fbpx

आमाले पब्जी नखेल भनेर गाली गरेको झोँकमा छोराले गरे झुण्डेर आत्महत्या

एजेन्सी, चैत २४
पछिल्लो समयका प्रायः युवा पुस्ता आफ्नो धेरै समय मोबाइल फोनमा बिताउँछन् । उनीहरू सामाजिक सञ्जालका साथसाथै चर्चित गेम ‘पब्जी’मा धेरै समय खर्चिन्छन् ।

सन् २०१७ मा सुरु भएको यस खेल पब्जी दक्षिण कोरियाको कम्पनीले विकसित गरेको अनलाइन खेल हो, जसमा खेलाडीहरूलाई एक द्वीपमा लगेर छोडिन्छ र एकअर्कालाई खत्तम गर्नुपर्ने हुन्छ ।

यस्तैमा पब्जी खेलेर धेरैको ज्यान गएको खबरहरू सुन्नमा आइरहेका छन् । भारतको कतिपय स्थानमा त यस गेमलाई प्रतिबन्ध लगाइनुपर्ने मागसमेत उठिरहेको छ । यस्तै एक युवकले पब्जीसँग सम्बन्धित विषयलाई लिएर आत्महत्या गरेका छन् ।

भारतको दक्षिणी क्षेत्रमा एक युवकले आफ्नी आमाले पब्जी नखेल्न भन्दै गाली गरेपछि आत्महत्याको बाटो रोजेका हुन् । पबजीको लत लागेका ती किशोरलाई पबजी नखेल्न भन्दै उनकी आमाले गाली गरेकी थिइन् ।

आमाको गालीपछि ती किशोरले आत्महत्या गरेको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । किशोरको आत्महत्यासँगै पबजी खेललाई प्रतिबन्ध लगाउनेबारे राष्ट्रिय बहस चलेको छ ।

१६ वर्षीय किशोरका बाबुले पब्जी प्रतिबन्ध लगाउन माग गरेका छन् । मृतक किशोरले अंग्रेजी परीक्षाको तयारी गर्न छोडेर पब्जी खेलेर समय बर्बाद गरिरहेका थिए । यसै विषयलाई लिएर उनकी आमाले उनलाई गाली गरेकी थिइन् ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार आमाले गाली गरेपछि ती किशोरले हैदराबादमा रहेको आफ्नै घरमा रहेको सिलिङ फ्यानमा झुण्डेर आत्महत्या गरेका हुन् ।

Koshi Online

FREE
VIEW