारकर्मीहरूले लेटाङ नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक कृष्णकुमारी निरौला र इलाका प्रहरी लेटाङका ईन्स्पेक्टर योगराज निरौलालाई भेटेर श्रेष्ठ आमा–छोरीलाई ज्यान मार्ने र छुवाछुत कसूर मुद्दा दर्ता गराउन सहयोग गर्न आग्रह गरेका छौँ, नगरेमा अदालत गुहार्न बाध्य हुनेछौँ ।’

बालकलाई गाली गरेको निहुँमा आक्रमण

पाँच वर्षको छोरालाई खेल्ने क्रममा गाली गरेको निहुँ झिकेर श्रेष्ठ आमा–छोरीले २०चैतमा साँझ छिमेकी बृद्धा बिभालाई घरमै गएर जातीय गालीगलौज गर्दै आक्रमण गरेका थिए । घाइते वृद्धाले आफूमाथि सांघातिक आक्रमण भएको उजुरी गरेपछि इलाका प्रहरी लेटाङले अमाछोरीलाई पक्राउ गरेको थियो ।

तर, पक्राउ परेपनि उनीहरूले पहुँचवालाहरू प्रयोग गरी गाउँको झगडा गाउँमै मिलाउनुपर्छ भन्दै प्रहरी थानामै मिलापत्र गर्न घाइते वृद्धालाई दबाब दिएका थिए । तर, कुटपिटबाट गम्भीर घाइते भएकी वृद्धा बिभाले आफू कुनै पनि हालतमा मिलापत्र नगर्ने र उल्टो जेल जानुपरे जान तैयार छु भन्दै अडान लिएपछि उनीहरू मिलापत्र गर्न असफल भएका थिए ।

छोराबुहारीसँगै बस्दै आएकी पीडित वृद्धाका अनुसार साँझसम्म खेलिरहेका बालकलाई साँझ पर्यो घर जाउ भनेर अह्राउँदा श्रेष्ठ आमाछोरी आएर जातीय गालीगलौज गर्दै आक्रमण गरेका थिए ।

प्रहरीले कुटपिटबाट घाइते भएकी वृद्धालाई तुरुन्त उपचारमा पठाएर अनुसन्धानबाट खुलेअनुसार मुद्दा दर्ता गराउने श्रेष्ठ आमा–छोरीलाई अभद्र व्यवहारको मुद्दा दर्ता गराएर हिरासतमा लिएको थियो ।

इप्रका इन्र्चाज इन्स्पेक्टर योगराजले घाइतेको स्वास्थ्य अवस्थाको रिर्पोट आइसकेपछि घटनाको प्रकृतिअनुसार उचित मुद्दा दर्ता गराउने तैयारी भैरहेको बताए । कुटपिटबाट जघन्य घाइते भएकी वृद्धा बिभा रसाइली विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत छिन् ।

फोटोः दलित वृद्धालाई सांघातिक आक्रमण गर्ने आमा–छोरी र घाइते वृद्धा ।

प्रतिक्रिया

Loading...