fbpx

क्रसर हटाउन माग गर्दै स्थानीयबासी रिले अनसनमा

 

विराटनगर,
मोरङको उर्लाबारी नगरपालिका– १ मा मापदण्डविपरीत सञ्चालनमा भैरहेका दुई र थप संचालन हुन लागेका तीन क्रसर उद्योग हटाउन माग गर्दै स्थानीयबासी आन्दोलित बनेका छन् ।

एउटै वडामा संचालन भएका र हुन लागेका पाँच वटा क्रसर उद्योगहरू हटाउन माग गर्दै स्थानीयबासीहरूले रिले अनसन सुरु गरेर आन्दोलन थालेका हुन् । घना मानववस्ती भएको क्षेत्रमा धमाधम क्रसर उद्योग संचालन हुन थालेपछि आजित भएर आन्दोलनमा उत्रन बाध्य भएको स्थानीयको भनाइ छ ।

स्थानीयका अनुसार मापदण्डविपरीत संचालन भएका क्रसरले गर्दा मानववस्ती र सो क्षेत्रमा रहेका शारदा मावी र नुनसरी आधारभूत विद्यालयमा वातावरणको प्रतिकूल प्रभाव परेको छ ।

वातावरणमा प्रदूषण फैलाएको भन्दै संचालन भएका दुई क्रसरलाई सार्न माग गरेपनि थप तीनवटा क्रसर संचालन गर्ने तैयारी थालिएकोले आफूहरू आन्दोलित हुन बाध्य भएको क्रसर हटाउ संघर्ष समितिका संयोजक सम्मरबहादुर राईले बताए ।

उनका अनुसार क्रसर उद्योग स्थापनाले धूलो, उच्च ध्वनी तथा वातावरणीय प्रभाव प्रतिकूल भएको र राति पनि संचालन हुँदा बालबालिका र जेष्ठ नागरिकहरूमा ध्वनी प्रदूषणको समस्या बढ्न थालेको तथा मापदण्डविपरीत संचालन भएका क्रसर उद्योगले मनोमानी उत्खनन गर्ने गरेकोले बर्खाको समयमा वस्ती नै डुबानमा पर्ने जोखिम उच्च बनेको छ ।

क्रसरका कारण आजित बनेका स्थानीयबासीले वडा कार्यालय, नगरपालिका हुँदै घरेलु तथा साना उद्योग कार्यालयमा पनि उजुरी दिएका थिए । साथै जग्गा धनीलाई समेत बिना जानकारी क्रसर उद्योग खोलिएको भन्दै स्थानीयबासीले झापा आएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई क्रसर हटाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

तर, उजुरीको सुनुवाई नभएपछि स्थानीयले उच्च अदालत विराटनगरमा १ माघ २०७५ मा रिट दर्ता गराएका थिए । रिटउपर पनि अहिलेसम्म कुनै सुनवाई नभएपछि आक्रोशित स्थानीयबासीले क्रसर हटाउन माग गर्दै रिले अनसन थालेको स्थानीयबासी प्रेम भण्डारीले बताए ।

उर्लाबारी नगर क्षेत्रभित्र पर्ने झारसादी, तिनखोप्रे, चार घरे, खयरबारी बस्ती क्षेत्रमा पूर्वेली र पञ्चेश्वर क्रसर उद्योग संचालनमा छन् । महापाथीभरा क्रसर, सिद्धार्थ क्रसर र देवीस्थान मिनिरल्स क्रसर उद्योग सञ्चालन हुने तैयारीमा छन् ।

क्रसर उद्योगका लागि मापदण्ड यस्तो छ

क्रसर उद्योगहरू राजमार्गबाट र खोला किनारबाट ५ सय मिटर, हाई टेन्सन लाईनबाट १ सय मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक सांस्कृतिक, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज र आरक्ष, घनाबस्तीबाट २ किलोमिटर दूरीमा हुनुपर्दछ ।

उर्लाबारीमा संचालन भैरहेका पूर्वेली क्रसर उद्योग बक्राहा खोलाकै धारमा सञ्चालन गरिएको छ र पञ्चेश्वर क्रसर उद्योग मानव वस्तीकै बीचमा रहेको छ । पूर्वेली क्रसर उद्योग सञ्चालन भएको नजिक शारदा माध्यमिक विद्यालय र गुम्बा पनि छ ।

सांसद र नगरप्रमुखले गरे स्थलगत अवलोकन

क्रसर हटाउन माग गर्दै स्थानीयबासी रिले अनसनमा बसेपछि २६ चैत बिहान मोरङ क्षेत्र नं. १ का संघीय सांसद् घनश्याम खतिवडा र उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागो लगायतले स्थलगत अवलोकन गरेका छन् ।

नगरप्रमुख खड्ग फागोले क्रसर उद्योग स्थापनाका लागि स्थानीय तहलाई कुनै अधिकार नदिएकाले र सिफारिस पनि नगरेको बताए । ‘अधिकार नभएकोले मापदण्डविपरीत संचालन भएका क्रसर हटाउन नसकेको हौँ,’ उनले भने, ‘मानववस्तीकै बीचमा क्रसर उद्योग स्थापना गरिनु मापदण्डविपरीत हो । यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने प्रतिवद्धता गरेँ ।’

सो क्षेत्रका संघीय सांसद् खतिवडाले घटनास्थल अवलोकनपछि आन्दोलित स्थानियबासीलाई भने, ‘एउटै गाउँमा पाँच वटा क्रसर उद्योग सञ्चालन हुनु गम्भीर हो, यसबारे संसदमा आवाज उठाउछु र पनि क्रसर उद्योग नहटेमा म पनि तपाईँहरूसँगै संघर्षमा आउने छु ।’

प्रतिक्रिया

Loading...