fbpx

अध्यक्ष प्रचण्ड भन्छन् : अप्रिल २२ सम्ममा पार्टी एकता टुङ्गिन्छ

चितवन,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्रिल २२ सम्ममा तल्लो तहसम्मको पार्टी एकता टु्ङ्गिने बताएका छन् ।

चितवनको माडीमा बुधबार आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन २२ अप्रिलमा तल्लो तहसम्मको कमिटी सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताए । विसं २००६ अप्रिल २२ तारिखका दिन भारतको कोलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।

उनले चितवनको विषयमा कुनै समस्या नभए पनि अन्य केही जिल्लामा समस्या देखिएका कारण एकतामा ढिलाइ भएको जानकारी गराए । उनले स्थानीय तहमा हुने गतिविधिमा सघाउन कार्यकर्तालाई निर्देशन दिएको दाहालको निर्वाचन क्षेत्र हेर्दै आएकी स्वकीय सचिव निशा न्यौपानेले बताइन् ।

सो क्रममा अध्यक्ष दाहालले निकुञ्ज ऐनयुद्धस्तरमा बनिरहेको र जनतामैत्री ऐन बन्ने उनले दाबी गरे । निकुञ्जका कारण जनताले दुःख नपाउने गरी छिट्टै जनमैत्री निकुञ्ज ऐन आउने उनको भनाइ थियो ।

उनले बाँदरमुढेमा पार्क निर्माणका लागि रु १० करोड विनियोजन गर्ने प्रतिबद्धता जनाए । पार्क रोजगारी सिर्जना हुने र आयआर्जन गर्न मिल्ने गरी निर्माण गरिने जानकारी उनले दिए । भूमिहीनका समस्या छिट्टै समाधान गर्ने बताउँदै उनले सबैलाई आफ्नो जग्गाको लालपूर्जा दिलाउनेतर्फ सरकार लागेको जानकारी गराएका थिए ।

दाहालले आफ्नो पहलमा हालसम्म माडी क्षेत्रमा विकासका लागि नगरपालिकामार्फत् रु ३८ करोड र सङ्घीय सरकारमार्फत् रु एक अर्ब ६३ करोड बजेट विनियोजन भइसकेको जानकारी गराएका थिए ।

ती बजेटबाट पुल, सडक, कृषि, पर्यटन, विद्युत् लगायतका काम भइरहेको न्यौपानेले बताइन् । रासस

Koshi Online

FREE
VIEW