प्रहरीकै संलग्नतामा एसईईको प्रश्नपत्र बाहिरिएको खुलासा


सप्तरी, चैत्र २० ।

प्रदेश नम्बर २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको प्रश्नपत्र बाहिरिनुमा प्रहरीको हात रहेको अनुसन्धानबाट खुलेको छ । प्रदेश नम्बर २ मा सामाजिक र विज्ञान विषयको प्रश्न परिक्षा अगावै बाहिरिएको थियो ।

यो विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले अनुसन्धान सुरु गरेसंगै प्रहरीकै मिलोमतो भएको देखिएको हो । प्रहरीकै सहयोगमा प्रश्नपत्र किनबेच भएको श्रोतले जनाएको छ ।

सीआइबीले प्रश्नपत्र आउट गरेको आसंकामा दुई प्रहरी सहित ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सिरहामा प्रश्नपत्र बाहिरिएको र सप्तरी पठाएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी जवान ब्रम्हदेव सुनरैत र दीपेन्द्रकुमार मण्डलको संलग्नतामा प्रश्नपत्र बाहिरिएको हो ।

दाजुलाई सहयोग गर्ने उद्धेश्यले उनीहरुले प्रश्नपत्रको फोटो खिचेका थिए । इलाका प्रहरी कार्यालय कल्याणपुरले जनता मावि बनिया र रादु मावि कल्याणपुरको प्रश्नपत्रको सुरक्षा गरिरहेको थियो । उनीहरुले खिचेको फोटो सप्तरी पठाएपछि प्रश्नपत्रको किनबेच सुरु भएको र सामाजिक सञ्जालमा समेत राखिएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रहरीले सप्तरीमा ६ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेपछि प्रहरीसम्म पुगेको हो । ती विद्यार्थीको मोवाइल र प्रश्नपत्रको फोटो अहिले केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाण्डौँमा अनुसन्धान भइरहेको छ । त्यहाँको रिर्पोट आएपछि प्रहरीले घटनालाई प्रमाणित गर्न सक्ने जनाएको छ । पक्राउ गरेका विद्यार्थीलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखेको छ ।

सप्तरीका प्रहरी प्रमुख राजेन्द्र विष्टले घटनाको संलग्नताबारे तथ्य खुलेपछिमात्रै के मुद्धा चलाउने भन्ने यकिन हुने बताए । स्थगित भएको परीक्षा यही शुक्रबारदेखि सुरु हुँदैछ । प्रदेश दुईमा एसईई परीक्षा दिने विद्यार्थी संख्या ७० हजार ५ सय बढी छ । २२ गते विज्ञानको परीक्षा हुनेछ ।

Loading...