fbpx

हुरी प्रभावित क्षेत्रमा कोही पनि रमिता हेर्न गएको छैनन् : मुख्यमन्त्री राउत 

 


काठमाडौं, २० चैत ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बारा र पर्सामा हावाहुरीपछि त्यहाँ राहत भन्दा रमिता हेर्नेको भिड बढेको भन्ने कुरामा सत्यता नरहेको बताएकाछन् । उनले त्यहाँ जाने सबैले सकेको सहयोग गरिरहेको बताए ।

राहत तथा उद्धारको नाममा रमिता हेर्नेहरुको बढि भीड लाग्ने गरेको छ नि भनेर सोधिएको प्रश्नमा मुख्यमन्त्री राउतले ठाडै अस्विकार गरे । उनले भने,‘त्यहाँ कोहीपनि रमिता हेर्न गएका छैनन् । मैले उहाँहरु सबैलाई सहयोग गर्न गएको पाएको छु । सहयोगी हातहरु नै त्यहाँ पुग्नुभएको छ । बरु, हामीले दृष्टिकोण बदल्न जरुरी छ, उहाँहरुको प्रशंसा गर्नुपर्छ ।

हावाहुरीका कारण निधन भएका पीडित परिवारका लागि प्रदेश सरकारले घर निर्माण गर्न सहयोग गर्ने घोषणा गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले हावाहुरीका कारण घरबारविहीन भएका सबै परिवारको लागि घर निर्माण गर्ने बताए ।

उनले भने, ‘प्रदेश सरकारले उहाँहरुको लागि सामूहिक पूनर्वासको लागि प्रबन्ध गर्ने सोच बनाएको छ । आन्तरिक मामिला तथा योजनामन्त्रीको संयोजकत्वमा बनेको पाँच सदस्यी समितिले पनि त्यही कुरा सिफारिश गरेको छ । हामी सहयोग गर्न तयार छौं ।’
साक्षात्कारमा बोल्दै उनले सिँगो पीडित परिवारलाई प्रदेश सरकारको साथ र सहयोग रहेको विश्वास दिलाए ।

मुख्यमन्त्री राउतले घटना भएकै दिन स्थानीय नेता तथा कार्यकर्ता, गाउँपालिका प्रमुख, प्रदेश सरकार घट्नास्थल पुगेको पनि जनाए । घाईतेहरुको उपचारको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने उनले जनाए ।  मुख्यमन्त्री राउतले थपे, ‘आजमात्रैपनि मेरो नेशनल मेडिकल कलेजका सञ्चालकसँग कुराकानी भएको थियो, उपचारमा ३५ लाख लागेपनि त्यो दिन प्रदेश सरकार तयार छ भनेर मैले भनेको छु, पीडितलाई दुःख हुनुहुँदैन् । यो कुरामा हामी धेरै सचेत छौं ।’

राउतले घट्नास्थलको दृश्य दर्दनाक रहेको बताउँदै त्यहाँ पुग्ने जो कोहीको पनि आँखा रसाउने बताए । उनले भने,‘थुप्रै सहयोगी हातहरु हामीले त्यहाँ पुगेको देखेका छौं । सबै पीडितसामू समान ढंगले राहत पुगोस भन्ने हाम्रो प्रयत्न छ । सकेसम्म राहत एकद्धार प्रणालीमा वितरण गर्नुपर्छ भनेर नै हामी लागिरहेका छौं ।’

उक्त घट्नामा संघीय सरकारले खासगरी प्रधानमन्त्री केपी शर्मा ओली, सुरक्षा निकायका प्रमुखहरु, मन्त्रीहरु, मुख्य सचिवलगायतका जिम्मेवार निकायका व्यक्तिहरुले विशेष चासो देखाएको र उद्धार र राहतमा कुनै कमी आउन नदिनेगरि काम गरेको उनले सुनाए ।

प्रधानमन्त्री ओली र उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले घाईतेहरुको उद्धार र स्वास्थ्योपचारमा कुनै कमी नहोस भनेर आफूलाई फोन गरेको पनि मुख्यमन्त्री राउतले स्मरण गराए । उनले पीडितहरुको लागि राहत कोष स्थापना भैसकेको र कोषमा देश तथा विदेशबाट ठूलो सहयोग भैरहेको पनि जनाए । पीडित हुनेमा अधिकांश गरिब, मुस्लिम तथा दलितहरु रहेका पनि उनले बताए  ।

पीडित परिवारलाई राहत जाने काम भैरहेको र अहिले टोल टोलमा टेन्ट लगाईएकोपनि उनले स्पष्ट पारे । राहतको कुनै समस्या नरहेको उनको दाबी छ । फरक प्रसँगमा उनले संघीय सरकार र प्रदेश सरकारबीच दुरी नबढेको स्पष्ट पारे ।

उनले भने,‘व्यवस्था परिवर्तन भएको छ, अब हामीले सोचपनि परिवर्तन गर्नुपर्छ । हिजोको एकात्मक शासनजस्तो व्यवहार देखाउनुहुँदैन् ।’

Koshi Online

FREE
VIEW