टिपरसँग मोटरसाइकल जुध्दा एकको ज्यान गयो, स्थानीयले आक्रोशमा जलाए टिपर

बेत्रावती
नुवाकोटमा टिपरसँग मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । नुवाकोटको बट्टारमा भएको उक्त दुर्घटनापछि आक्रोशित स्थानीयले टिपर जलाइदिएका छन् ।

बट्टारबाट गङ्गटेतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिपरले ठक्कर दिँदा विदुर नगरपालिका–२ का दिवाकर खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार टिपरको ठक्करबाट ना३३प ३४६६ नम्बरको मोटरसाइकल चालक २३ वर्षीय खनालको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलमा सवार मुन्ना गुप्ता सामान्य घाइते भएका छन् ।

दुर्घटनापश्चात आक्रोशित स्थानीयवासीले ठक्कर दिने बा५ख २८९८ नम्बरको टिपरमा आगजनी गरिदिएका छन्। आगजनीपछि टिपरमा पूर्णरुपमा क्षति पुगेको थियो । दोषी चालकलाई कडा कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयवासीले बट्टारबजार–गङ्गटे सडकखण्ड अवरुद्ध गरेका छन् । रासस

Loading...